विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा नवलपरासीबाट एक जना पक्राउ | Samacharpati        
Home | About Us | Contact | Unicode |

विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा नवलपरासीबाट एक जना पक्राउ

चितवन, ११ असार विश्वकप क्रिकेट प्रतियोगितामा सट्टेबाजी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी प्रतापपुर घर भई भरतपुर महानगरपालिका–३ मा कोठा भाडामा लिई बस्ने ३३ वर्षीय मुकेशकुमार शाह रहेको छ । भाडामा बस्ने कोठाबाट रु तीन लाख ४५ हजार ५६ सहित मङ्गलबार राति प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

उनका साथबाट ६ थान मोबाइलसमेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । नेपाली तथा भारतीय नागरिकसमेतलाई आबद्ध गराई ठूलै रकमको सट्टेबाजी गराउँदै आएको शाहले विगतमा पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलहरुमा सट्टेबाजी गर्ने तथा गराउने कार्यमा संलग्न रहेको दाबी प्रहरीको छ ।

पक्राउ परेका शाहलाई मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ५ सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुरअन्तर्गत दफा १२५ को उपदफा ४ बमोजिम कारवाही गरिने प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले बताउनुभयो । कसुरमा बरामद बिगो जफत गरी एक वर्ष कैद र रु दश हजारसम्मको जरिवाना हुने कानूनी व्यवस्था छ । शाह खाद्यान्न व्यापारी हुन् ।(रासस)

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित