कांग्रेस अहिले आन्तरिक कलहमा

भक्तपुर, २२ चैत नेपाली कांग्रेसका केन्द्रीय सदस्य अम्बिका बस्नेतले वर्तमान सरकारले गरेको गलत कामको विरोध गर्नुपर्ने बेलामा कांग्रेस अहिले आन्तरिक कलहमा फसेको बताएकी छन् ।
शुक्रबार नेपाली कांग्रेस सुर्यबिनायक वडा नं. ८ को वडा कार्यालय समितिको कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारका गलत कामको विरोध गर्नुपर्ने बेलामा आन्तरिक कलहमा फसेको भन्दै यस्तो अभिब्यक्ति दिएकी हुन् ।

पूर्व गरिवी निवारण तथा सहकारी मन्त्रीसमेत रहेकी बस्नेतले चुनावको बेलामा देशलाई आर्थिक समृद्ध दिने घोषणा गरेको कम्युनिष्ट सरकारले अहिले जनतालाई करको भार थोपार्नु बाहेक अन्य कुनै काम गर्न नसकेको आरोप लगाइन् । जहिले जहिले कांग्रेस कमजोर भएका छन् तहिले तहिले लोकतन्त्र कमजोर भएको बताउँदै पार्टी विधान सम्मत जानुपर्ने उनले बताइन् । नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपालको इतिहासमा जस जसले कांग्रेससँग निहुँ खोजेका थिए ती पतन भएको जानकारी दिँदै वर्तमान सरकारले पनि कांग्रेससँग निहुँ खोजे कम्युनिष्टको पनि पतनको बाटो धेरै टाढा नरहने बताए ।

थापाले भक्तपुरको विकासका नाममा जनप्रतिनिधि तथा नेता–कार्यकर्ताहरु कमाउ धन्दामा लागेको बताउँदै सांसद महेश बस्नेतले भने जस्तै भक्तपुर भ्रष्टाचार मुक्त जिल्ला होला तर भ्रष्टाचारी मुक्त जिल्ला हुन नसक्ने ठोकुवा समेत गरे । गिरिजाप्रसाद कोइराला प्रतिष्ठान जिल्ला समिति भक्तपुरका संयोजक बिदुरमानसिंह बस्नेत, कांग्रेस भक्तपुर क्षेत्र नं. २ का सभापति नारायणभक्त खायमली, नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापा, कांग्रेस भक्तपुरका जिल्ला सदस्य शसी बस्नेत, प्रदेश सभामा प्रत्यासी उम्मेदबार अंगत खड्का, कांग्रेस भक्तपुर जिल्ला संगठन विभागका सदस्य बच्चुराम थापालगायतले कांग्रेस गुट उपगुटले नभई एकजुट भएर अघि बढे कांग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताए । नेपाली कांग्रेस सुर्यबिनायक वडा नं। ८ को वडा समिति सचिव बोजबहादुर थापाले सञ्चालन गरेको कार्यक्रमको वडा समिति सभापति महेन्द्र थापाको सभापतित्वमा सम्पन्न भएको हो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top