''गजल'' – Samacharpati
Home | About Us | Contact | Unicode |

”गजल”

 समाचारपाटी पोखरा, ३० भदौ 

गजल -१

जसको बास छ यो मुटुमा उसैले नै छल्दो रहेछ !
न त कागज न त दाउरा तर नि मन जल्दो रहेछ!!!

माया गरि कल्पनाको महल खडा गर्छन् सबैले
काल्पनिक त्यो महल त अनायासै ढल्दो रहेछ !!

बुझेनौ कि बुझ पचायौ विश्वासघाती निष्ठुरीले
बल्ल भन्छ्यौ जस्तो रोप्यो त्यस्तै फल्दो रहेछ !

मिल्दैन साथ जीवन भरि भन्ने थाहा भए तापनि
उसकै मायाको दियो अझै यो मनमा जल्दो रहेछ !!

गजल (छोरी बनेर लेख्दा)-२

यसपालि लिन नआउनु तिजमा म आउँदिन आमा
भोकभोकै बसेर तिजमा मैले गीत गाउँदिन आमा

साडी र गहना कसलाई देखाउनु छ र त्यो गाउँमा
एक पटक लगाएको साडी फेरि मैले लाउँदिन आमा

कार गुड्ने चिल्लो सडक छैन माइती गाउँमा मेरो
दर खानै भनेर त्यो उकालो बाटो धाउँदिन आमा

गोरस छोडेर सोमरसमा बानी परेको छ हरदिन
दूध घ्यू दही खिर खाई मैले पचाउँदिन आमा

दर खाने माइतमा होइन पार्टीप्यलेसमा हो अहिले
शहरको दर हुस्की र रोष्ट गाउँमा पाउँदिन आमा

गजल-३

माया लिई घृणा दियौ बगे आँशु भल
बिर्सुँ भन्छु सम्झन्छु झन् बिगतका पल

कसको माया बढी भनी पर्ने थियो जोख्न
जोख्यौ मेरो सम्पत्ति पो अचल अनि चल

तिमी चढ्यौ प्रगतिको अग्लो त्यो शिखरमा
मेरा खुट्टा तानी मलाई किन झर्यौ तल तल

सकिदैन मेट्नलाई लेखिएको छैटौं दिनको
भन्दै बसे भ्रममा परिकन मेरो कर्मको फल

नैतिकताको पाठ मलाई घोकाइरह्यौ बारम्बार
शकुनि झैं सिपालु हौ तिमी गर्नलाई छल

गजल-५

तिमी भयौ पवित्र कुश म भिरको खर भएँ
कसैले नि नपुज्ने पिपल बिनाको वर भएँ

मुटु छियाँ छियाँ पार्यो जसले बसेर मुटुमा
भु कम्पले तहस नहस भत्काएको घर भएँ

औचित्य नै छैन मेरो जस्तो लाग्छ आजभोलि
बर्ष दिन भरि नै म बिना तिजको दर भएँ

कसैले नि जोड्दैन आफ्नो नामको पछि हेर
किन होला आज म गोत्र बिनाको थर भएँ

जुन दिन भयौं एक नदिका हामी दुई किनारा
धनुषमा चढाउँदा म भाँच्चिएको शर भएँ

अरबको खाडी बाट

खडका महेन्द्र कुमार
फेदीखोला- १ विर्ता स्याङ्गजा

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित