उज्यालो प्रदेश कार्यक्रमका लागी गण्डकी प्रदेश सरकार र प्राधिकरण बिच ११ बुँदे सम्झौता

पोखरा, २९ वैशाख । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश कार्यक्रम अन्तरगत आईतबार विद्युत प्राधिकरणसंग सम्झौता गरेको छ । विभिन्न ११ बुदाँहरु समावेश उक्त सम्झौतामा गण्डकी प्रदेश सरकारका तर्फबाट भौतिक पुर्वाधार मन्त्रालयका सचिव इश्वरचन्द्र मरहठ्ठा र नेपाल विद्युत प्राधिकरणको तर्फबाट क्षेत्रिय कार्यालय पोखराका प्रमुख सुरेश बहादुर क्षेत्रीले हस्ताक्षर गरेका छन् ।

सहमति पत्रमा विद्युत विस्तार कार्यलाई समन्वयात्मक रुपमा संचालन गर्न तथा विद्युत विस्तार कार्यको स्थान छनौट, अनुगमन, मुल्याङ्कन र आईपर्ने समस्याहरु समाधानका लागी मन्त्रालयका सचिवको संयोजकत्वमा समन्वय समिति गठन गर्ने र चालु आर्थीक वर्षदेखी आगामी आर्थीक वर्ष भित्रमा विद्युत विस्तार गर्ने स्थानहरुको छनौट पहिलो पक्षले गर्ने उल्लेख छ । यस्तै छनौट भएका स्थानहरुमा विद्युत विस्तार गर्ने कार्यको लागत अनुमान सम्बन्धित विद्युत वितरण केन्द्रले गर्ने र लागत अनुमानमा कन्टेन्जेन्सी रकम बढिमा ३ प्रतिशत हुनेछ । विद्युत विस्तारको खरिद प्रक्रिया द्धितिय पक्षको प्रचलित आर्थीक प्रशासन विनियमावली २०६८ बमोजिम हुनेछ ।

खरिद सम्झौता पश्चात मन्त्रालयले विद्युत प्राधिकरणलाई पहिलो किस्तामा एक तिहाई रकम पेश्कि स्वरुप धरौती खातामा पठाउने छ । त्यसपछि कार्यप्रगतिको आधारमा रकम पठाईने छ । यस्तै सहमतिको सातौ बुदाँमा ठेक्का सम्झौता गर्दा आगामी आर्थीक वर्ष ०७६/७७ भित्रमा काम सम्पन्न गर्नु पर्ने उल्लेख गरिएको छ । गण्डकी प्रदेश सरकारको चालु आर्थीक वर्षको नीति तथा कार्यक्रमा समावेश गरिएको आगामी २ वर्ष भित्रमा प्रदेशका प्रत्येक घरघरमा विजुली बत्ति पुर्याउने लक्ष्य अनुसार यो सम्झौता गरिएको मन्त्री रामशरण बस्नेतले जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त सहमतिले उज्यालो प्रदेश निर्माणमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top