नयाँ पर्यटकीय पदमार्ग निर्माणको समीक्षा एवं जननिर्वाचित पदाधिकारीहरुलाई बधाई

समाचारपाटी, पोखरा, १४ असार । सराङकोट–कास्कीकोट–ढिकुरपोखरी–पञ्चासेहुँदै डेविजफल जोड्ने नयाँ पर्यटकीय पैदल मार्ग निर्माण तथा संरक्षण समितिको बुधबार सम्पन्न भेलाले नयाँ पर्यटकीय मार्ग निर्माणको समीक्षा सहित पोखरा लेखनाथ महानगरपालिका वडा नं. २४ को जननिर्वाचित प्रतिनिधिहरुलाई बधाई ज्ञापन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि सभासद् डिलबहादुर नेपालीले नयाँ पर्यटकीय पैदल मार्ग निर्माण कार्य सम्पन्न भएमा फेवाताल वरपरका ग्रामीण भेगको मुहार परिवर्तन गर्न सकिने विश्वास व्यक्त गर्दै यस महान कार्यमा जुटेको समूहको प्रसंसा गर्नुभयो । उहाँले यसको निर्माणले अरु विकासको ढोका खुल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा पोखरा लेखनाथ २४ का नवनिर्वाचित वडाअध्यक्ष ओम प्रसाद सुवेदीले यस कार्यमा आफ्नो सहकार्य हुने र यस्तै अन्य योजनाहरुको सम्भाव्यता अध्ययन गरी वडाको विकासको लागि लागिपर्ने बताउनुभयो ।

त्यसैगरी नेपाली काँग्रेस वडा कार्यसमितिका अध्यक्ष प्रताप बहादुर कार्कीले वडाको विकास निर्माण कार्यमा आफ्नो पार्टीको सक्रिय सहभागिता रहने बताउनुभयो ।

उक्त अवसरमा कार्यक्रममा उपस्थित महानुभावहरुले पदमार्ग निर्माण सम्बन्धी राख्नुभएको जिज्ञासाबारे समितिका अध्यक्ष विष्णुहरि शर्माले जवाफ दिनुभएको थियो ।

कार्यक्रममा नेका सराङकोटका अध्यक्ष शिव प्रसाद तिमिल्सिना, पदमार्ग समितिका उपाध्यक्ष टिकाराम चपाई, समाजसेवी इन्द्र प्रसाद सुवेदी, चन्द्रेश्वर बस्ताकोटी लगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा समितिका कोषाध्यक्ष हरि प्रसाद अधिकारीले आम्दानी र खर्चको विवरण प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा पोखरा लेखनाथ २४ बाट स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरुलाई समेत सम्मान गरिएको थियो ।

सराङकोट–कास्कीकोट–ढिकुरपोखरी–पञ्चासेहुँदै डेविजफल जोड्ने नयाँ पर्यटकीय पैदल मार्ग निर्माण तथा संरक्षण समिति अध्यक्ष विष्णुहरि शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव तिर्थराज सुवेदीले गर्नुभएको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top