लमजुङको आठ वटै पालिकामा नेकपाको नेतृत्व चयन

लमजुङको आठ वटै स्थानीय तहमा नेकपाको नेतृत्व चयन गरिएको छ । लमजुङका आठवटै स्थानीय तहमा नेकपाले पार्टीको अध्यक्ष र सचिव चयन गरेको हो । पूर्व एमाले र माओवादीबाट मिलाएर पालिकास्तरमा नेतृत्व छनोट गरिएको छ । ८ पालिकामध्ये पूर्व एमालेबाट ५ जना अध्यक्ष र ४ जना सचिव तथा पूर्व माओवादीबाट तीनवटा पालिकामा अध्यक्ष र ४ वटामा सचिव चयन गरिएको पार्टीका नेता तथा संविधानसभाका सदस्य जमिन्द्रमान घलेले जानकारी दिए ।

बेसीशहर नगरपालिकामा राजकुमार विष्टले पार्टी प्रमुखको जिम्मेवारी पाएका छन् । उनी पूर्व एमालेबाट चयन भएका हुन् भने पूर्व माओवादीबाट सचिवको जिम्मेवारी शोभा थापालाई दिइएको छ ।

सुन्दरबजार नगरपालिकामा पूर्व एमालेबाटै भीमबहादुर गुरुङले अध्यक्षको जिम्मेवारी पाएका छन् । सचिवको जिम्मेवारी पूर्व माओवादीबाट सुनिल सुनारलाई दिइएको छ । मध्यनेपाल नगरपालिकामा रामचन्द्र पौडेललाई अध्यक्षको जिम्मेवारी दिइएको छ भने सचिवको जिम्मेवारी अर्जुन श्रेष्ठलाई दिइएको छ । पौडेल पूर्व माओवादीबाट र श्रेष्ठ पूर्व एमालेबाट हुन् ।

यता राइनास नगरपालिकाको अध्यक्षको जिम्मेवारी अविरल न्यौपानेले पाएका छन् । उनी पूर्व माओवादीबाट हुन् । राइनासमा पार्टी सचिवको जिम्मेवारी पूर्णबहादुर गुरुङलाई दिइएको छ ।

त्यस्तै मर्स्याङदी गाउँपालिकामा पूर्व एमालेबाटै धनसिंङ्ग तामाङ अध्यक्ष चयन भएका छन् । त्यहाँ दयासागर घिमिरेलाई सचिवको जिम्मेवारी दिइएको छ । त्यस्तै दोर्दी गाउँपालिकामा युवराज अधिकारीले अध्यक्षको जिम्मेवारी पाएका छन् । उनी पनि पूर्व एमाले हुन् । दोर्दीमा सचिवको जिम्मेवारी अम्बिका मरहठ्ठालाई दिइएको छ ।

दूधपोखरी गाउँपालिकामा पूर्व माओवादीबाट सतीमाया तामाङ अध्यक्ष चयन भएकी छन् । सचिवमा धनबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । क्व्होंलासोंथर गाउँपालिकामा नरबहादुर गुरुङले अध्यक्षको जिम्मेवारी पाएका छन् । उनी पनि पूर्व एमालेबाट हुन् । त्यहाँ सचिवको जिम्मेवारी सुर्य गुरुङले पाएका छन् ।

news#Nayapatrika

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top