Samacharpati
बुधबार, कार्तिक २७, २०७६
  • होमपेज
  • जावलाखेल मैदानमा गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी

जावलाखेल मैदानमा गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी

जावलाखेल मैदानमा  गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी

काठमाडौँ, २७ असोज ।  ललितपुर जिल्लाको जावलाखेल मैदानमा चारदिने १३औँ गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी–२०७६ को आयोजना हुन लागेको छ । गोदावरी फुलको प्रतियोगितात्मक प्रदर्शनी विसं २०५३ देखि शुरु भएको हो । फ्लोरिकल्चर एशोसिएसन नेपालले आयोजना गर्न लागेको सो मेला कात्तिक १ देखि ४ सम्म सञ्चालन हुने भएको छ । मेलाको उद्देश्य पुष्प व्यवसायीलाई व्यवसाय प्रवद्र्धनमा हौसला प्रदान गर्ने र व्यवसायीबीच प्रतिस्पर्धात्मक भावनाको विकास गरी गुणस्तरीय उत्पादनमा टेवा पुर्याउनु रहेको छ ।

‘रोपेर फुल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने अभियानका साथ शुरु हुन गइरहेको सो प्रदर्शनीमा व्यावसायिक ४४, सूचनामूलक चार र गोदावरी फुलको प्रतिस्पर्धात्मक प्रदर्शनी एकसहित गरी कूल ४९ कक्ष रहने फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजूले पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको छ । नजिक आइरहेको तिहार तथा छठ पर्वलाई लक्षित गरी आयोजना हुन लागेको सो प्रतिस्पर्धात्मक प्रदर्शनीमा विभिन्न प्रजातिका फुल तथा फुलका बिरुवाको प्रदर्शनी तथा बिक्री वितरण गरिने भएको छ ।

गोदावरी फुलका विभिन्न प्रकारमध्ये मुख्यतः स्पाइडर, मिनियचर, इन्क्रर्भ, रिफ्लेक्स तथा कट फ्लावर विधालाई समावेश गरिने भएको छ । प्रतिस्पर्धामा बाहिर देशबाट माउबोटका रुपमा आयात गरी उत्पादन बिस्तार गरिएका करीब १६ नयाँ प्रजातिको गोदावरी फुलको समेत प्रदर्शनीमा समावेश गरिने भएको छ । मेलामा रु ५० लाखको कारोवार हुने अनुमान गरिएको छ ।

नेपाल फुलमा आत्मनिर्भर छैन । गत वर्ष नेपालले रु २० करोडको फुल आयात गरेको थियो । गत वर्ष तिहारमा झण्डै तीन लाख माला भारतबाट आयात भएका थिए । फुलखेती व्यावसायिक ढङ्गले शुरुवात भएको २५ वर्ष पुगेको छ । विसं २०११ बाट नेपाल प्राइभेट नर्सरीको स्थापनासँगै सामान्यस्तरमा शुरु भएको फुल व्यवसाय आर्थिक वर्ष २०७५÷०७६ सम्म आइपुग्दा ४३ जिल्लामा बिस्तार भएको छ । करीब ८०० फुल व्यवसायी अगाडि बढेका छन् । लगभग तीन हजार १४० रोपनीमा पुष्पखेती भएको छ भने यसबाट ४३ हजारभन्दा बढी व्यक्ति प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका