जलेका मानिस बचाउन छाला दान गरौं

छाला दान र छाला प्रत्यारोपण भन्ने कुरा अब नेपालमा नौलो कुरा रहेन । नेपालमा छालादान र छाला प्रत्यारोपणको अभ्यास स्थापित भइसकेको छ ।

पाँच वर्षअघि प्लास्टिक सर्जरी विशेषज्ञ शंकरमान राईको नेतृत्वमा हामीले कीर्तिपुर अस्पतालमा जलेको विरामीमा पहिलो पटक छाला प्रत्यारोपण गरेका थियौं । अहिलेसम्म १५ भन्दा बढी मानिसमा छाला प्रत्यारोपण गरिसकेका छौँ ।

कुनै मानिसको शरीरको ४० प्रतिशतभन्दा बढी भाग जलेको छ भने त्यसलाई ‘एक्स्टेन्सिभ बर्न’ भनिन्छ । त्यस्ता मानिसलाई जलेको भागमा नजलेको भागको छाला प्रत्यारोपण गरेर बचाउन सकिन्छ । शरीरको ३० प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा सद्दे छाला प्रत्यारोपण आवश्यक पर्छ ।

३०-४० प्रतिशत भाग जलेको मानिसको आफ्नै शरीरबाट सद्दे छाला निकाल्न सक्ने अवस्था छैन भने अरुको छाला प्रत्यारोपण गर्नुपर्ने हुन्छ । त्यसको लागि छाला दान गर्ने चलन छ । १८ देखि ६५ वर्षसम्मका मानिसका छाला जलेको अर्को व्यक्तिमा प्रत्यारोपण गर्न मिल्छ ।

मानिसहरुले मृत्यअघि आँखा दान, शरीर दान गरेजस्तै छाला दान गरेका हुन्छन् । नेपालमा छाला दानबारे कम जानकारी भएकाले हुनसक्छ छाला दान गर्ने मानिस कमै देखिएका छन् । त्यसकारण हामी छाला दानको लागि आहृवान गर्छौं ।

हामीले मृतकका परिवारजनको सहमतिबाट छाला लिने गरेका छौं । हामी कहाँ यो चलन फस्टाई नसकेकाले भारतबाट छाला ल्याएर प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । जलेका मानिसलाई मृत्युबाट जोगाउन सकिने भएकाले छाला दान गर्नेहरु नेपालमै बढ्छन् भन्ने अपेक्षा छ ।

मृतकबाट लिइने छालालाई ‘फ्रेस एलोग्राफ’ भनिन्छ । मृत्यु भएको मानिसको छाला छ घण्टाभित्र निकाली सक्नुपर्ने मान्यता छ, तर हामीले १२ घण्टामा पनि निकालेका छौँ ।

मानिसको शिरदेखि पाउसम्मको छाला जलेको अर्को व्यक्तिको लागि काम लाग्छ, तर हामीले तिघ्राको मात्र निकाल्ने गरेका छौँ । त्यसरी निकालेको छाला प्रयोगशालामा परीक्षण गरिन्छ । संक्रमित छ भने काम लाग्दैन । स्वस्थ छ भने छाला बैंकमा राखेर आवश्यक परेको व्यक्तिमा प्रत्यारोपण गरिन्छ ।

धनी देशहरुमा मानिसको छाला १० वर्षसम्म छाला बैंकमा सुरक्षित राख्ने प्रविधि छ । हामी भने एक महिनासम्म मात्र राख्न सक्छौं ।

प्रत्यारोपणपछि छालाको काम

प्रत्यारोपण गरिएको छालाले घाउको भित्री भाग निको पार्ने र संक्रमण हुनबाट बचाउने काम गरेर जलेका मानिसलाई बचाउँछ ।

‘एक्सटेन्सिभ बर्न’ भएका मानिसलाई सबभन्दा पहिला संक्रमणबाट जोगाउनुपर्ने हुन्छ । त्यस क्रममा जलेर पाकेका सबै मासु निकालेर नयाँ छालाले छोप्नुपर्छ ।

नयाँ छालाले सधैँभरि काम गर्दैन । पछि विरामी स्वयंको शरीरको अन्य भागको छाला निकालेर फेरि प्रत्यारोपण गरिन्छ ।

मानिसहरु आगोले मात्र नभई तातोपानी, बिजुली, सल्फ्युरिक एसिड लगायतका रसायनबाट पनि जल्छन् । विजुलीले जल्दा बाहिर घाउ नदेखिन पनि सक्छ ।
बाहिरी छाला मात्र जलेको पनि हुनसक्छ । त्यस्तोमा ड्रेसिङ नै काफी हुन्छ । ‘डिप बर्न’मा चाहिँ पाकेको सबै भाग निकालेर नयाँ छालाले छोप्नुपर्छ ।

आगो, तातोपानी, बिजुली वा रसायन जेले जले पनि चिनी वा नुन लगाउने, माटो दल्ने गर्नु हुँदैन । आइसले सेक्ने वा सावुन पानीले धुनु पनि हुँदैन । बरु घाउमा निरन्तर चिसो पानी राख्दै बिरामीलाई छिटोभन्दा छिटो अस्पताल पुर्‍याउनुपर्छ ।

(डा. बस्नेत कीर्तिपुर अस्पतालका सिनियर प्लास्टिक एण्ड कस्मेटिक सर्जन हुन् ।)

समाचार साभार/ फोटो :- अनलाइनखबर

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top