Samacharpati
आइतवार, असार २१, २०७७
  • होमपेज
  • चन्द्रागिरि नगरपालिकाले आफ्नै नगर प्रहरी व्यवस्था गर्दै

चन्द्रागिरि नगरपालिकाले आफ्नै नगर प्रहरी व्यवस्था गर्दै

  • रासस
  • शनिबार, कार्तिक १६, २०७६
चन्द्रागिरि नगरपालिकाले आफ्नै नगर प्रहरी व्यवस्था गर्दै

काठमाडौँ, १६ कात्तिक । महानगरीय प्रहरी प्रभाग, बलम्बुको हाताभित्र समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिर भवन स्थापना गरिएको छ । चन्द्रागिरि नगरपालिका–१२ निवासी समाजसेवी शान्ति श्रेष्ठले आफ्ना स्वर्गीय पति रामदास श्रेष्ठको स्मृतिमा करीब रु १० लाखको सहयोगमा मन्दिर निर्माण गरिएको हो । चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरी र काठमाडौँ प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले संयुक्तरुपमा आज यहाँ आयोजित कार्यक्रममा मन्दिर उद्घाटन गर्नुभयो ।

नगरप्रमुख गिरीले अगामी वर्षदेखि नगरपालिकाले आफ्नै नगर प्रहरीकोे व्यवस्था गर्न लागेको जानकारी दिँदै काठमाडौँ प्रदेशद्वारका रुपमा रहेको नागढुङ्गा कलङ्की सडककोे सौन्दर्य विकासमा जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “नागढुङ्गा कलङ्की सडकमा गुड्ने सार्वजनिक यातायातबाट फोहर फाल्न प्रतिबन्ध लगाएका छौँ ।” नगरको शान्ति सुरक्षा कायम गर्न तथा मादक पदार्थ, लागुपदार्थ नियन्त्रण गर्न नेपाल प्रहरीलाई नगरपालिकाले सहयोग गर्दै उहाँले जनप्रतिनिधिबाट प्रहरीलाई भनसुन, सिफारिस गर्ने कार्य नगरिएको स्पष्ट पार्नुभयो । प्रहरी परिसरका प्रमुख सुवेदीले विगत वर्षका तुलनामा यस वर्ष काठमाडौँ उपत्यकाको शान्ति सुरक्षाको अवस्थामा सुधार आएकोे चर्चा गर्दै लागुपदार्थ तथा मादक पदार्थ सेवनका कारण उत्पन्न हुने घटनाको तुलनामा सामाजिक सञ्जालले विकृति बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपाली बनाउने लक्ष्यलाई पूरा गर्न सभ्य, शान्त र सुरक्षित समाज निर्माण गर्नुपर्छ । यस कार्यमा नेपाल प्रहरी लगिरहेको छ ।” सो अवसरमा नगरप्रमुख गिरी र प्रमुख सुवेदीले समाजसेवी शान्ति श्रेष्ठलाई सम्मानसमेत गर्नुभएको थियो । चन्द्रागिरि नगरपालिका वडा नं ११ का वडाध्यक्ष एवं चन्द्रागिरि नगरपालिका प्रवक्ता हरिभक्त महर्जनले समृद्ध चन्द्रागिरि नगरपालिका बनाउने अभियानमा एकजुट नगरवासीलाई आह्वान गर्दै भौतिक पूर्वाधार विकास नगरपालिकाले काम गरिराखेको बताउनुभयो ।

महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख प्रहरी निरीक्षक शङ्कर खड्काले समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत दुर्गादेवी मन्दिरको अनावरण गर्न पाउँदा नेपाल प्रहरीलाई खुशी लागेको चर्चा गर्दै समुदाय प्रहरी साझेदारी कार्यक्रम नगरपालिका सबै वडामा सञ्चालन भइराखेको जानकारी दिनुभयो । महानगरीय प्रहरी प्रभाग बलम्बुले लागुपदार्थ, मदिरा सेवन, महिला हिंसा, घरेलु मदिरा बिक्री वितरणमा रोक, चोरी डकैती नियन्त्रणलगायत कार्यमा घरदैलो कार्यक्रम सञ्चालन गरी सचेतना बढाउँदै आएको छ । मन्दिर अनावरणपछि भगवती मानव कल्याण सङ्गठन नेपाल शाखाले आरती र भजन कीर्तिन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका