गण्डकी प्रदेशले पर्यटनको क्षेत्रमा छुट्यायो २ प्रतिशत बजेट ! होमस्टेलाई २५ करोड | Samacharpati        
Home | About Us | Contact | Unicode |

गण्डकी प्रदेशले पर्यटनको क्षेत्रमा छुट्यायो २ प्रतिशत बजेट ! होमस्टेलाई २५ करोड

पोखरा, १ असार । गण्डकी प्रदेश सरकारले आगामी बजेटमा पर्यटनको क्षेत्रमा निकै कम बजेट विनियोजन गरेको छ ।

गण्डकी प्रदेशले ३२ अर्ब १३ करोड ४७ लाखको बजेट ल्याएको छ । जसमा पर्यटनको क्षेत्रमा ६७ करोड ६० लाख मात्र बजेट विनियोजन गरिएको छ । यसरी हेर्दा सरकारले पर्यटनको क्षेत्रमा करीब २.१० प्रतिशत मात्र बजेट विनियोजन गरेको छ ।

सरकारले पर्यटनमैत्री कार्यक्रमका माध्यमबाट गुणस्तरीय सेवा र नयाँ पर्यटकीय गन्तव्यको विकास गरी पर्यटकको बसाई अवधि लम्बाउने तथा निजी क्षेत्रको सहकार्यमा पर्यटकलाई अतिथिको रूपमा सम्मान गर्ने अतिथिदेवो भवः अभियानलाई निरन्तरता दिने बताइएको छ ।

पर्यटन पूर्वाधारको विकास र विस्तार गरी पर्यटन सेवामा सुधार गर्ने सरकारले जनाएको छ । प्रकृति, संस्कृति र साहसिक पर्यटन समेट्ने गरी पर्यटन क्षेत्रको एकीकृत विकास गर्ने गुरूयोजना तयार गर्न सरकारले १ करोड बजेट विनियोजन गरेको छ । साथै, पर्यटन क्षेत्रका कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्न पर्यटन कार्यालय तथा पर्यटन सूचना केन्द्रको स्थापना गर्न रू ५ करोड विनियोजन गरेको छ ।

सरकारले पर्यटन क्षेत्रलाई प्रदेश समृद्धिको मुख्य आधारका रूपमा लिने जनाएको छ ।  सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष सम्पन्न गर्न तथा सन् २०२० लाई छिमेकी आकर्षण पर्यटन वर्षको रूपमा मनाउन रू १ करोड विनियोजन गरेको छ ।

यस्तै प्रदेश पर्यटक आकर्षक क्षेत्रको रूपमा घोषणा भएका १ सय १० पर्यटन गन्तब्य मध्ये प्रत्येक जिल्लामा ४ गन्तब्यको छनौट गरी जम्मा ४४ गन्तब्यमा पूर्वाधार विकास गर्न १७ करोड ६० लाख विनियोजन गरेको छ ।

राउण्ड अन्नपूर्ण पदमार्ग, धौलागिरी पदमार्ग, मिलेनियम ट्रयाक लगायत पदमार्ग, पार्क, उद्यान तथा भ्यूटावर निर्माणका कार्यक्रमलाई निरन्तरता दिन १८ करोड विनियोजन गरेको छ ।

६७ करोडमा २५ करोड होमस्टेप्रबद्र्धनका लागि

चालु आर्थिक वर्षमा सञ्चालित होमस्टे प्रबद्र्धन कार्यक्रमलाई परिमार्जन गर्दै सञ्चालन गर्न २५ करोड विनियोजन गरेको अर्थमन्त्री किरण गुरुङले जानकारी दिनुभयो । सरकारले समग्र पर्यटनको क्षेत्रमा ६७ करोड ६० लाख मात्र बजेट बिनियोजन गरेको छ । यसमध्ये होमस्टेको प्रवद्र्धनका लागि सरकारले २५ करोड छुट्याएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित