Samacharpati
साेमबार, मंसिर २३, २०७६
  • होमपेज
  • नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !

नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !

नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !

नवनियुक्त प्रदेश प्रमुखको मोटरसाइकल प्रेम !

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबार पद तथा गोपनीयताको सपथ ग्रहण गरेका सात प्रदेश प्रमुखमध्ये एक हुन्, अमिक शेरचन । गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी पाएका ७७ वर्षीय शेरचनको जन्म म्याग्दीको औखरबोट गाउँमा भएको हो ।

१८ चैत २०१७ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता पाएका उनी २०६२/०६३ को जनआन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारमा उपप्रधान तथा स्वास्थ्य मन्त्री थिए । कुनैबेला राष्ट्रपति र प्रधानमन्त्री बन्ने प्रस्ताव अस्वीकार गरेको बताउने शेरचन मर्यादाक्रममा सातौं नम्बरमा रहेको प्रदेश प्रमुख बन्न किन तयार भए ?‘मलाई यो पद चाहियो भनेर कसैलाई भन्न गएको होइन’ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्नो नाम छनोट गरेपछि उनले अनलाइनखबरसँग भने, ‘पार्टीको प्रस्ताव स्विकारेको मात्र हुँ ।’

विसं. ०४२ सालमा जनपक्षीय उम्मेदवार बनेर चुनाव लडेयता पटक पटक सांसद भएका शेरचनले माओवादीलाई शान्तिवार्तामा ल्याउन र ०६२/०६३ को जनआन्दोलन सफल बनाउन महत्वपूर्ण भूमिका खेले । ०६२/०६३ ताका तानाशाही व्यवस्थाविरुद्ध तारन्तर चल्ने बैठकहरु भ्याउन शेरचन चिनिया मोटरसाइकलमा दौडधुप गर्थे । सरकारी परिभाषा अनुसार ज्येष्ठ नागरिक भएको डेढ दशक नाघिसक्दा पनि उनको मोटरसाइकल मोह घटेको छैन ।

सम्पन्न परिवारबाट कम्युनिष्ट राजनीतिमा आएका उनले ०४६ सालको आन्दोलनमा पनि मोटरसाइकलको खुब उपयोग गरेका थिए । जहिल्यै मोटरसाइकलमा हुँइकिने भएकाले पनि शेरचन ‘धनी कम्युनिष्ट’ भनेर चिनिन्थे । ‘सुरक्षाकर्मीहरुको आँखा छल्न सजिलो, सुरक्षाकर्मी बिना हिँड्न पनि पाइने, साँघुरा गल्लीहरु चहार्न पनि सजिलो’, गत वर्ष अनलाइनखबरलाई आफ्नो मोटरसाइकल अनुभव सुनाउँदै उनले भनेका थिए, ‘जाममा पनि धेरै रोकिन नपर्ने, सरर… क्या गजब !’

बाँकी अनुभव उनकै शब्दमा-

कम्युनिष्ट आन्दोलनमा लागेँ, लाभको पदमा बसिनँ । त्यस्तो अफर भने पञ्चायतकालदेखि नै आएको थियो । गाउँ फर्क अभियानको अध्यक्ष मेरै गुरु कमलराज रेग्मी र सदस्यहरु मेरै ससुराहरू हुनुहुन्थ्यो ।

म उच्चमध्यम वर्गीय परिवारमा जन्मिएँ । बाबुले जोड्नुभएको सम्पत्ति पनि पार्टीको काममा खर्च गरें । नेपाली कांग्रेस र पञ्चायतका पत्रिकाले धनी कम्युनिष्ट भनेर मेरो बारेमा लेख्थ्यो । तुलनात्मक रुपमा म धनी पनि थिएँ । चितवनमा २०-२२ बिघा जग्गा थियो ।

रुसमा लेनिनले दुमाको क्रान्तिकारी उपयोग गर्नुपर्छ भनेजस्तै नेपालमा कम्युनिष्ट पार्टीले पञ्चायतभित्रै पसेर त्यसको उपयोग गर्ने नीति लिएअनुसार ०४२ सालमा जनपक्षीय उम्मेदवार बनें । त्योबेला मैले राजदूत मोटरसाइकल किनेको थिएँ । त्यो देखेर ‘कम्युनिष्ट भएर मोटरसाइकल चढेको’ भन्दै धेरै विरोध भयो । हाम्रै पार्टीका कमरेडहरू पनि चर्को विरोध गर्थे।

त्यतिबेला मलाई त्यसो भन्ने कामरेडहरू अहिले करोडका मोटर चढ्छन् । त्यो बेला राजदूत चढेर आलोचित बनेको अमिक शेरचनले चाहिँ अहिलेसम्म मोटर किनेको छैन । दैनिक आय स्रोत नभएको हुनाले मैले मोटर नकिनेको हुँ ।

०४८ सालमा सांसद भएपछि ०४९ मा अर्को मोटरसाइकल किनेेँ, चाइनिज । मसँगै सांसद कमानसिंह लामाले पनि चाइनिज मोटरसाइकल किनेका थिए ।

नेकपा (माओवादी) लाई सरकारमा ल्याएपछि मैले उपप्रधानमन्त्रीबाट राजीनामा दिएर भोलिपल्टै गाडी, पीएसओ फिर्ता गरेँ । घुस खाएको छैन, कसैलाई अन्याय गरेको छैन, मलाई के को डर ? मलाई सुरक्षा चाहिँदैन भनेर पीएसओ फर्काइदिएँ ।

माओवादी सरकारमा आएपछि पहिलो बैठक बस्दै थियो, म मोटरसाइकलमा बालुवाटार पुगेर दुई नम्बर गेटबाट भित्र छिरेँ । उपप्रधानमन्त्री भइसकेको र दिनहुँजसो बालुवाटार गइराख्ने भएकाले सुरक्षाकर्मीले चिनेका थिए । तर, मुख्य सुरक्षा गेटबाट मोटरसाइकल लैजान दिएनन् ।

म कारमा आएको भए के गर्नुहुन्थ्यो ? भनेर सोध्दा सिधै जान पाउनुहुन्थ्यो भन्छन् । मोटर चढेर आउनेहरु सिधै जान पाउने मोटरसाइकललाई रोक्ने । महंगो कारवाला नेता, व्यापारी, धनी, सामन्त जान मिल्ने, वाइकवाला पस्न नमिल्ने । म फरक्क फर्किएँ ।

निकै तल आइपुगेको थिएँ, गिरिजाबाबुको फोन आयो । उहाँले अब तपाईँको बाइक सेक्युरिटीले रोक्दैन भन्नुभयो । कारमा जे-जे लुकाए पनि भित्र जान मिल्ने, केही लुकाउन नमिल्ने मोटरसाइकललाई रोक्ने ? म आउँदिनँ गिरिजाबाबु भनेर गइनँ ।

त्यसपछि त्यो गेट मेरो मोटरसाइकलका लागि खुल्ला भयो । अरु मोटरसाइकललाई भने बन्द नै ।

तस्वीरः चन्द्रबहादुर आले/
समाचार साभार : अनलाइनखबर

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका