भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान सञ्चालन गरिने

काठमाडौं, २० वैशाख । भ्रष्टाचार अन्त्यका लागि कडा संवैधानिक व्यवस्थाको माग गर्दै आएको राष्ट्रिय जनमुक्ति पार्टीले देशमा बढ्दो ‘भ्रष्टाचार विरुद्ध राष्ट्रिय अभियान’ सञ्चलान गर्ने भएको छ । जिल्ला तथा प्रदेश स्तरमा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा पार्टीका केन्द्रीय नेताहरुले कार्यकर्ताहरुलाई भ्रष्टाचार विरुद्ध देशव्यापी रुपमा आन्दोलन उठाउनका लागि तयार रहन भनिएको छ ।

बैशाख २३ गते सम्म जिल्ला तथा प्रदेश तहका प्रशिक्षण सकेर सबै केन्द्रीय पदाधिकारीहरु २५ गते सम्म काठमाडौं फर्की सक्ने र २७ गतेदेखि ‘कार्य सम्पादन समिति’ को बैठक बस्ने पार्टी सचिवालयले जानकारी गराएको छ । बैठकले पार्टीद्वारा सञ्चालन गरिने अभियानलाई अन्तिम रुप दिई घोषणा गर्ने बताईएको छ ।

यसैबीच नयाँ शक्ति पार्टी, फोरम, राजपा र राष्ट्रिय जनमुक्ति पार्टी बीच पार्टी एकता हुने भनी सञ्चार माध्यमहरुमा आएको समाचार असत्य र भ्रामक रहेको सचिवालयले प्रष्ट पारेको छ । पार्टी केन्द्रीय सचिवालयका अनुसार राष्ट्रिय परिस्थिति र समस्या बारे विभिन्न दलहरुसंग पार्टीको शिर्ष तहले अनौपचारिक भेटघाट र छलफल गरेको छ, निश्चित मुद्दाहरु सम्बन्धमा सहकार्यका सम्भावनाहरु बारे पनि छलफल हुने गरेको छ ।

तर पार्टी एकता बारे प्रकृया अगाडि बढेको भन्ने चाहिं सरासर गलत समाचार हो । तत्कालिन मुद्दा मिल्ने राजनीतिक शक्तिहरुसंग सहकार्य गरी अघि बढ्नपार्टीले ‘बहुल राष्ट्रिय मोर्चा’को अवधारणालाई अगाडि सार्दै आएको भएता पनि त्यस तर्फ उल्लेख्य प्रगति भने भएको देखिदैन ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top