"गजल" – Samacharpati - A Complete News Portal From Pokhara
Home | About Us | Contact | Unicode |

“गजल”

स्याङ्गजा, २० जेठ  ।

गजल १

बन्द गर्यौ तिम्रा मेरा मायाका ती खाताहरु
के काम भयो मेरो दु:खमा रमाउने नाताहरु

कुकुर काखी च्यापेर हिड्ने देखेँ मैले आज
बृद्धाश्रममा भेटिए किन जन्मदिने माताहरु

न दियोको काम हुन्छ दिनमा हेर तिमी
न घामपानी बिना काम हुन्छन् छाताहरु

तिमी भयौ पुस्तकको महत्त्वपूर्ण पृष्ठ आज
मलाई बनाई च्यात्तिएर फालिएका गाताहरु

धर्म अनि संस्कृति जोगाउन धौधौ भयो ,
कहाँ हराए हाम्रो धर्म प्रचार गर्ने ज्ञाताहरु

गजल २

कस्ले गाँस्छ माला फूलको थुङ्गा भुइँमा झरेपछि,
लौरो किन बिर्सन्छ मानिस आफू खोलो तरेपछि,

सुख मात्र होइन जीवन कसो गरि बुझाउँ भन
दु:खको पहाड बोकी बाच्न सक्नु पर्छ परेपछि,

तिम्ले खोज्यौ भिन्नै गुण म भित्र कसोगरी
तोरी कहाँ उम्रन्छ र रायोको बीउ छरेपछि,

सरल यात्रा हो भनेर नसोच्नु है जिन्दगीलाई
शिखर बल्ल भेटिन्छ नि कठिन यात्रा गरेपछि,

जिउँदो छदा अबगुण मात्रै गाउने यो समाजमा
सबै गुणगान गाउदै घाटमा लान्छन् किन मरेपछि,

गजल ३

घरबास बल्ल फिर्ता हुन्छ साहुको ऋण तिरेपछि,
प्रदेश पस्न बाध्य भएँ सधैं ऋणले पिरेपछि,

खुशी सबै कहाँ हराए कुन्नि मेरा आजभोलि
जिम्मेवारी यो काँधमा मैले सबै भिरेपछि,

सकभर सजक रहनेछु म सधैं सधैं भरी
गाह्रो हुन्छ उठ्न थाहा छ नजरबाट गिरेपछि,

ब्यर्थै हुन्छन् तिम्रा ती सबै प्रयासहरु थाहा छ,
जोडिदैन मुटु धारिलो त्यो बचनले चिरेपछि,

नफल्ने रहेछ रुखमा पैसा यहाँ पनि हेर
थाहा भयो धन कमाउन खाडी मुलुक छिरेपछि,

खड्का महेन्द्र कुमार
फेदिखोला १ विर्ता स्याङ्जा
हाल खाडी मुलुक

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित