सरकारको समृद्धिको अभियानमा मिडियाको भुमिका महत्वपुर्ण छः नगरप्रमुख अर्याल

शान्ता कमली, लमजुङ २१ बैशाख । बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले सरकार समृद्धिको अभियानमा रहेकाले सरकारको समृद्धिको अभियानमा मिडियाको भुमिका महत्वपुर्ण हुने बताएका छन् । २६ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा सदरमुकाम बेसीशहरमा आयोजना गरिएको समृद्ध र जवाफदेही स्थानिय तहका लागी मिडीयाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै नगरप्रमुख अर्यालले प्रेस स्वतन्त्रता हुनुपर्ने भन्दै पत्रकारले स्वतन्त्र र निष्पक्ष रुपमा कलम चलाउन पाउनुपर्ने बताए । उनले नियम विपरीत कानुन नै नमानि कलम नचलाउन पत्रकारलाई आग्रह गरे । उनले पत्रकारहरुले सत्य तथ्यमा आधारित रहेर आलोचनात्मक हिसाबले टिका टिप्पणी गरी समाचार सम्प्रेषण गरिदिए स्थानिय तहहरु पनि सच्चिन पाउने भन्दै भएका राम्रा र नराम्रा दुवै कामलाई निष्पक्ष ढङ्गले कलम चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बेशीसहर नगरपालिकाका उपप्रमुख लक्ष्मी अधिकारी, जिल्ला समन्वय अधिकारी फणिन्द्र दाहाल, सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनार, बार इकाइका अध्यक्ष कृष्ण प्रसाद अधिकारी, नेपाली कांग्रेसका सचिव हरि बराल, लमजुङ उद्योग वाणिज्य संघका उपाध्यक्ष गुणराज सिलुवाल लगायतले बोल्दै पत्रकारको कलमको हतियार अत्यन्तै बलियो हुने भन्दै सत्य तथ्यमा आधारित भएर कलम चलाउन आग्रह गरे ।

समृद्ध र जवाफदेही स्थानीय तहका लागि पत्रकारहरुको भूमिका अत्यन्तै महत्व हुने बता कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य किसान संगित नेपाली, गण्डकी प्रदेश सदस्य कमला केसी, नेपाल पत्रकार महासंघ लमजुङका पुर्व अध्यक्ष कृष्ण केसी, नवराज पहाडी, लगायतले बोल्दै समाचार लेखेको वा समाचार सम्प्रेषण गरेकै आधारमा पत्रकारलाई गिरफ्तार गर्ने घटनाहरु भइरहेको भन्दै प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने कानूनहरु संशोधन गर्नुपर्नेमा र पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुनुपर्ने माग गरेका थिए ।

नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष आश गुरुङको अध्यक्षतामा भएका कार्यक्रममा शाखाकी उपाध्यक्ष विमला अधिकारीले स्वागत गरेको कार्यक्रममा वेसीशहर नगरपालिकाका विभिन्न वडाका अध्यक्ष तथा सदस्य लगायत विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल पत्रकार महासंघ लमजुङ शाखाकोे आयोजना र वेसीशहर नगरपालिकाको सहयोगमा कार्यक्रम भएको हो ।

नेपालमा यस वर्ष ‘लोकतन्त्र र शान्तिका लागि मिडिया, इन्टरनेट युगमा पत्रकारिता र निर्वाचन’ भन्ने नारासहित यो दिवस मनाइएको हो । सन् १९९३ मा संयुक्त राष्ट्र संघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आह्वानमा प्रत्येक वर्ष मे ३ का दिन संसारभर प्रेस स्वतन्त्रता दिवस मनाउने गरिन्छ । नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा धेरै कानुन बने पनि यी कानूनहरुले स्वतन्त्र प्रेसलाई संकुचित बनाउने आशंका विभिन्न क्षेत्रबाट गरिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top