मडिया काउन्सिल विधेयकका प्रावधानप्रति स्वतन्त्रको आपत्ति

पोखरा, १ जेठ । संसद्मा दर्ता भएकोे नेपाल मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति स्वतन्त्र पत्रकार संघ नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिलसहित सरोकार पक्षसँगको छलफल र सहमतिबिना सो विधेयकका प्रावधानले मिडिया काउन्सिललाई सरकार नियन्त्रित अंगको रुपमा स्थापित गर्नुको साथै स्वतन्त्र पत्रकारितामाथि अंकूश लगाउने चाल भएको संघको ठहर छ।

संघका नवनिर्वाचित अध्यक्ष केबि मसालद्वारा मंगलवार जारी विज्ञप्तिमा सो विधेयक तुरुन्त फिर्ता लिई सरोकारवाला पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी अन्तर्राष्ट्रिय मूल्यमान्यता आधारमा पुनः विधेयक मस्यौदा तयार गर्न माग गरिएको छ।संविधानले ग्यारेन्टी गरेको जनताको मौलिक अधिकार सरकारले कुण्ठित गर्न नहुने बताइएको छ।

ऐन बन्नु अगाडिसम्म विधेयकमा छलफल समेत नगरी सरकारले ल्याएको यस्तो विधेयक पास भए लोकतन्त्रका लागि घातक हुने जनाइएको छ ।सर्वोेच्च अदालतले समेत कार्यान्वयनका लागि निर्देशन जारी गरिसकेको समानुपातिक विज्ञापन नीति तत्काल लागू गर्न पनि माग गरिएको छ। यसैगरी संसद्मा विचाराधीन रहेका विज्ञापनसम्बन्धी ऐन र सूचना प्रविधिसम्बन्धी ऐनमा प्रेस स्वतन्त्रता विरोधी दफा सच्चाउन माग गरिएको छ।

मस्यौदा हुँदै गरेका आमसञ्चार ऐन र सार्वजनिक सेवा प्रशारण ऐनका सम्बन्धमा सबै सरोकारवाला पक्षसँग छलफल र सहमति कायम गर्न पनि आग्रह गरिएको छ। साथै पत्रकार महासंघले तय गरेका आन्दोलनका कार्यक्रमप्रति ऐक्यबद्वता जनाउँदै स्वतन्त्रका सबै शाखालाई आन्दोलनमा सहभागी हुन विज्ञप्ति मार्फत आग्रह गरिएको छ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top