Samacharpati
बुधबार, मंसिर २५, २०७६
  • होमपेज
  • सक्रिय बन्दै महानगर बाल मञ्च, सकियो ‘बालबालिका बहस’ को पहिलो शृङ्खला

सक्रिय बन्दै महानगर बाल मञ्च, सकियो ‘बालबालिका बहस’ को पहिलो शृङ्खला

सक्रिय बन्दै महानगर बाल मञ्च, सकियो ‘बालबालिका बहस’ को पहिलो शृङ्खला

पोखरा, ५ साउन । महानगर बाल मञ्च पोखरा बालबालिकाको क्षेत्र विकासका लागि छलफल तथा अन्तरक्रियामार्फत सक्रिय बन्दै गएको छ । पोखरालाई २०१९ भित्रै बालमैत्री सहर बनाउने अभियानअन्तर्गत मञ्चले पछिल्लो समय सरोकारवालालाई सचेत बनाउन विभिन्न काम गर्दै आएको छ।

त्यही अभियानअन्तर्गत मञ्चले ‘बालबालिका बहस’ को पहिलो शृङ्खला शनिबार सम्पन्न गरेको छ । महानगर बाल मञ्च अभियान समितीको आयोजनामा भएको कार्यक्रममा महानगरका जनप्रतिनिधि, बालबालिका सम्बद्व संस्थाका प्रतिनिधिसँगै महानगरअन्तर्गत विभिन्न वडाका बालबालिकाको उपस्थिती रहेको थियो ।

फरक दुई सत्रमा भएको कार्यक्रमको पहिलो सत्रमा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषनारायण पौडेल, महानगरका प्रवक्ता धनबहादुर नेपाली र सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा वक्ताको रुपमा सहभागी थिए भने अभियन्ता आरती बराल सहजकर्ताको रुपमा रहेकी थिइन्।

कार्यक्रमको पहिलो सत्र ‘महानगरसँग अन्तरक्रिया’ को सुरुवातमा सामाजिक विकास महाशाखा प्रमुख शर्माले महानगरपालिकाले हालसम्म बालबालिकाको क्षेत्रमा गरेका कार्यक्रम र आगामी आर्थिक वर्षमा गर्ने कार्यहरुको बारेमा जानकारी दिएकी थिईन। उनले चालू आर्थिक वर्ष २०७६/७७ मा २४ लाख ८० हजार बजेट विभिन्न शीर्षकमा बालबालिकाका लागि छुट्याएको सुनाईन्।

प्रमुख प्रशासकिय अधिकृत पौडेलले कार्यक्रम आयोजना गरेकोमा बाल मञ्चलाई धन्यवाद दिँदै महानगर बालबालिकाको क्षेत्र विकासमा प्रतिबद्ध रहेको बताए।

सडक बालबालिकाहरुको पुनर्स्थापना गर्न हिमाली बाल गृहसँग गरिएको सम्झौता बारे उल्लेख गर्दै पौडेलले महानगरले बालबालिकाको क्षेत्र विकासका निम्ति काम गर्ने प्रयास गरेपनि केही व्यक्ति,संघसंस्था र राजनितिक हस्तक्षेपका कारण अघि बढ्न नसकेको जानकारी दिए।

महानगरपालिकाका प्रवक्ता नेपालीले बालबालिकाको क्षेत्रमा आफूहरु जनप्रतिनिधिको हैसियतले गम्भिर रहेको सुनाउँदै पोखरालाई बाल मैत्री घोषणा गर्न महानगर कटिबद्व भएर लागेको बताए।

महानगर बाल मञ्चका प्रवक्ता तथा कार्यक्रम संयोजक आरोग्य मोहन काफ्लेले बाल मैत्री घोषणाका लागि मात्र घोषणा नभएर नेपाल सरकारको कार्यविधि अनुरुप प्रक्रियागत रुपमा घोषणा गर्नुपर्नेमा जोड दिए। उनले अब बालबालिकाको क्षेत्रलाई ध्वस्त पार्ने गरी कसैले खेल खेले त्यसका विरुद्ध बाल मञ्च खरो रुपमा उत्रने चेतावनी दिए।

स्वागत मन्तव्य सहित कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै बाल मञ्चका उपाध्यक्ष सुवास अधिकारीले स्थापनाकालदेखि नै महानगर बाल मञ्च सक्रिय रहेको उल्लेख गरे । उनले आगामी दिनमा पनि अझ परिस्कृत योजना र कार्यक्रम सहित महानगरपालिकासँग हातेमालो गर्दै सशक्त रुपमा अघि बढने प्रतिवद्वता जनाए।

दुई सत्रमा सम्पन्न भएको कार्यक्रमको दोस्रो सत्रमा ‘कार्यपालिका सदस्यसँग छलफल’ चलाईएको थियो। सो सत्रमा सम्बन्धित वडाका कार्यपालिका सदस्यहरुले आफ्नो वडामा बालबालिकाको क्षेत्रमा हालसम्मको प्रगती र चालू आर्थिक वर्षमा हुने कार्यक्रमको बारेमा जानकारी गराएका थिए ।

श्रेष्ठको संयोजकत्वमा मस्यौदा समिति गठन

छलफल सत्र पश्चात बाल मञ्चकै प्रस्तावबमोजिम पोखरा घोषणा पत्र जारी गर्न बाल मञ्च सम्बन्धित सरोकारवाला र महानगरका प्रतिनिधि सम्मिलित मस्यौदा समिति पनि गठन भएको छ।

बाल मञ्चकी अध्यक्ष एलिना श्रेष्ठको संयोजकत्वमा गठन भएको समितीको अन्य सदस्यमा महानगरको तर्फबाट सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, कार्यपालिका सदस्यद्वय मित्रलाल बराल र यसोदा भटृराई तथा सरोकारवालाको तर्फबाट बाल मञ्चका प्रवक्ता आरोग्य मोहन काफ्ले, पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको बाल श्रम न्यूनिकरण कार्यक्रमकी संयोजक प्रिति पाण्डे र बाल हितकारी परियोजना नेपालकी कार्यक्रम संयोजक निमा गुरुङ रहेका छन्।

घोषणापत्र मस्यौदा समितीकी संयोजक समेत रहेकी अध्यक्ष श्रेष्ठले समितिले अब घनिभूत रुपमा गृहकार्य गरी बालबालिकाको क्षेत्रका लागि आगामी रणनीति तय गर्ने बतईन् ।त्यस्तै उनले पोखरा घोषणा पत्र छिटै जारी गर्ने विश्वास दिलाईन्।

महानगर बाल मञ्चका सचिव तथा अभियान समितिका संयोजक सन्देश वि.कले संचालन गरेको कार्यक्रममा करिब ५० जनाको सहभागिता रहेको थियो। बालबालिका बहसको अन्य शृङ्खला पनि क्रमबद्व रुपमा निरन्तर चल्ने मञ्चले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका