Samacharpati
बुधबार, मंसिर ४, २०७६
  • होमपेज
  • कर्णालीमा गरिबीकै कारण आत्महत्या कहिलेसम्म !!

कर्णालीमा गरिबीकै कारण आत्महत्या कहिलेसम्म !!

कर्णालीमा गरिबीकै कारण आत्महत्या कहिलेसम्म !!

प्रकाश भण्डारी “बिवेक ” ।  शनिबार छापामा प्रकाशित समाचारले एकाएक शरीरमा काँडा उठायो। मन भावुक बनाउँदै, आँखाबाट गालाकै सहायताबाट भुँईमा चुहिन बाँकी टिलपिल आँशुले काला अक्षर झनै धमिला देख्दै छु। समाचारका एक एक शब्द केलाएर पढेँ। मनै भावुक बनायो। निस्शब्द छु। म एक नेपाली नागरिक भएर पनि केही गर्न सकेनछु। किनकी म पनि त एक कर्णालीका तपाईँहरू भन्दा शिक्षित नागरिक हुँ, सुगममा छु भन्ने हौवामै गर्व गर्दथेँ। अब गर्व गर्न लायक रहिन।

पछिल्लो ३ बर्षमा कर्णालीमा ७२८ जनामध्ये २५५ जनाले चरम गरिबीका कारण आफ्नो उर्वर जीवनलाई अन्त्य गर्न आत्महत्याको बाटो अपनाए। एउटै देश तर भिन्न परिवेश र भौगोलिक बिकटतासँगै कोही सुगम तथा कोही दुर्गममा बाँचीरहेका हामी। कोही सुख सयलमा हुर्केका कतै चरम गरिबी र भोकमरीका बाफजुद पनि यस धर्तीमा दैनिक जीवनयापन गर्दे आईरहेका हामी। हो, भौगोलिक सुगमता र दुर्गमताले भिन्न रहुँला तर यो मन आखिर नेपाली न हो।

भाग्यको खेल भनौँ या नियतीको खेल भनौँ। कलिलो उमेर, परिवार अनि आफ्ना धेरै ठूला सपना नभएपनि एक छाक खाने र एकसरो लुगा सँगै ओभानोमा बस्ने रहर सँगाल्दै आएका तपाँईहरू समाज, राष्ट्रबाटै बारम्बार ठगिनु यो अनौठो र नौलो बिषय रहेन। हामी एउटा आफ्नो र घर परिवारको आधारभूत आवश्यकता पूरा गर्न नसक्दा आत्महत्याको बाटो रोज्न बाध्य छौँ। कारण एउटै हो चरम गरिबी र भोकमरी। यी र यस्तै समाचार दैनिक पत्रपत्रिका र टिभिमा आईरहन्छन र समाचारमै विलिन भईरहन्छन। निकाय यस बारेमा बेखबर भएको हो या कर्णालीलाई बास्तबमै भिन्न दृष्टिकोणबाट हेरिएको हो । यस बारेमा सरकारलाई नै सोध्न बाँकी छ।

हो देशमा समृद्धीका नारा चोक चोकमा घन्किए। केही दिन देश समृद्धीका नाराका होर्ङिड बोर्डले रङ्गिए। देशमै युवालाई रोजगारीले भरिपूर्ण पार्ने छौँ, बिदेशबाट नेपालमा कामदार माग गर्ने छौँ, देशलाई सिंगापुर बनाउँछौँ, कोही भोकमरीबाट,गरिबीबाट र बेरोजगार भएर मर्नुपर्ने छैन भन्दै हौवा फैलाउनेहरू अहिले सरकारमै बिलासिताका सुबिधा थपि थपि लिईरहेका छन , भने यता कर्णालीमा आधारभूत आवश्यकता पूरा गर्न नसकी चरम गरिबिका कारण आफ्नो कलिलो उमेरलाई आत्महत्याको बाटो अपनाई जीवनको अन्त्य गर्ने तपाँईहरू २५५ जना प्रति मेरो एकमुष्ठ हार्दिक श्रदाञ्जली। हजुरहरूको बैकुण्ठ बास होस। देशमा यस्तै अवस्था रहिरहे कर्णाली मात्रै हैन यसको असर सिङ्गो राष्ट्रले भोग्नेछ।देशले एउटा ठूलो क्षति बेहोर्नेछ।

टाउको दुख्दा सिंगापुर, थाईल्याण्ड, भारत र युरोपका महङ्गा अस्पताल पुग्ने हाम्रा नेतागणले देशकै सुबिधा सम्पन्न अस्पतालको बेवास्ता गर्नु, पटक पटक उपचारको नाममा राज्यकोष माथी थप भार थपिरहने गर्दा कर्णालीमा टाउको दुख्दा पखला लाग्दा सिटामोल र जीवनजल खान नपाई चरम गरिबिका कारण यसरी बढ्दो आत्महत्याको दरलाई न्यून गर्न तथा अन्त्य गर्न केही सोँच पनि बदल्न नसक्नु सरकारको लाचारीपना बाहेक अरू केही होइन। देशमा संघीय, प्रदेश र स्थानीय गरि तीन तहका सरकार छन। यी तीनै तहको सरकार छ र हाम्रो गुनासो सुन्छ भन्ने महसुस ती कर्णालीका दुर दराजमा दैनिकी एक छाक खाना र न्यानो लुगा लगाउन आफ्नै जीवनसँग पौँठेजोरी खेलिरहेको कर्णाली गाउँका नागरिकमा सिहंदरबारको हावा कहिलेसम्म तिनका मझेरी सम्म पुग्लान ? कलिलै उमेरमा मृत्युबरण गर्ने ति अवोध नागरिकमा समृद्धी र बिकासका नारा हैन निकासको बाटो सहित सिटामोलको एउटा पत्ता सरकारले कहिले पठाउला ? बेरोजगारी, गरिबी र शिक्षा तथा जातीय बिभेद अन्तय गर्ने नारा बोकेर कर्णाली छिरेका हजारौँ गैरसरकारी संस्थाका प्रतिवेदनमा कहिले बास्तबिक कर्णालीका गरिबीको नाम अट्ला ? कहिले ति गैरसरकारी संस्थाले निकम्मा भ्रमण तालीम सेबा सुबिधामै गर्ने अर्बौँ बजेट यी नागरिकका घर आगनमा पुग्ला ? हो सबैले यिनै गरिबीको दुष्चक्रमा रूमलिएका पीडित जनताकै नाम बेचेर महल ठड्याए, आलिसान बङ्गला बनाए।

उनकै नाम बेचेर बिदेश शयर गरे, पद बहाली गरे, पद बढुवा गराए तर उनको नाम मात्रै बिक्यो तर उनीहरूको गरिबीको स्थिती जिउँको तिउँ छ। गरिबी भयावहकै अवस्थामा छ र गरिबीकै कारण बर्षेनी सयौँ अबोध हाम्रै दाजुभाईहरूले निकम्मा जीवन अन्त्यका लागी आत्महत्याको बाटो रोज्न बाध्य छन्। कर्णालीको बिकासका नाममा च्याउ सरी सल्बलाउने गैरसरकारी संस्थाको कामलाई पनि स्थानीय सरकारले चनाखो भई ध्यान दिनु पर्ने बेला आएको छ। बजेटको कति हदसम्म सदुपयोग र कार्यान्वयन भएको छ, तथा सहि ठाउँमा लागू भएको, नभएको वा सम्पन्न भए नभएको बारे स्थानीय सरकारले पनि गैरसरकारी संस्थाहरूको अनुगमन गर्नु जरूरी छ।
कर्णालीका जनताप्रति प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकार अलि बढि चनाखो र जिम्मेबारी बोकेर अगाडी बढ्नुपर्ने बेला आएको छ। प्रत्येक बर्ष बिनियोजन हुने बजेटमा कर्णालीको नाम छुने मात्र हैन बास्तविक कर्णाली बासीका मन छुने प्रयास गरियोस।चुनाव त फेरि पनि आउला? यो परिस्थितलाई साम्य पार्न सक्यौ भने सरकार अर्कोपटकलाई भोट माग्न लाज मान्नुपर्देन कि ? एक दिन तपाईँ कर्णाली बासिकै सेवामा समर्पित हुँदै तपाईहरूको आँशु पुछ्न सकुँ। पशुपतिनाथले हजुरहरूको कल्याण गरून।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका