निर्वाचन लुम्बिनी अञ्चल स्तरीय सुरक्षा गोष्ठी बुटवलमा सम्पन्न

समाचारपाटी, बुटवल, ८ असार । आशन्न स्थानीय तह दोस्रो चरणको निर्वाचनलाई मध्यनजर गर्दै पश्चिम क्षेत्र अन्तर्गत लुम्बिनी अंचलका स्थानीय तहको निर्वाचन त्रुटीरहित ढंगवाट सम्पन्न गर्न निर्वाचनसंग सम्बन्धीत विभिन्न विषयमा अन्तरक्रिया गरी निर्वाचन विशेष सुरक्षा रणनीति तय गर्ने उदेश्यले यही असार ५ गते रुपन्देहीको बुटवलमा लुम्बिनी अंचल स्तरीय सुरक्षा गोष्ठी सम्पन्न भएको छ ।

नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यता तथा गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीको अध्यक्षतामा सम्पन्न भएको उक्त गोष्ठीमा पश्चिमाञ्चल क्षेत्रीय प्रशासक बेगेन्द्र राज शर्मा पौडेल,नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक प्रकाश अर्याल, शसस्त्र प्रहरी महानिरीक्षक सिंह बहादुर श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलिपराज रेग्मी,निर्वाचन आयोगका आयुक्त सुदिप कुमार साह, नेपाल सरकार गृहमन्त्रालय शुरक्षा महासाखाका प्रमुख दिपक काफ्ले लगायत विशिष्ठ व्यक्तिहरुको सहभागिता रहेको थियो ।

उक्त गोष्ठीमा पश्चिम क्षेत्र अन्तर्गत लुम्बिनी अंचलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निर्वाचन सम्पन्न गर्नका लागी जिल्लाहरुमा देखा परेका विभिन्न चुनौतीहरु, मतदान केन्द्र, मतदाताहरुको व्यवस्थापन, भौगोलिक स्थिति,उमेदवार, साथै निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा साथै आवस्यक श्रोत साधनहरु लगयातका विषयवस्तुहरुमा तयार पारीएको सुरक्षा योजना प्रस्तुत गर्नुभएको थियो ।

गोष्ठीका अवसरमा सञ्चारकर्मिका जिज्ञासाहरु माथी प्रकाश पार्दै कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल सरकारका उप-प्रधान तथा गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणको निर्वाचन पनि तोकीएकै समयमा भयरहित तथा विश्वनिय ढंगवाट सम्पन्न हुने कुरामा विश्वसत रहन आग्रह गर्नु भएको थियो ।

साथै कार्यक्रमका अध्यक्ष तथा नेपाल सरकार गृह मन्त्रालयका सचिव लोकदर्शन रेग्मीले आशन्न स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सुरक्षा रणनीति तय गर्ने उदेश्यले आयोजित उक्त क्षेत्रीय सुरक्षा गोष्ठीले सरोकारवाला निकायहरुलाई निर्वाचन सम्पन्न गर्नका लागी एक मार्गदर्शन प्रदान गर्ने कुरामा आफू विश्वस्त रहेको कुरा बताउनु भएको थियो ।

साथै उक्त सुरक्षा गोष्ठीमा सुरक्षा निकायका क्षेत्रीय प्रमुखहरु, अञ्चल प्रमुख, लुम्बिनी अंचलका ६ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी साथै जिल्ला स्थित सबै सुरक्षा निकायका प्रमुखहरुको पनि सहभागिता रहेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top