Samacharpati
शनिबार, फाल्गुन १०, २०७६
  • होमपेज
  • गोरखाको पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा

गोरखाको पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा

गोरखाको पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा

गोरखा, ८ भदौ ।  गोरखाको बारपाक सुलीकोट गाउँपालिका–८ पन्द्रुङका ६३ घरधुरीमा ‘एक घर एक धारा’ पुगेको छ । गएको माघमा शुरु भएको ‘रिठ्ठेपानी खानेपानी आयोजना’ निर्माण सम्पन्न भएसँगै शनिबारदेखि सबै घरमा एक घर, एक धारा पुगेको वडाध्यक्ष कृष्णबहादुर गुरुङले जानकारी दिनुभयो ।“यहाँ खानेपानीको अत्यन्तै अभाव हुदै आएको थियो”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “एक गाग्री पानी लिन आधा घण्टा लगाएर तिरतिरेखोलामा धाउनुपर्ने बाध्यता रहँदै आएको थियो, आयोजना निर्माण सम्पन्न भएसँगै यहाँका समुदायमा रहेको खानेपानीको समस्या समाधान भएको छ ।”

आयोजना निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख, स्वाँरासघन गाउँ विकास केन्द्रले रु १७ लाख र बाँकी रकम उपभोक्ताबाट प्रतिघर रु १३ हजारका दरले सङ्कलन गरिएको उहाँले बताउनुभयो । त्यस्तै उपभोक्ता समितिले आयोजना निर्माणका लागि जनश्रमदानसमेत गरेका थिए ।“आयोजना निर्माण शुरु भएदेखि नै उपभोक्ताहरुले प्रत्येक घरधुरीबाट ३३ दिनसम्म जनश्रमदान गरेका गरे”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “पाइपलाइन खन्ने, धारा बनाउने कामदेखि लिएर ढुङ्गा, गिट्टी, बालुवा बोक्नेसम्मको काम उपभोक्ताले गरेका छन्, यहाँका उपभोक्ताकोे अथक मेहेनतबाट घरघरमा पानीको धारा पुगेको हो ।”

रिठ्ठेपानीको मुहानबाट तीन ट्याङ्की निर्माण गरी उपभोक्ताको घरघरमा पानी वितरण गरिएको वडाध्यक्ष गुरुङले बताउनुभयो । निर्माण शुरु भएको सात महीनाको अवधिमा आयोजना निर्माणको काम सम्पन्न भएको उहाँको भनाइ छ । आयोजना निर्माण नहँुदा कतिले नजिकै खोलाबाट पाइप गाडेर ल्याएका धाराको पानी प्रयोग गर्दै आएका थिए । आयोजना निर्माण सम्पन्न भएसँगै खोलामा पुगेर डोकोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको रिठ्ठेपानी खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष सोमप्रसाद पनेरुले बताउनुभयो । उहाँले भन्नुभयो, “सबै उपभोक्ता खुशी भएका छन्, घरघरमा पानीको धारा छ, स्वच्छ खानेपानीको सुविधा छ, पानीका लागि टाढासम्म धाउनुपर्ने बाध्यता पनि हटेको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका