कविता “भन पन्त निर्मला”

स्याङ्गजा, १६ वैशाख ।

थाके सबै यी नेपाली जनहरु,तिम्लाई न्याय मागी
ठाडो शिर पारी हिडिरहेछ त्यो ,तिम्रो त अपराधी
तिमीलाई नसम्झेको छैन कुनै ,घडी होस् वा त्यो पला
स्वर्ग पुग्न सक्यौं कि सकिनौ तिमी ,भन पन्त निर्मला

तिम्रो निम्ति न्याय मागेकै हुन् हेर,छातीमा गोली थापी
कस्को संरक्षणले उम्किएको हो ,त्यो बलत्कारी पापी
उखु बारीमा फालेको तिम्रो लास,सम्झन्छु म झल्झल
स्वर्ग पुग्न सक्यौं कि सकिनौ तिमी ,भन पन्त निर्मला

हत्यारालाई समाउने निकाय त्यो ,मौन बसेको किन
पुग्न लाग्यो बहिनी तिम्रो हत्याको ,अब त बर्ष दिन
आँखाबाट बग्न छोडे बा आमाका,हेर आँसुका भल
स्वर्ग पुग्न सक्यौं कि सकिनौ तिमी ,भन पन्त निर्मला

साँच्चै बन्द भएकै हो कि त कुन्नि ,तिम्रो हत्याको केस
न्याय पाउन सकेन निर्धाले लौ,कस्तो हो हाम्रो देश
मर्दै गयो अाश अब त हामीले ,न्याय पाउने पल
स्वर्ग पुग्न सक्यौं कि सकिनौ तिमी ,भन पन्त निर्मला

महेन्द्र कुमार खड्का
फेदिखोला गा. पा. २ स्याङ्जा
हाल खाडी मुलुक

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top