विद्यालयलाई स्टेशनरी सामग्री सहयोग - SamacharpatiSamacharpati        

विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

गलेश्वर, १ चैत । हाम्रो माया नेपाल जर्मन र स्वयंसेवा नेपाल नामक संस्थाले म्याग्दी र मुस्ताङ जिल्लाका ४० आधारभूत विद्यालयलाई रु २० लाख मूल्य बराबरका स्टेशनरी सामग्री सहयोग गरेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा आयोजित झोला र स्टेशनरी सामग्री वितरण कार्यक्रममा हाम्रो माया नेपाल जर्मनका सदस्य नाविङ कुरुसले झोला र स्टेशनरी सामग्री वितरण गर्दै दुई जिल्लाका ४० सामुदायिक विद्यालयमा रु २० लाख मूल्यका स्टेशनरी सामग्री वितरण गरिएको बताउनुभयो ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–३ दाना र वडा नं ४ नारच्याङका–८ विद्यालयमा अध्ययनरत करीब दुई हजार विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री वितरण गरिएको सहयोगी संस्था स्वयंसेवा नेपालका कोषाध्यक्ष विशाल गुरुङले जानकारी दिनुभयो । 

कोषाध्यक्ष गुरुङले दिएको जानकारीअनुसार हाम्रो माया नेपाल जर्मनसँगको सहकार्यमा स्वयंसेवा नेपालले देशका विकट ग्रामीण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई झोलासहित स्टेशनरी सामग्री सहयोग गर्दै आएको छ । 

अहिलेसम्म नेपालका १० हिमाली र पहाडी जिल्लामा सहयोग सामग्री वितरण गरिसकेको कोषाध्यक्ष गुरुङले जानकारी दिनुभयो । विपन्न, दलित र जनजाति समुदायका बालबालिकाले अध्ययन गर्ने दुर्गम जिल्लाका ग्रामीण भेगमा रहेका विद्यालयलाई सहयोगस्वरुप स्टेशनरी सामग्री वितरण गरिएको उहाँको भनाइ थियो । 

स्टेशनरी सामग्री प्राप्त भएपछि दुर्गम ठाउँका विपन्न परिवारका बालबालिकालाई पढाइमा सहयोग पुग्ने अन्नपूर्ण गाउँपालिका तीन दानाका वडाध्यक्ष नरसिंंहबहादुर पुर्जाले बताउनुभयो । 

मालिकाको केन्द्र दरवाङमा ढल निर्माण 

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारमा ढल निर्माण कार्य शुरु भएको छ । मालिका गाउँपालिकाको रु नौ लाख र स्थानीयवासीको एक लाख गरी रु १० लाखमा ढल निर्माण शुरु गरिएको हो । गाउँपालिकाको कार्यालयदेखि नयाँ बजारसम्म ११३ मिटर ढल निर्माण शुरु गरिएको मालिका गाउँपालिका–६ दरवाङका वडाध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो । 

सुवेदीका अनुसार ५० सेमी गहिरो र १२० सेमी चौडाइको ढल निर्माण हुनेछ । पछिल्लो समय जनघनत्व बढ्दै गएको दरवाङ बजारमा फोहर व्यवस्थापनको समस्यालाई सहज बनाउन गाउँपालिकाले ढल निर्माण शुरु गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । बजारसँगै ग्रामीण भेगमा सरसफाइ अभियानलाई जोड दिएर ढल निर्माणका लागि गाउँपालिकाले आवश्यक बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । 

सामाजिक सुरक्षा भत्ता नपाउँदा लाभग्राही मर्कामा 

राज्यले वृद्धवृद्धा, दलित, एकल महिला र अशक्तलाई प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको रकम कृषि विकास बैंकले भुक्तानी नदिएपछि म्याग्दीका सेवाग्राही मर्कामा परेका छन् । 

सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी पाएको कृषि विकास बैंकले सरकारी बैंकमा खाता नखोलेको भन्दै सामाजिक सुरक्षा भत्ताको रकम प्रदान गर्न रोकेर राखेको छ । झण्डै डेढमहिनासम्म बैंकले सेवाग्राहीको खातामा रकम हस्तान्तरण नगरी आफ्नो खातामा राख्दा सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीले मर्कामा परेको गुनासो गरेका छन् । 

बेनी नगरपालिकाले सामाजिक सुरक्षा भत्तावापतको दोस्रो चौमासिक रकम गत माघ १६ गते चेकमार्फत कृषि विकास बैंकमा निकासी पठाए पनि भुक्तानीको जिम्मा पाएको कृषि विकास बैंकले सो रकमलाई वितरण नगरी राखेको बेनी नगरपालिकाका कार्यकारी अधिकृत छविलाल सुवेदीले बताउनुभयो । 

बेनी नगरपालिकाका १० वडामध्ये ८ वटा वडाको ज्येष्ठ नागरिक (अन्य) जेष्ठ नागरिक(दलित) एकल महिलालाई कृषि विकास बैंकमार्फत सामाजिक सुरक्षा भत्ता उपलब्ध गराइँदै आएको कार्यकारी अधिकृत सुवेदीले जानकारी दिनुभयो । 

सामाजिक सुरक्षा भत्ता लिनका लागि बिहान ९ बजेदेखि नै लाइनमा बस्नुभएकी बेनी नगरपालिका–४ सिङ्गा तातोपानीकी दिलमती श्रीषले दिउँसो २ बजेसम्म पनि रकम नपाएको गुनासो गर्नुभयो । ‘‘बरु पहिला गाउँमा नै गएर सचिवले दिन्थे सजिलो हुन्थ्यो, अहिले त अनेक झण्झट भएको छ’’ उहाँले भन्नुभयो । 

बेनी नगरपालिकाको सामाजिक सुरक्षा शाखाका अनुसार बेनी नगरपालिका क्षेत्रमा ज्येष्ठ नागरिक (अन्य) एक हजार ५७४, ज्येष्ठ नागरिक (दलित) ४४४, एकल महिला २६५ र ५८९ जना विधवाले सामाजिक सुरक्षा भत्ता पाउँछन् । 

रासस

धुवसागर शर्मा 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित