Samacharpati
बिहीबार, मंसिर २६, २०७६
  • होमपेज
  • बालुवा धोएर सुन, अवैध उत्खननले समस्या

बालुवा धोएर सुन, अवैध उत्खननले समस्या

बालुवा धोएर सुन, अवैध उत्खननले समस्या


कर्णालीको किनार। भदौको टन्टलापुर घाम। केही महिला असिनपसिन गर्दै पानीबाट धमाधम बालुवा बोकेर डुँडीमा थुपार्दै छन्। कोही डुँडीमाथि राखिएको सोनाट्टा (जाली) ले बालुवाबाट ठूला ढुंगा अलग गर्दै छन्। कोहीचाहिँ मसिनो बालुवा थालमा हालेर बेस्सरी धुँदै छन्।

बालुवा धोएपछि बाँसको कप्टेरो जस्तो ठग्नामा थोरै सुन भेटिन्छ। यसरी नै समूहसमूहमा रहेका सोनाहा समुदायका महिला कर्णालीको बालुवा सुन संकलन गर्दै आएका छन् वर्षौंदेखि। ‘हामी पुस्तौंदेखि नदीकिनारमा बालुवामा सुन खोज्दै आएका छौं’, बालुवा धुन व्यस्त विष्णुमती सोनाहाले भनिन्, ‘सोनाहाको मुख्य पेसा सुन खोज्नु र माछा मार्नु हो।’

स्थानीय जनक सोनाहाले समूहमा निकै मेहनत गरेर सुन चाले पनि सुन खरिद गर्ने एजेन्टले सस्तोमा लिँदा गुजारा गर्न समस्या रहेको बताए। ‘समूहमा ५० लालसम्म सुन जम्मा गरे पनि व्यक्तिगत रूपमा कम हुन्छ’, उनले भने, ‘पहिलेपहिले सुन भेटिए पनि मूल्य थिएन। अहिले मूल्य छ, तर सुन निकै कम भेटिन्छ।’

एक नम्बरी सुन, लालको ४५०

बालुवा चालेर छानेको सुन कैलालीको टीकापुर, लम्की, धनगढी, बर्दियाको राजापुर र बाँकेको नेपालगन्जसम्म बिक्री हुन्छ। व्यापारी नारायण थारूले भने, ‘हामी सोनाहासँग चार सय ५० रुपैयाँ प्रतिलालमा किनेर ६ सय रुपैयाँसम्ममा बेच्छौं।’ अहिले नेपाली बजारमा एक लाल सुनको मूल्य झन्डै ७ सय २५ रुपैयाँ छ। एक तोलामा सय लाल हुन्छ।

नदीबाट निकालिएको सुन एक नम्बर नै हुने भए पनि सुनमा १० प्रतिशत पारो मिसावट हुने गरेको व्यापारीहरू बताउँछन्। त्यसरी ल्याएको सुन खारेर मात्रै गरगहना बनाउन सकिने टीकापुरका सुन व्यापारी जनक साहुले बताए। ‘व्यापारीले सुनको मूल्यको १० प्रतिशतसम्म घटाएर खरिद गर्छन्’, साहुले भने, ‘सुन खारेपछि मात्रै गहना बनाउन सकिन्छ।’

सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहाले यहाँ संकलित सुनबाट सीधै गहना बनाउन सकिँदैन। ‘हामीले त बनाउँदैनौं, डल्लो पारेर बिक्री मात्रै गर्ने हो तर सुन व्यवसायीले केमिकल प्रयोग गरेर खारेपछि नरम हुन्छ र गहना बनाउन मिल्छ’, उनले भने, ‘हामीले कोइलामा राखेर सुनका डल्ला पार्छौं र घरमै आउने व्यवसायी वा एजेन्टलाई बिक्री गर्छौं।’

बर्दिया राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिकाका अध्यक्ष जमानसिंह केसीले बालुवा उत्खनन गर्न निकुञ्जले रोक लगाएको बताए। केसीले भने, ‘निकुञ्जले गाउँपालिकालाई ढुंगाबालुवा उत्खनन गर्न दिएको छैन।’ केसीका अनुसार सोनाहालाई समेत निकुञ्जले रोक लगाउने गरेको छ। सोनाहाको बस्ती विकासका लागि गाउँपालिकाले घर निर्माण कार्यक्रम सञ्चालन गर्दै आएको केसीले बताए। उनका अनुसार बालुवाबाट सुन निकाल्ने विषयमा गाउँपालिकाले केही सोचको छैन।

अवैध उत्खननले समस्या

सुन खोजेर गुजारा चलाउन मुस्किल भएपछि भारत लगायत अन्य देशमा जाने क्रम बढेको अधिकारकर्मी इन्द्र सोनाहाले बताए। ‘गुजारा गर्नै मुस्किल भएपछि महिलाले सुन खोजे पनि पुरुष भने रोजगारीका लागि भारत र अन्य देशमा जाने गरेका छन्’, उनले भने।

नदीमा अवैध उत्खनन र कटान समस्याले सुन पाउन कठिन रहेको उनले बताए। किनारमा जम्मा भएको बालुवा ट्याक्टर र ट्रकमा हालेर अन्यत्र पठाइएपछि सुन खोज्न समस्या परेको गुनासो सोनाहा समुदायको छ। कैलालीको बल्चौर र गोरांगेमा विगतमा सुन खोज्न सहज थियो। तर अहिले सामुदायिक वन र सुरक्षाकर्मीले दुःख दिन थालेको अधिकारकर्मी सोनाहाले बताए।

सुन खोज्ने कामलाई व्यवस्थित बनाउनुपर्ने माग उनीहरूको छ। सोनाहा विकास समाजका अध्यक्ष शान्ति सोनाहाले यसका लागि गेरुवा गाउँपालिकालाई आग्रह गरिएको बताए। बर्दियाको राजापुर नगरपालिका–१ मुर्गहवा, गेरुवा गाउँपालिका–२ र ६ मा ८ सय बढी सोनाहाको बसोबास छ।
हामीले यो सामाग्री अन्नपूर्ण पोस्ट बाट साभार गरेका हौँ !

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका