झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या : यादव

Upendra Yadav

काठमाण्डौ, वैशाख ३१ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ । प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको मंगलबारको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र प्रक्रियाभन्दा अन्य प्रक्रियाले खरीद गर्नुपर्ने व्यवस्था मिलाउन आवश्यक छ भन्नुभयो ।

औषधि र उपकरण कम दरभाउको बोलपत्रबाट खरीद गर्ने परम्पराले जनताले गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चितसमेत हुन पुगेको र खरीद गरिएका औषधिका पनि तीन महीनामा समयावधि सकिने धारणा राख्नुभयो । संविधान कार्यान्वयन गर्न बनेका प्रजनन स्वास्थ्य तथा जनस्वास्थ्य ऐनको प्रभावकारी कार्यान्वयन गर्न नियमावली आउन लागेको उहाँले जानकारी दिँदै कर्मचारी समायोजन प्रक्रियाले स्वास्थ्य क्षेत्रमा असर परेको बताउनुभयो । स्वास्थ्य क्षेत्रमा बजेट वृद्धि गर्न आवश्यक रहेकामा जोड दिँदै उहाँले स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ नीति ल्याउन लागिएको जानकारी दिनुभयो । समितिको बैठकमा समितिका सभापति जयपुरी घर्तीलाई स्वास्थ्य तथा जनसङ्ख्या उपसमितिका संयोजक खगराज अधिकारीले प्रतिवेदन हस्तान्तरण गर्नुभयो । छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकलाई अनिवार्य दुर्गम क्षेत्रमा सेवा गर्नुपर्ने प्रावधानलाई अनुगमन गर्नुपर्ने, सरकारी सबै अस्पतालका सम्पत्ति संरक्षणमा ध्यान दिनुपर्नेलगायतका सुझाव प्रतिवेदनमा रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top