रुपा गाउँपालिकाका प्रधानाध्यापकहरुको नमुना विद्यालय अवलोकन भ्रमण - SamacharpatiSamacharpati        

रुपा गाउँपालिकाका प्रधानाध्यापकहरुको नमुना विद्यालय अवलोकन भ्रमण

पोखरा, १ चैत्र । कास्कीको रुपा गाउँपालिकामा रहेका सम्पूर्ण विद्यालयका प्रधानाध्यापकहरुको एक दिने नमुना विद्यालय अवलोकन भ्रमण सम्पन्न भएको छ । गाउँपालिकाभित्र सञ्चालित ३२ ओटै आधारभूत तथा माध्यमिक सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुसँगै विद्यालय व्यवस्थापन समितिकिा अध्यक्ष र वडाअध्यक्षहरुलाई पनि तनुहँको दमौलीस्थित सत्यवती माध्यमिक विद्यालयको भ्रमण गराइएको हो । गाउँपालिकाका शिक्षा शाखा प्रमुख भोजराज न्यौपानेले गाउँको विकास गर्ने हो भने सर्वप्रथम शिक्षा र स्वास्थ्यको विकास गर्नुपर्ने निष्कर्षसहित गाउँपालिकाले अभियान अघि बढाएको जानकारी दिएका थिए ।

गाउँपालिकाभित्रका विद्यालयको चौतर्फी विकासका लागि अन्य नमुना विद्यालयबाट केही सिक्ने अवसर प्रदान गर्ने उद्देश्यले अवलोकन भ्रमण आयोजना गरिएको न्यौपानेले बताए । उनले सिकेका सकारात्मक कुरालाई आफ्ना विद्यालयमा लगेर कार्यान्वयन गर्नसमेत प्रधानाध्यापक र अध्यक्षहरुलाई आग्रह गरे । भ्रमणमा सहभागीहरुको जिज्ञासाको जवाफ दिँदै सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारीले सामुदायिक विद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने हो भने धेरै समस्याको समाधान हुने जिकिर गरेका थिए ।

विद्यालयको कुनै पनि पदमा बस्नुको उद्देश्य आफ्ना मान्छेलाई जागिर खुवाउने मात्रै भयो भने त्यो हानिकारक हुने भन्दै उनले हाम्रालाई होइन, राम्रालाई विद्यालयमा प्रवेश गराउनुपर्नेमा जोड दिएका थिए । अधिकारीले सामुदायिक विद्यालयको विकासका लागि समुदायको सहयोग, प्रधानाध्यापकको कार्यकुशलता, स्टाफको सकारात्मक समन्वय र व्यवस्थापन समितिको उचित निगरानी आवश्यक पर्ने अनुभव सुनाएका थिए । सत्यवतीको उन्नति हुनुमा अभिभावकको सकारात्मक साथ नै प्रमुख कडीका रुपमा रहेको उनको भनाइ थियो ।

विद्यालयको शैक्षिक तथा भौतिक वातावरण अवलोकनसहित आयोजना गरिएको अन्तरक्रिया कार्यव्रmममा विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले २७ सयभन्दा बढी विद्यार्थी रहेको विद्यालयमा सरकारी दरबन्दीबाहेक ४९ जना निजी शिक्षक रहेको जानकारी दिए । अभिभावकको सहयोगबाट विद्यालयले चौतर्फी विकासमा सहजता महसुस गरेको भनाइ पौडेलले राखेका थिए । कार्यक्रममा रुपा गाउँपालिका वडा नं। ३ का वडा अध्यक्ष रामजी अधिकारी, रामकोट स्रोत केन्द्रका पूर्व स्रोत व्यक्ति हेमराज आचार्य, शिवालय माविका प्रअ रुपिन्द्र प्रभावी, रामकोट माविका विव्यस अध्यक्ष निर्मला सुवेदी, नवीनबाबु पौडेल, राजेन्द्र भट्टराईलगायतले जिज्ञासा राखेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित