Samacharpati
शुक्रबार, कार्तिक २९, २०७६
  • होमपेज
  • एउटा मानसिक रोग, जसले महिलालाई बढी सताउँछ

एउटा मानसिक रोग, जसले महिलालाई बढी सताउँछ

एउटा मानसिक रोग, जसले महिलालाई बढी सताउँछ

मानिस भौतिकरुपमा स्वस्थ भएर मात्र पुग्दैन, शारीरिक, सामाजिक तथा मानसिक रुपमा स्वस्थ्य हुनुपर्छ । मानसिक स्वास्थ्य बृहत शब्द हो जसभित्र मनरोगसँग सम्बन्धित धेरै विषयहरु अट्ने गर्दछ ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्य भन्नाले कुनै पनि व्यक्तिले आफ्नो क्षमताको महशुस गर्न सक्ने, पूर्णरुपमा उत्पादनशील काम गर्न सक्ने, आफ्नो समुदायमा केही योगदान गर्न सक्षम हुने, आफ्नो जीवनको आनन्द उठाउन सक्ने, सोचाइ र व्यवहारमा लचकता ल्याउन सक्ने, मानसिक अवस्था र दैनिक जीवनमा आईपर्ने घटनाक्रमसँग सामना गर्न सक्ने क्षमता हुने व्यक्ति नै मानसिक रुपमा स्वस्थ्य व्यक्ति हो ।

प्रथम मानसिक स्वास्थ्य सम्मेलन नेपाल, २०१८ ले प्रत्येक ४ जना मध्ये १ जनालाई मानसिक स्वास्थ्य समस्या देखिने भनेता पनि नेपालको सन्दर्भमा यो सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ । तर, प्रष्टरुपमा किटान गर्न सक्ने तथ्याङ्ग भने अहिलेसम्म छैन । एपीएका अनुसार प्रत्येक ४ जना ब्यक्ति मध्ये १ जनालाई मानसिक स्वास्थ्यसम्बन्धी समस्या हुन्छ ।

मानसिक स्वास्थ्यसम्बन्धी कथनहरु जे-जस्ता भए पनि सबै प्रकारका मानसिक स्वास्थ्य समस्याहरुको उपचार गरेमा पूर्णरुपमा ठीक हुन्छ र पहिलेकै अवस्थामा पुग्न सकिन्छ । यहाँ मानसिक स्वास्थ्य समस्याभित्रको ‘कन्भर्जन डिस्अर्डर’ को सन्दर्भमा चर्चा गर्न खोजिएको छ ।

के हो ‘कन्भर्जन डिसअर्डर’ ?

मानसिक चिन्ता, डर, तनाव आदिका कारण शारीरिकरुपमा लक्षणका रुपमा देखिने समस्यालाई कन्भर्जन डिसअर्डर भनिन्छ । कन्भर्जन डिसअर्डर हिस्टेरिया शब्दको परिवर्तित नाम हो ।

करिब दुई हजार बर्ष अगाडिमात्रै यस रोगबारे पत्ता लागेको हो । हिप्पोक्रेटस भन्ने ग्रिक चिकित्सकले त्यतिबेला यो समस्या महिलाहरुमा मात्र देखे । त्यतिबेला महिलाहरुको पाठेघरसँग सम्बन्धित समस्या ठानेर यो रोगको नामाकरण हिस्टेरिया राखियो ।

तर, करिब-करिब सय बर्ष अघिमात्र यो समस्या महिलाहरुमा मात्र नभएर पुरुषमा पनि हुँदो रहेछ भन्ने पत्ता लाग्यो । यसबाट महिलाहरुको, त्यसमा पनि यौनजन्य समस्या भनेर जुन प्रश्नचिन्ह लागेको थियो, त्यो यौनजन्य समस्या नभएर तनावसँग सम्बन्धित रहेको पुष्टि हुन पुग्यो ।

यो समस्या भएमा कसैलाई बोल्न नसक्ने, स्वास फेर्न नसक्ने, कोही देवी बनेर काम्ने, बक्ने आदि हुन्छ । यस्ता समस्या भएका व्यक्तिलाई भावनात्मक पीडा हुन्छ, जसलाई कम गर्न अचेतन मनले कोशिस गरेको हुन्छ । यो समस्या आघातजन्य घटना वा तनावपछि देखिने गर्छ ।

विशेषगरी हाम्रोजस्तो पितृसतात्मक समाजमा महिलाहरुले पुरुषको तुलनामा आफ्ना कुराहरु अभिव्यक्त गर्न नसक्ने र आफ्ना पीडाहरु मनभित्रै दबाएर राख्ने गर्छन् । समस्यालाई मनैभित्र दबाउँदा सहन सकुञ्जेल सहने र नसकेपछि बेहोस हुने जस्तो समस्याका रुपमा यो रोग बाहिर प्रस्फुटित हुन्छ । यसले गर्दा यो र यस्ता रोगलाई यौनसँग जोडेर हेर्ने गरिन्छ । तर, यो रोग यौनसँग सम्बन्धित नभै विशुद्ध तनाबसँग सम्बन्धित समस्या हो ।

किशोरभन्दा किशोरीहरुमा बेहोस हुने समस्याको सङ्ख्या बढी हुने हुनाले यसलाई यौन र महिलासँग जोडिने गरिन्छ । तर, यो तनावसँग सम्बन्धित समस्या हो ।

यसका कारणहरु :

वंशाणुगत
अपरिपक्व व्यक्तित्व
सहन कठीन हुने आघातजन्य घटनाको सामना गर्नाले जस्तै आफ्नो नजिकको व्यक्तिको मृत्यु, यौनजन्य हिंसा
पारिवारिक कारणजस्तै परिवारमा सधैं झै झगडा हुने
काममा सधै असफल हुने
स्कुल कलेजको बारम्वारको परिवर्तन
आवश्यकताअनुरुपको अभिभावकत्व प्राप्त गर्न नसक्नु लगायतका रहेका छन्

रोगका लक्षणहरु

कमजोरी अथवा पक्षघात
असामान्य चाल
शारीरिक असन्तुलन
खाने कुराहरु निल्न गाह्रो हुने
कम्पन
बेहोस हुने (बोल्न नसक्ने, बोली लर्बराउने, चिच्याउने, रुने, कराउने, दृष्टिमा समस्या, सुन्न नसक्ने)
स्वाँ स्वाँ हुने
रुने, कराउने
छिटोछिटो सास फेर्ने
आवाज बन्द हुने
आँखा नदेख्ने
मन लागेको ठाउँमा जथाभावी हिँडिदिने
स्मरण शक्तिको ह्रास हुने
घाँटीमा डल्लो अड्केजस्तो हुने आदि

यो समस्या महिलामै किन बढी हुन्छ ?

पुरुषको तुलनामा महिलाले आफ्नो मनको कुरा बढी गुम्साएर राख्ने हुनाले यो समस्या महिलामा बढी देखिन्छ । त्यसमा पनि किशोर अवस्था भनेको तीब्ररुपमा शारीरिक परिवर्तन आउने समयका साथै परिवार, घर, समाजबाट नियन्त्रीत हुनुपर्ने जस्ता कारण र यो उमेरमा तनाव सामना गर्ने क्षमता अत्याधिक कम हुने हुन्छ ।

यसै उमेरमा महिनामारी शुरु हुने, शरीरको उचाइ, शरीरको स्वरुपमा आउने परिवर्तनले महिलाप्रति घर परिवार समाजको नियन्त्रण पनि बढी हुने, पढाइ, कामको बोझ आदिको जिम्मेवारी सम्हाल्न कठिनाइको महशुस गरी उनीहरु बढी तनावमा हुने हुनाले यो समस्या महिलाहरुमा बढी देखिने गरेको हो ।

यसका प्रकारहरु

मास कन्भर्जन डिसअर्डर
व्यक्तिगत कन्भर्जन डिसअर्डर

मास कन्भर्जन डिसअर्डरः एकैपटक एक समूहका एकभन्दा बढी सदस्यहरुलाई बेहोस हुने समस्या देखिएमा मास कन्भर्जन डिसअर्डर भनिन्छ । एकजना व्यक्ति तनावले ग्रस्त हुन्छ र उसबाट शुरु भएको यो समस्या क्रमैसँग अरुमा पनि सर्दछ । यस्ता ब्यक्तिहरु या त प्रथम व्यक्तिसँग भावनात्मक रुपले जोडिएका हुन्छन् या त डर त्रासका कारण यस्तो अवस्थामा पुग्छन् । सँगै बसेका जस्तैः विद्यालय, क्याम्पस, छात्रावास, वनभोज आदिमा यो समस्या देखिन सक्ने सम्भावना हुन्छ ।

व्यक्तिगत कन्भर्जन डिसअर्डरः कन्भर्जन डिसअर्डर हुनुमा व्यक्तिको भूमिका ठूलो हुन्छ । एकै प्रकारको तनावबाट पनि कुनै व्यक्तिलाई यो समस्या देखिन्छ भने कुनैलाई नदेखिन सक्छ । कुनै पनि घटनालाई व्यक्तिले कसरी धारण गर्छ भन्ने मुख्य प्रश्न हो । जस्तैः बाहिरमुखी स्वभावको व्यक्तिले तनावलाई छलफलको विषय बनाउन सक्छ । तर, अन्तर्मुखी स्वाभावको व्यक्तिले तनावलाई दबाएर राख्ने सम्भावना बढी हुन सक्छ । अरुबाट प्रशंसा खोज्ने, अरुले आफ्नो रुप, ज्ञान, क्षमताको गुणगान गरुन् भनेर सोच्ने व्यक्ति बाहिरी स्थितिहरुबाट विचलित हुने व्यक्ति तुलनात्मक रुपमा कन्भर्जन डिसअर्डरको शिकार हुने सम्भावना बढी हुन्छ ।

यो समस्याको उमेरसँग पनि प्रत्यक्ष सम्बन्ध रहेको मानिन्छ । प्रायःजसो किशोरावस्थामा कन्भर्जन डिसअर्डर देखिन शुरु गर्छ भने युवावस्थामा यो समस्या निकै भेटिन्छ । त्यस्तै केही मात्रामा ५/६ बर्षका बालबालिकादेखि वृद्धवृद्धाहरुमा पनि यो समस्या देखिन सक्छ ।

भ्रमहरु

कन्भर्जन डिसअर्डर यौनजन्य समस्या हो
कन्भर्जन डिसअर्डर विवाहले ठीक हुन्छ
यो रोग महिलाहरुलाई मात्रै हुने रोग हो

वास्तविकताहरु

यो एउटा मानसिक स्वास्थ्य समस्या हो
यो समस्या तनावको व्यवस्थापनले ठीक हुन्छ । कसैकसैलाई विवाहपश्चात तनाव सुरु हुने हुँदा कन्भर्जन डिसअर्डर विवाहपछि पनि सुरु हुन सक्छ
बढी मात्रामा महिलामा यो रोग भेटिए पनि पुरुषहरुमा पनि कन्भर्जन डिसअर्डर हुन सक्छ

अन्य मानसिक समस्यासँग यसको सम्बन्ध

कन्भर्जन डिसअर्डरको अन्य मानसिक स्वास्थ्यसँग पनि गहिरो सम्बन्ध रहेको पाइन्छ । पहिलेदेखि नै मानसिक स्वास्थ्य समस्याहरु भएका व्यक्तिहरुमा पनि कन्भर्जन डिसअर्डरको कारण हुन सक्छ । मानसिक स्वास्थ्य समस्याहरुले व्यक्तिको तनाव सामना गर्न सक्ने क्षमतामा ह्रास उत्पन्न गराएर कन्भर्जन डिसअर्डर हुनसक्ने सम्भावना बढाइदिन्छ । यसको समयमै उपचार नभएमा गम्भीर प्रकृतिका मानसिक समस्या देखिन सक्छन् ।

