कृषिबाटै आत्मनिर्भर

गलेश्वर २५ फागुन । तरकारी, फलफूलसहितका व्यावसायिक खेती गरेर यहाँका किसान कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् ।

चर्चित अन्नपूर्ण पदमार्गले छोएको म्याग्दीको अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला, धौलागिरि गाउँपालिका र बेनी नगरपालिकाका विभिन्न गाउँका तीन हजारभन्दा बढी जनता विभिन्न बाली, व्यावसायिक तरकारी तथा फलफूल खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् । म्याग्दीले पछिल्लो समय उद्यमी र कृषकको जिल्ला भनेर आफ्नो परिचय दिएको छ । दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफलमा फैलिएको जिल्लामा ३० हजार ८५६ हेक्टर जमीन खेतीयोग्य रहेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

एक लाख १३ हजार ६४१ जनसङ्ख्या रहेको जिल्लाको ३२ प्रतिशत जनसङ्ख्या पूर्णरुपमा कृषिमा आश्रित रहेको भए पनि अधिकांशले व्यावसायिकरुपमा उत्पादन गर्न सकेका छैनन् । करीब सात प्रतिशत जनताले व्यावसायिकरुपमा नै कृषि पेसा अङ्गालेर राम्रै कमाइ गर्न सफल भएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको हिस्तान दोसल्ले, राम्चे, मङ्गलाको बाबियाचौर, अर्मन, बरङ्जा, कुँहू, धौलागिरिको ताकम, मालिकाको बीम, दरबाङ, ओखरबोट, रघुगङ्गाको पिप्ले, भगवती, बेग, झीँ, पात्लेखेत र बेनी नगरपालिकाको रत्नेचौर, ज्यामरुककोट, भकिम्ली, सिंगालगायतका गाउँका कतिपय जनता कृषिबाट नै आत्मनिर्भर बन्दै गएका छन् । उनीहरुले विदेशमा भन्दा राम्रो कमाइ गर्न सफल भएका त्यस क्षेत्रका जनप्रतिनिधिको भनाइ रहेको छ ।

ती गाउँमा व्यावसायिकरुपमा तरकारी र फलफूल खेती गरिएको छ । तरकारीमा आलु, गोलभँेडा, साग, लहरे प्रजातिका तरकारी बढी उत्पादन हुने गरेको छ । जिल्लाका दोसल्ले, बरङ्जा, विम, भकिम्ली, राखु, बास्कुनालगायतका गाउँमा सुन्तला बेचेर नै वार्षिकरुपमा रु पाँच करोडभन्दा बढी जिल्लामा भित्रिने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

त्यसैगरी बेनी नगरपालिका–२ खबराको एउटै गाउँमा केरा बेचेर मात्र गत वर्ष रु ५० लाखभन्दा बढी आम्दानी भएको खबराका अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो । म्याग्दीमा तरकारी र फलफूलबाट वार्षिक रु ४७ करोड भन्दा बढी आम्दानी हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।

बेनी नगरपालिका–२ खबराका कृषक शोभित सापकोटाले कृषि आफ्नो लागि वरदान सावित भएको बताउनुभयो । छ वर्ष अघि के खाउँ र के लाउँको अवस्थामा रहेका सापकोटा अहिले कृषिबाट नै रु एक करोडभन्दा बढीको सम्पत्ति जोड्न सफल हुनुभएको छ । त्यसैगरी बास्कुनाका तिलक गुरुङ, खबराका चन्द्रवहादुर कार्की, दोसल्लेकी सुनमाया पुन, अर्मनकी टीकाकुमारी सापकोटालगायतका कृषकले व्यावसायिक कृषिबाट नै राम्रै आम्दानी गर्न सफल हुनुभएको छ ।

मेलामा बचेको रकम गरीबलाई सहयोग

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको सानालेखमा रहेको लेखसाइड युथ क्लबले आफ्नो वडाभित्रका तीन विपन्न परिवारलाई जनही रु पाँच÷पाँच हजार सहयोग गरेको छ ।

क्लबमा आबद्ध युवाले देश विदेशमा रहेका ज्यामरुककोटेबाट सहयोग सङ्कलन गरी विभिन्न सामाजिक कार्यका अतिरिक्त गरीब, बिरामी र बेसहारा व्यक्तिलाई सहयोग गरेका हुन् । गत सोमबार सम्पन्न दोस्रो महाशिवरात्रि मेलाबाट बचेको रकम वडाका तीन जना अति विपन्न परिवारलाई जनही रु पाँच÷पाँच हजारका दरले सहयोग गरिएको क्लबका अध्यक्ष कृष्णबहादुर थापाले बताउनुभयो ।

थापाका अनुसार आफ्ना छोरा बुहारीले दुई जना नातिसहित छोडेर गएपछि बेसहारा बनेकी जमुना विकलाई रु पाँच हजार, गत असोजमा घर लिप्ने रातो माटो खन्ने क्रममा मड्किनोमा पुरिएर मृत्यु भएकी कल्पना बोहोराको परिवारलाई रु पाँच हजार र बेनपा–२ गौश्वारा निवासी भद्रबहादुर किसानको परिवारलाई रु पाँच हजार सहयोग गरिएको हो ।

युवा क्लबमा आबद्ध युवाले परम्परागत संस्कृतिको संरक्षण र खेलकूदको विकास गर्ने उद्देश्यले गाउँमा खेलमैदान र युवा क्लबको आफ्नै भवनसमेत निर्माण गरेका छन् । गाउँमा रहेका र गाउँबाट देश विदेशका विभिन्न स्थानमा अध्ययन वा रोजगारीका लागि गएका युवाबाट सहयोग जुटाएको रु दुई लाख र बाँकी श्रमदान गरेर प्याराफिटसहितको खेल मैदान निर्माण गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

कार्यक्रम सम्पन्न गर्न रु पाँच लाख सहयोग सङ्कलन भएको थियो । “आफ्नो गाउँमा संस्कृति संरक्षणका लागि मेलाको आयोजना गरिएको खुशीमा देश विदेशमा रहेका ज्यामरुककोटवासीबाट स्वतःस्फुर्तरुपमा उल्लेख्य सहयोग प्राप्त भएको छ”, अध्यक्ष थापाले भन्नुभयो ।

रासस :- ध्रुवसागर शर्मा

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top