दशैँका लागि पोखरामा च्याङ्ग्रा, रोजेर ३५ हजार जोखेर ८ सयमा पाइने – Samacharpati
Home | About Us | Contact | Unicode |

दशैँका लागि पोखरामा च्याङ्ग्रा, रोजेर ३५ हजार जोखेर ८ सयमा पाइने

प्रल्हाद चन्द्र घिमिरे, पोखरा, १३ असोज । नेपालीहरुको घरघरमा महान चाड विजया दशमी सुरु भएको छ । दशैँका लागि बजारमा किनमेल गर्ने देखि घर बाहिर रहेका आफन्त घर फर्कने क्रम सुरु भएको छ ।

यस्तै दशैँ सुरु भएसंगै लेकबाट च्याङ्ग्रा र भेडा पोखरामा ल्याइएको छ । पोखराको याम्दी देखि हेम्जा सम्म बथानका बथान च्याङ्ग्रा देख्न सकिन्छ । पोखरा र आसपासमा दशैँको समयमा खसी बोकाभन्दा पनि च्याङ्ग्रा नै खाने प्रचलन छ । पहाडी एवं तराईमा पालिने खसी बोकाको तुलनामा हिमाली भेगको च्याङ्ग्रो स्वास्थ्यका हिसाबले पनि राम्रो मान्ने गरिन्छ ।

अरु बेला च्याङ्ग्रा नल्याइने भएकाले वर्षमा एक पटक दशैँमा भने च्याङ्ग्राकै मासु खाने भन्ने प्रचलनले पनि यसको माग बढ्दै गएको हो । अहिले पोखरामा झरेका च्याङग्राको मुल्य १० हजार देखि ३५ हजार सम्म रहेको छ । व्यवसायी जयसिंह ठगुन्नाले समाचारपाटी डटकमसंग भने – “रोजेर लगे ३५ हजार जोखेर लगे एक केजीको ८ सय पर्छ ।” पोखरा सम्म च्याङ्ग्रा ल्याउदा निकै दुख हुने गरेको व्यपारीहरुले बताएका छन् ।

उनिहरुका अनुसार गुण्डा, चुल्ठे मुन्द्रे देखि प्रहरी सम्मले च्याङ्ग्रा ल्याउदा दुख दिने गरेका छन् । अर्का च्याङ्ग्रा व्यापारी कुलपती पौडेलले भने – “बुटबल, पाल्पा र कास्कीमा ल्याउदा खासै समस्या छैन तर त्यसभन्दा पश्चिममा गुण्डा देखि प्रहरी धेरैले दुख दिए ।” आफुले पहिलो चोटी च्याङ्ग्राको व्यापार सुरु गरेको बताउदै, नाफा कमाउने भन्दा पनि अनुभवको लागि यो व्यवसाय गरेको पौडेलले बताए । आफुले अछामबाट २ सय ५० च्याङ्ग्रा र भेडा ल्याएको बताउदै अब ९० वटा बाँकी रहेको उनको भनाई छ । आफुले उपभोक्तालाई किलोको १ हजारमा उपलब्ध गराउन सक्ने पौडेलले बताएका छन् ।

पोखरा ल्याइएका च्याङ्ग्रालाई हेमजा आसपासमा खोर किनेर राखिएको छ । खोरको १० देखि १५ हजार तिर्नुपरेको बझाङबाट च्याङ्ग्रा बेच्न आएका टेक बहादुर बमले बताए । त्यस्तै च्याङ्रा चराउन ८ हजारको रसिद काटेको बमको भनाई रहेको छ ।

टेक बहादुरले विगत ३ वर्ष देखि पोखरामा च्याङग्रा बेच्दै आएका छन् । उनको अनुभवमा पोहोर साल धेरैले साना च्याङ्ग्रा पनि ल्याउन सुझाव दिएकाले अहिले ८/१० हजारका साना च्याङ्ग्रा उनिसंग धेरै छन् । उनले भने – “पोखरेलीले गए साल भन्थे ठुलो ल्यायौ, सानो पनि चाहियो, कयौँ मान्छे बेरोजगारी छौँ ८/१० हजारको चाहियो भन्थे, यो साल कयौँ मान्छेहरु या सानो आयो हामीलाई ठुलो भए हुन्थ्यो भन्ने गुनासोहरु आया छन् ।”

दशैँका लागि पोखरा ल्याइएका च्याङ्ग्रा व्यापारीले सकेसम्म सप्तमी र अष्टमीसम्ममा सबै बेचेर फर्कने गरेका छन् । व्यवसायी जयसिंह ठगुन्नाले भने – “च्याङ्ग्रा सकेर सकभर दशै मनाउन घर पुगिएला ।” पोखरा झरेका च्याङ्ग्रा स्याङ्जा, तनहुँ, चितवन हुँदै बुटवलसम्म पुग्ने गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित