प्रेरणादायी जापानी स्वयंसेवीको सेवा - SamacharpatiSamacharpati        

प्रेरणादायी जापानी स्वयंसेवीको सेवा

काठमाडौँ, १ चैत । सुन्दर गुरुड हो उहाँको नेपाली नाम । जस्तो नाम रोज्नुभएको छ तनहुँ जिल्लालाई त्यस्तै सुन्दर बनाउने सपना बोकेर निरन्तर खटिनुभएको छ, जापानी नागरिक ताइकाइ नागिरा जिल्लावासीकोे स्वास्थ्य सुरक्षा तथा वातावरण सुधारका लागि । विगत २० महीनादेखि दिनरात खटिनुभएका उहाँले व्यास नगरपालिका तथा दमौली अस्पतालको फोहरले प्रदूषित मादी नदी सफा बनाउन नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको हो ।

अस्पताललाई व्यवस्थित बनाउन स्वयंसेवी सुन्दरले सिरिञ्जलाई पुनःप्रयोगका लागि छुट्टै बक्समा राख्न र कुहिने, नकुहिने तथा रगतजन्य फोहरलाई छुट्टाछुट्टै बाल्टिनमा राख्न लगाउनका साथै आफूले गरेको फोहर आफैँले सफा गनुपर्ने बानीसमेत सिकाउनुभएको छ । अस्पताललगायत नगरपालिकाबाट उत्सर्जित फोहरमध्ये मादी नदी किनारमा खाल्डो खनी पुर्ने गरिएको र नकुहिने प्लाष्टिकलगायत फोहर सङ्कलन गरेर बिक्री गर्न थालेपछि नगरपालिकाकाले मासिक रु ४५ हजारसम्म आम्दानी गर्दै आएको त्यहाँका सरसफाइ शाखाका अधिकत भाग्यशाली ढुङ्गाना बताउनुहुन्छ । फोहरले दुर्गन्धित उक्त नदीमा अहिले सफा पानी बग्न थालेको छ । 

जापान सहयोग नियोग९जाइका०मार्फत नेपाल आउनुभएका सुन्दर भन्नुहुन्छ, “२० महीनाको अवधिमा वातावरण सुधार मात्र होइन त्यस जिल्लाको दुर्गम गाउँका ३० भन्दा बढी सामुदायिक विद्यालयका विद्यार्थीलाई मिचीमिची हातधुने तरिका सिकाउँदा विद्यार्थीले आफ्नो नाम मिचीमिची सर पनि राखेका छन् ।” स्वयंसेवी सुन्दरले पुर्याउनुभएको योगदानले अस्पतालमा निकै सुधार भएको उक्त अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सुनिल पौडल बताउनुहुन्छ ।

त्यस्तै आफूनो नेपाली नाम निरु थापामगर बताउनुहुने रुत्सुको ओनिजुका पनि सोही जिल्लाको घिरिड र हिसिड गाउँपालिका तथा भिमाद नगरपालिकामा समूहसमूह बनाएर जलाधार संरक्षण, कुखुरा तथा बाख्रापालन, चकटी तथा कुच्चो निर्माण, मासिक बचतजस्ता काममा महिलालाई उत्प्रेरित गर्नाका साथै व्यवसायमूलक तालीम दिने र बेलाबखत बैठक बसी सहभागीहरूको स्वमूल्याङ्कन गर्ने परिपाटी बसाल्नुभएको छ । 

“निर्माण गरिएका केही सामानले बजार नपाउँदा केही महिलाले आफूलाई यो काम गर्न झ्याउ लाग्यो अब के गर्ने भनेर गुनासो गरेकाले मैले पनि इच्छा लागेकको वैकल्पिक व्यवसाय अपनाउन सुझाएकी थिएँ तर पछि सामान विक्री हुन थालेपछि उनीहरू आफूले गरेको काममा उत्साही भएर लाग्दै आएका छन्”, उहाँ भन्नुहुन्छ । आफ्नो आम्दानीको केही रकम सामूहिक बचत गर्दै आएका महिला अहिले बचत कोषबाट सापटी लिएर थप आयआर्जन गर्ने र घरायसी गर्जो टार्ने गर्दै आएका छन् ।

दश वर्षअघि नेपाल आउनुभएका अर्का जापानी सुसाकी मासाहिरोले नेपालमै घरजम गर्नाका साथै दुर्गम पोखरास्वर गाउँपालिकास्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई हिसाब र विज्ञान विषय पढाउँदै आउनुभएको छ । अधिकांश हुने खाने विद्यार्थी पोखरा बजारमा आएर पढ्ने गरेकाले त्यस सामुदायिक विद्यालयमा अहिले मुस्किलले २० विद्यार्थी अध्ययनरत भए पनि उहाँले त्यस विद्यायलाई एउटा नमूना विद्यालयका रूपमा विकास गर्ने अठोटका साथ काम गर्दै आउनुभएको छ । 

नेपाली माटो, हावा र पानी, प्राङ्गारिक मल र बीउबिजन त नेपाली नै हो तर उमार्ने तरिका मात्र फरक छ यही फरक तरिकाले एउटै बोटबाट तीनगुणा बढीसम्म तरकारी उमार्न सक्ने ज्ञान कास्की र स्याङ्जाका किसानलाई दिलाउनुभएको छ अर्का वरिष्ठ स्वयंसेवी मारियाकी साकामोटोले । कास्कीका कृषक गोविन्द बुढा र देव श्रेष्ठले जापानी तरिका अपनाउँदा उब्जनी तीन गुणाले बढ्नाका साथै लामो समयसम्म फल दिने र रोगका किरालेसमेत कम असर गर्ने गरेको बताउनुहुन्छ 

त्यस्तै नेपालमा ह्याण्डबल खेलको विकास र विस्तारमा सक्रिय हुनुहुन्छ स्वयंसेवी प्रशिक्षक केन्जी इशिहारा पनि । नेपाल ह्याण्डबल सङ्घका अध्यक्ष तेज गुरुड यो खेल नेपालमा लोकप्रिय हुँदै गएकाले अन्य जिल्लामा पनि यसलाई विस्तार गर्ने योजनामा आफू रहेको जानकारी दिनुहुन्छ । 

नेपाल र नेपालीको जीवनस्तर उकास्न मरिमेटने यी जापनी नारिक अर्थोपार्जनका लागि नेपाल आएका होइनन् । जापानी ज्ञान, शीप र प्रविधि दुर्गम ग्रामीण भेगसम्म पुगेर विस्तार गर्ने र नेपालका राम्रा कुराको ज्ञान लिनाका साथै सांस्कृतिक तथा पारस्पारिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले आएका हुन् । जापान सरकारले जाइकामार्फत आफ्ना नागरिकलाई दुई वर्षका लागि नेपाललगायत अन्य विकासोन्मुख मुलुकमा गएर काम गर्न निश्चित रकम (टोकन मनी) दिएर पठाउने गरेको छ भन्नुहुन्छ जाइका नेपालका प्रमुख सल्लाहकार सुनिलकुमार भट्टचन ।

नेपाल सरकारसँगको समन्वयमा जिल्लाका विभिन्न भागमा कृषि, शिक्षा, स्वास्थ्य, वन, वातावरण, जलविद्युत्, सडक, खानेपानीलगायत थुपै क्षेत्रमा सहयोग पुर्याउँदै आएको जाइकाले पोखरामा रु छ करोडको लागतमा खानेपानी आयोजना र काठमाडौँको थानकोटदेखि नौविसेसम्म मोटर सञ्चालन हुने टनेल निर्माण गर्ने योजनामा पनि रहेको उहाँ जानकारी दिनुहुन्छ ।

जापान वैदेशिक सहयोग स्वयंसेवी९जेओसिभी० मार्फत जाइकाले नेपालमा सन् १९७० देखि आर्थिक तथा प्राविधिक सहयोगसमेत उपलब्ध गराउँदै आएको र त्यस्तो सहयोगका क्षेत्रमा अहिलेसम्म ६६९ पुरुष र ५६१ महिला गरी एक हजार २३० स्वयंसेवी सहभागी भइसकेको सोही संस्थाका वरिष्ठ कार्यक्रम अधिकृत राघव कायस्थ बताउनुहुन्छ । 

रासस

मदन गौतम 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित