ओली सरकारले भ्रष्टाचारलाई पार्टीगत र संस्थागत गरेको काँग्रेस नेता केसीको आरोप

पोखरा, ३० चैत्र । नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले वर्तमान ओली सरकारले भ्रष्टाचारलाई पार्टीगत र संस्थागत गरेको आरोप लगाउनुभएको छ । प्रजातान्त्रिक विचार समाज कास्कीको ८ औं अधिवेशनको उद्घाटन समारोहलाई पोखरामा सम्बोधन गर्नुहुँदै आज उहाँले सो कुरा बताउनुभएको हो ।

उहाँले सरकारले राज्यको साधन श्रोतको चरम दुरुपयोग गरेको आरोप लगाउनुभयो । नेता केसीले सरकार नीतिगत रुपमै विचलित भई लोकतन्त्रको भावना विपरित अदालत, प्रेश र सेनामाथी निरंकुशता लाद्न खोजेको समेत बताउनुभयो ।

उहाँले पार्टीका बारेमा बोल्नुहुँदै काँग्रेसले आफुलाई रुपान्तरण नगरि सुख नभएको बताउनभयो । उहाँले आत्मासम्मानका साथ पार्टीले हरेक कार्यकर्तालाई जिम्मेवारी दिनुपर्नेमा जोड दिनुभयो । त्यसैगरि पार्टी प्रवक्ता एवं युवा नेता विश्वप्रकास शर्माले सरकारले परामर्शदाताका नाममा ३ अर्व कार्यकर्तालाई बाँड्ने गरेको आरोप लगाउनुभयो ।

सरकारले रेल ल्याउने कुरा राम्रो भएको तर काँग्रेसका पालामा मेलम्चीको पानी ल्याउन ९० प्रतिशत सुरुङ्ग खनिसकेको अवस्थामा विदेशी ठेकदार कम्पनीलाई कमिशन नदिएको आधारमा भगाएको बताउनुभयो । भ्रष्टाचार मेलम्चीमा मात्र होइन वाइडबडी, बुढीगण्डकी जस्ता राष्ट्रिय महत्वका योजनामा ओली सरकार फसिसकेको बताउनुभयो । नेता शर्माले सरकार विचार र दर्शनमा प्रष्ट नभएको आरोप लगाउँदै उत्तर कोरियाको जस्तो शासन प्रणाली हो वा लोकतान्त्रिक, प्रष्ट पार्नुपर्ने बताउनुभयो । सरकारले विप्लवको रगत चढाएर लोकतन्त्रको रक्षा गर्छु भन्नु र विप्लवले प्रचण्डलाइ मारेर कम्युनिष्ट शासन ल्याउँछु भन्नु दुवै मुलुकको लागि घातक भएको टिप्पणी गर्नुभयो । उहाँले यस्ता दर्शनले नेपालमा फेरी रगतको खोलो बगाउन नपाइने प्रष्ट पार्नुभयो ।

कार्यक्रममा नेताद्वयले विचार समाजको विचार प्रवाह स्मारिका समेत विमोचन गर्नुभयो । कार्यक्रममा काँग्रेसका युवा नेता शोभाखर पराजुलीले काँग्रेस नीति अनुरुप चल्न आग्रह गर्नुभयो । विचार समाजका केन्द्रिय अध्यक्ष डा.केदार नरसिंह केसीले पार्टीमा विचारको खडेरी होइन विचार कार्यान्वयनको अभाव भएको बताउनुभयो ।

प्रजातान्त्रिक विचार समाज कास्कीका अध्यक्ष डा.गिरीधारी शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा केन्द्रिय महासचिव गोकर्ण अर्याल, सचिव प्रा.डा. बासुदेव भण्डारी, प्रा.डा.बेदनाथ शर्मा, प्रेश युनियनका केन्द्रिय उपाध्यक्ष रमेश पौडेल, काँग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङ्ग, उच्च बार पोखराका अध्यक्ष रोहितराज बाँस्तोल, विचार समाजका केन्द्रिय सदस्य विन्दु पौडेल, शिशुकला पराजुली लगायतले लोकतान्त्रिक पद्धती र विचारका बारेमा बोल्नुभएको थियो ।

यसैगरि आज सम्पन्न अधिवेशनले पुन ः डा.गिरीधारी शर्माको अध्यक्षतामा १५ सदस्यि नयाँ कार्यसमिति निर्विरोध रुपमा चयन गरेको छ । समितिको उपाध्यक्षमा डा.दिलबहादुर कार्की, सचिवमा शिशुकला पराजुली, सह–सचिवमा भुपदेव भट्ट चयन हुनुभएको छ । यसैगरि सदस्यहरुमा रमेश पौडेल, डा.इश्वर कँडेल, शान्ति भुषाल, प्रा.डा.यमबहादुर पौडेल क्षेत्री, कपिलमणि दाहाल, उदयकुमार सिंह, क्षेत्रबहादुर बराल, भिम न्यौपाने र बिमला भण्डारी रहनुभएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top