समाधान गर्ने तरिका

सबैभन्दा पहिला कन्भर्जन डिसअर्डर हो होइन पत्ता लगाउनु आवश्यक हुन्छ । यसका लागि मानसिक स्वास्थ्यमा तालिम प्राप्त स्वास्थ्यकर्मीले यो रोग भए/नभएको पत्ता लगाउन मद्दत गर्नु पर्दछ । कन्भर्जन डिसअर्डर नै हो भनेर निक्र्यौल भएमा बेहोस ब्यक्तिलाई प्रशस्त आराम गर्न दिनुपर्छ । चोटपटक नलाग्ने आरामदायी ठाउँमा नचलाइकन आराम गर्न दिनु राम्रो मानिन्छ ।

यसका लागि-

विरामीलाई समुहबाट हटाउने र सुरक्षित स्थानमा राख्ने (नोक्सान पुग्ने वस्तुहरु नजिक नराख्ने, कोठा बन्द नराख्ने, अप्रत्यक्ष रुपमा ध्यान दिइ राख्ने)
लेखाजोखा गर्ने
होसमा आएपछि उसका कुराहरु ध्यानपूर्वक सुन्ने र बुझ्ने प्रयास गर्ने
सकारात्मक व्यवहार गर्ने र समस्यामा परेको व्यक्तिको विश्वासलाई प्राथमिकता दिने जस्तैः धार्मिक विश्वास
व्यक्ति तथा उसका अभिभावकहरुलाई कन्भर्जन डिसअर्डरका विषयमा मनोशिक्षा दिने
लगातार कडा लक्षण देखाइरहेमा अस्पताल लैजान प्रेरित गर्ने

समाधान

तनावको पहिचान र त्यसको उपयुक्त समाधान नै कन्भर्जन डिसअर्डरको समाधान हो । अहिलसम्म यसलाई सञ्चो पार्ने औषधि बनेको छैन । तर, औषधीको नियमित र चिकित्सकको सल्लाह बमोजिमको प्रयोगले यसका केही लक्षणहरु क्षणिकरुपमा कम गर्न सकिन्छ । तनावका पहिचान नभएमा यसका लक्षणहरु फेरि बल्झन सक्छ । समस्या समाधानका लागि यसको कारण पहिचान हुन अत्यावश्यक छ । कारण पहिल्याउन कठिन भएमा यसै विषयमा विशेषज्ञता हासिल गरेका व्यक्तिहरुका सहयोगमा समस्याको पहिचान र समाधानको खोजी गर्न सकिन्छ ।

कन्भर्जन डिसअर्डरलाई थाहा नभएको रोग पनि भन्ने गरेको पाइन्छ किनकि मेडिकल उपचार खास नहुने कुरा माथिको वाक्यले प्रष्ट्याएको छ । तर यो मनको रोग वा मानसिक रोग हो भनेर भनिएको छ ।

हाम्रोजस्तो अझै पनि मानसिक स्वास्थ्य समस्यामा परेका व्यक्तिलाई कोठामा थुनेर राख्ने, कहिल्यै सञ्चो नहुने रोग हो भनेर भन्ने देशमा यस्ता रोगलाई पूर्वजन्मको पापको रुपमा समेत चित्रण गरिन्छ र बेलैमा उपचार समेत गरिँदैन । यो रोग अरु रोगजस्तै उपचार गरेमा पूर्णरुपमा निको भएर दैनिक जीवनमा फर्कन सकिने हुनाले बेलैमा यसको निदानतर्फ लाग्न सके मानिसको जीवन सामान्य हुने थियो कि ?

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका