Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • पाल्पाको रम्भा गाउँपालिकामा शीतभण्डार निर्माण

पाल्पाको रम्भा गाउँपालिकामा शीतभण्डार निर्माण

  • रासस
  • साेमबार, कार्तिक १८, २०७६
पाल्पाको रम्भा गाउँपालिकामा शीतभण्डार निर्माण

पाल्पा, १८ कात्तिक । पाल्पाको रम्भा गाउँपालिकामा शीतभण्डार निर्माण भएको छ । गाउँघरमा उत्पादन हुने कृषिउपजलाई लामो समयसम्म सुरक्षित राख्नका लागि शीतभण्डार निर्माण गरिएको हो ।

रम्भा गाउँपालिका–३ को पिपलटारीमा अगाहखोला साहारा कृषि सहकारीले २५ मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेको छ । प्रदेश नम्बर ५ को सरकारबाट रु ९३ लाख, रम्भा गाउँपालिकाको रु २५ लाख सहयोग, सहकारीको रु पाँच लाख गरी जम्मा रु एक करोड २३ लाखको लागतमा शीतभण्डार निर्माण सम्पन्न भएको सहकारीका अध्यक्ष कर्णबहादुर नेपालीले जानकारी दिनुभयो । गाउँमा उत्पादन भएका तरकारी, फलफूल समयमा बिक्री नहुँदा यहाँका कृषकले कुहाएर खेर फाल्न बाध्य थिए ।

गाउँको उत्पादनलाई सुरक्षित राख्न, कृषि व्यवसायमा कृषकलाई हौसला बढाउन शीतभण्डार निर्माणमा सहयोग गरेको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

यस क्षेत्रमा विशेषगरी आलु, गोलभेँडा, कागती, सिमी, लिची, केरालगायतका कृषि उत्पादन राम्रो हुने गर्छ । सिद्धार्थ राजमार्गसँग नजिकै रहे पनि यो क्षेत्र बुटवल तानसेन बजारमा कृषिउपज बिक्रीका लागि लैजान ढुवानी खर्च महँगो पर्ने भएकाले कृषकले त्यत्तिकै घरमै कुहाउन बाध्य थिए ।

स्थानीय खिमानन्द अर्यालले छ आना जग्गा निःशुल्क उपलब्ध गराएपछि शीतभण्डार निर्माण गरिएको हो ।

पाल्पा जिल्लाकै कृषिउपज भण्डारणका लागि बनाइएको यो पहिलो शीतभण्डार रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिव अर्यालले बताउनुभयो । रामपुर नगरपालिकामा पनि शीतभण्डार निर्माणको लागि डिपिआरको काम भइसकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका