Samacharpati
शनिबार, फाल्गुन १०, २०७६
  • होमपेज
  • कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल,उत्कृष्ट उद्यमशिललाई पुरस्कार

कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल,उत्कृष्ट उद्यमशिललाई पुरस्कार

कर्णालीमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनमा ‘पीपीपी’ मोडल,उत्कृष्ट उद्यमशिललाई पुरस्कार

काठमाडौं, २७ भदौ । कर्णाली प्रदेशमा यातायात सञ्चालनदेखि चुरे क्षेत्रमा स्याउ उत्पादनका लागि सार्वाजनिक–निजी साझेदारी (पीपीपी) अवधारणामा लगानी आवश्यक हुने युवा उद्यमीहरुले बताएका छन् । बुधबारदेखि काठमाडौंमा सञ्चालन भइरहेको नेपाल पूर्वाधार सम्मेलन – २०१९ को विहिवारको पहिलो ‘पूर्वाधार बजार’ सत्रमा युवा उद्यमीहरुले यस्तो बताएका हुन् । युवा उद्यमीहरुले विभिन्न ५ ओटा नविनतम विधामा आफ्ना नमुना उद्यमशील अवधारणा (आइडिया हण्ट) प्रस्तुत गर्दै पीपीपीमा लगानी गर्न सकिने बताएका हुन् । कार्यक्रममा कर्णाली प्रदेशलाई प्रतिनिधित्व गर्दै हेमन्त तिवारीले कर्णाली प्रदेशमा यातायात क्षेत्रमा लगानी गर्न आवश्यक भएको बताउनुभयो । उहाँले कर्णाली प्रदेशको समृद्धिका लागि सडक सञ्जाल विस्तार र यातायात सञ्चालनका लागि २४ अर्ब ९ करोड रुपैयाँ तत्काल लगानी गर्न सकिने उल्लेख गर्नुभयो ।

कर्णाली प्रदेशका १० जिल्ला र अन्य प्रदेशसँग जोडिने २० जिल्लाका अन्तर प्रादेशिक यातायात सञ्जालमा जोडिनका लागि पनि निजी क्षेत्रले लगानी गर्न सक्ने उहाँको सुझाव छ । प्रदेश राजधानी सुर्खेत उपत्यकामा अहिले रिक्सा र टेम्पो मात्रै सञ्चालन भएको र अन्य जिल्लामा जोडिने गरी यातायात सञ्चालन गर्न सके प्रतिफल पनि प्राप्त हुने तिवारीको तर्क छ । यस्तै ‘दिगो पूर्वाधारका लागि कृषि र इञ्जिनियरिङको संयोजन’ शीर्षकमा आफ्नो योजना प्रस्तुत गर्दै किशोर पौडेलले नेपालमा स्याउको बजार उल्लेख्य रहेको र यसले पर्यावरण संरक्षणमा सहयोग पुर्याउने हुँदा पूर्वाधार निर्माण पनि सुरक्षित हुने बताउनुभयो । नेपालको तराई तथा चुरे क्षेत्रमा स्याउ उत्पादनको प्रचुर सम्भावना रहेका भन्दै अहिले वार्षिक ७ अर्ब स्याउ आयातलाई घटाउन र सस्तोमा स्याउ उपलब्ध गराउन सघाउने उहाँको भनाइ छ । बायो इञ्जिनियरिङको रुपमा स्याउमा लगानी गर्न सकिने भन्दै उहाँले यस अध्ययनले विजनेश हाउस, किसान र कम आय स्रोत भएका व्यक्तिहरु पनि लगानीका लागि आउन सक्ने बताउनुभयो । यसका लागि पीपीपी अवधारणामा लगानी गर्न सकिने उहाँको तर्क छ ।

युनाइटेड वल्र्ड स्कुल नेपालका निर्देशक मञ्जितराज पाण्डेले निर्माण व्यवस्थापनमा उच्चस्तरको प्रविधिको प्रयोग नेपालमा कम भएकोले यो क्षेत्र पनि लगानीका लागि उपयुक्त हुने तर्क गर्नुभयो । प्रविधिको प्रयोगले ग्रामीण क्षेत्रमा निर्माणका काम र तथ्यांक संयोजनमा सहयोग पुग्ने उहाँले भनाइ थियो । यसैगरी स्मार्ट सेवाका संस्थापक यासिर फिरोजले ‘समयको वचत र पैसाको बचत’ शीर्षकमा योजना प्रस्तुत गर्नु भएको छ । प्रविधिको प्रयोग गरेर पूर्वाधार निर्माणलाई सहज बनाउन सकिने विचार उहाँले प्रस्तुत गर्नुभयो । उहाँले आफ्नो सेवा रियल स्टेट, हाउजिङ तथा अन्य निर्माणका क्षेत्रमा काम गरिरहेको बताउनुभयो । द टीम आवासकी विधी मण्डलले नेपालका प्रमुख सहरहरुमा प्लास्टिक खेर गइरहेको र त्यसलाई उपयोग गरेर ६० प्रतिशत प्लास्टीक र ४० प्रतिशत वालुवा र अन्य मिश्रण प्रयोग गरी इटा बनाउन सकिने योजना प्रस्तुत गर्नुभयो । उहाँले अहिले परिक्षणको रुपमा इटा उत्पादन गरिसकेको भन्दै यसमा ८० जनाले रोजगारी पाइरहेको जानकारी दिनुभयो ।

टीम आगमनकी संस्थापक सोनिया अधिकारीले ठूला होटेल तथा सडकहरु निर्माण गर्दा जमिन भासिने समस्या समधानका लागि नयाँ प्रविधिको प्रयोगका विषयमा योजना प्रस्तुत गर्नुभयो । उहाँले सिमेन्ट, ढुंगा प्रयोग गर्दा जमिनलाई थप भार पार्ने भएकोले केमिकल प्रयोग उपयुक्त हुने बताउनु भयो । विदेशबाट आयात गर्दा महंगो हुने भएकोले नेपालमै उत्पादन गर्नका लागि अध्ययन भइरहेको भन्दै उहाँले यो क्षेत्रमा पनि लगानी गर्न सकिने सम्भावना देखाउनु भयो । स्मार्ट घर समुहकी श्रृष्टि अवालेले होम अटोमेशनको प्रयोगले दैनिकी निकै सहज हुने बताउनु भयो । उहाँले स्मार्ट घरले मोवाइल एपको विकास गरेकोले न्युनतम ६० हजार रुपैयाँको लगानीबाट यो सुविधा लिन सक्ने बताउनुभयो । यो एपको प्रयोगबाट घरको ढोका, झयालदेखि, आइरन, बत्ति, पानीको ट्यांकी पनि बन्द गर्न विर्सिएको भए पनि जुनसुकै स्थानबाट पनि बन्द गर्न मिल्ने उहाँको भनाइ छ ।

इनर्जी एक्सका सञ्जयराज भण्डारीले स्वच्छ इन्धनः स्वदेशी उत्पादन सम्बन्धी विषय प्रस्तुत गर्नुभयो । वायोग्यास उत्पादनका लागि सरकारले ४० प्रतिशत अनुदान दिएको ६० प्रतिशत निजी क्षेत्रमार्फत लगानी गरेर वैकल्पीक उर्जा उत्पादन गर्न सकिने बताउनुभयो । सेसनमा उपस्थीत युवा उद्यमीहरुले ट्राफिक व्यवस्थापन, कंक्रिट सडक निर्माण लगायतका क्षेत्रमा पीपीपी अवधारण अनुसार लगानीको सम्भावना भएको जानकारी दिनुभयो । सेसनमा विभिन्न विधामा पीपीपी लगायतका अवधारणामा आधारित १० वटा प्रस्तुति भएका थिए । प्रस्तुत भएका अवधारणा (आइडिया हण्ट) मध्ये उत्कृष्ट तीनलाई नेपाल उद्योग परिसंघले पुरस्कृत गर्दैछ । प्रथमले १ लाख ५० हजार, द्धितियले १ लाख र तेस्रो हुनेले ५० हजार पाउने भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका