कस्तो मासु खाँदा राम्रो त ! मासु खाँदा ध्यान दिनुस् यस्ता कुरा

२८ चैत । मासु पोषिलो खाना हो। तर, धेरै खानाले यसले हाम्रो शरीरलाई हानि पुर्याउँछ।  नकारात्मक असर पर्छ। त्यसैले बिरामीले मात्र होइन, स्वस्थ व्यक्तिले पनि मासु खाँदा विशेष ध्यान दिनुपर्छ।  

रातो मासु राम्रो कि सेतो 
रातो र सेतो दुवै मासु प्रोटिनले भरिपूर्ण हुन्छ। सेतो मासुमाभन्दा रातो मासुमा खनिज पदार्थको मात्रा बढी हुन्छ। सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो पदार्थ हुन्छ, यसले कोलेस्टेरोल हाई गर्छ। मुटुसम्बन्धी रोगी, उच्च रक्तचापका बिरामीलाई रातो मासु नदिनु नै उपयुक्त मानिन्छ। 

रातो मासुको तुलनामा सेतो मासुमा चिल्लो पदार्थ कम हुन्छ। सेतो मासु आवश्यक मात्रामा खानु उपयुक्त मान्न सकिन्छ। बोसो र छालारहित मासु वयस्क व्यक्तिले १ सय ५० ग्रामसम्म खान मिल्छ। 

यदि दीर्घ रोग लागेको छ भने त्यस्ता व्यक्तिलाई रातो मासु उपयुक्त हुँदैन। मुटुको रोगी, गाउटका बिरामी, किड्नीका बिरामीलाई रातो मासु उपयुक्त हुँदैन। कुनै संस्कृतिमा रातो मासुको प्रयोग गर्नैपर्ने हुन्छ। जस्तैः नेवारको भोजमा, पूजा गर्दा रातो मासु खानैपर्ने हुन्छ। त्यस्तो बेला थोरै मासु प्रयोगमा ल्याउनु उचित हुन्छ।

मासु खाँदा के कुरामा ध्यान दिनुपर्छ ?

हामीले जनावरको टाउकोदेखि पुच्छरसम्मका सबै अंगको मासु खाइरहेका हुन्छौं। तर, त्यस्तो मासु खाँदा कसरी खाइराखेका छौँ त्यसमा ध्यान दिनुपर्छ। हामीले खाने गरेका सबै अंगको मासु शरीरका लागि स्वास्थ्य कर छन् त ? 

जनावरको मुटु–कलेजो खाँदा विचार पुर्‍याउनुपर्छ। त्यस्तो अंगको मासु धेरै पोषिलो हुनुका साथै भिटामिन र खनिज पदार्थ पाइन्छ। तर यस्तो मासु बनाउने तरिका कस्तो छ र हामीले केसँग खाँदैछौँ त्यसमा ध्यान दिनुपर्छ। 

हामीले त्यस्तो अंगको मासु स्वादको निमित्त फ्राई गरेर खाने गर्छौं। एक त त्यस्तो मासु चिल्लो हुन्छ, त्यसमाथि फ्राई गरेर खाँदा चिल्लो पदार्थ झन् थपिने गर्छ। त्यस्तो मासु पेय पदार्थसँग खाँदा पनि स्वास्थ्यलाई हानि पुर्‍याउँछ।

काँचो मासु स्वास्थ्यका हिसाबले कति उपयुक्त छ ?
मासु मानिसलाई मात्र होइन, जिवाणुलाई पनि उत्तिकै मन पर्छ। यदि मासु खुल्ला ठाउँमा १-२ घण्टा राखियो भने त्यो मासुमा जिवाणु उत्पन्न हुन्छन्। धेरै समुदायले दसैंको बेलामा काँचो मासु साधेर खाने गरेको पाइन्छ। त्यस्तो मासु खानु त्यति उपयुक्त हुँदैन। काँचो माुले अपच हुने, पेट फुल्ने जस्ता समस्या निम्त्याउँछ। यदि त्यस्तो मासु खानै पर्‍यो भने तोरीको तेलमा झानेर खानु उपयुक्त हुन्छ। यदि पाचन प्रणलीमा कुनै समस्या छैन भने मात्र यस्तो मासु थोरै मात्रामा खाना सकिन्छ, तर पोषणको हिसाबले उपयुक्त हुँदैन। 

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top