‘सन्तान नभएकाहरु रातभरी जाग्राम’ सन्तान देखाउने र माग्नेको भिड - SamacharpatiSamacharpati        

‘सन्तान नभएकाहरु रातभरी जाग्राम’ सन्तान देखाउने र माग्नेको भिड

लमजुङ, २३ फागुन । लमजुङको मध्यनेपाल नगरपालिका ६ करापुटारमा रहेको इशानेश्वर (सन्तानेश्वर) महादेव मन्दिरमा शिवरात्रिका दिन सोमबार दिनभर दूध चढाउने र रात भर ठाडोबत्ती बाल्नेहरुको भिड लाग्यो । करापुटारस्थित इशानेश्वर महादेव मन्दिर काठमाण्डौंको पशुपतिनाथ पछिको धेरै भक्तजनहरुको घुइँचो लाग्ने पवित्र तिर्थस्थल हो ।

इशानेश्वर महादेवलाई सन्तानेश्वर महादेवको रुपमा पनि पुज्ने चलन छ । इशानेश्वर महादेवको दर्शन गरी पूजा अर्चना गरेमा सन्तान नहुनेलाई सन्तान प्राप्त हुने विश्वास गरिन्छ । महाशिवरात्रीको अवसर पारी लामो समयअघिदेखि सन्तान नभएका सयौं दम्पतीहरु मन्दिर परिसरमा रातभरी जाग्राम रही ठाडो बत्ती बालेका छन् । रातभरी जाग्राम भई ठाडो बत्ती बालेमा सन्तान लाभ हुने भएकोले बत्ती बाल्नका लागि काठमाण्डौं, पोखरा, चितवन, तनहूँ, पर्वत, स्याङजा, नवलपरासीदेखिका भक्तजनहरु लमजुङको करापुटार आएका थिए ।

हजारौंको भीड पार गर्दै पोखरा लेखनाथ महानगरपालिका १८ कास्कीका दिपा कार्की र दिपक कार्कीले सोमबार आफ्नो पहिलो सन्तान लमजुङको सन्तानेश्वर महादेवलाई देखाए । विवाह भएको ५ वर्षसम्म सन्तान नभएपछि तिनवर्ष अघि यहाँ ठाडोबत्ती बाल्न आएकी थिइन्। ‘यहाँ बत्ती बालेपछि सन्तान हुन्छ भन्ने सुनेकी थिएँ’, दिपाले भनीन् ‘नभन्दै बत्ती बालेपछि सन्तान पनि भयो । अहिले भगवानलाई देखाउन ल्याएँ ।’

उनीमात्र होइन बाग्लुङकी कल्पना आचर्यको विवाह भएको ८ वर्ष सम्म सन्तान नभएपछी उनी ४ वर्ष अघि लमजुङको सन्तानेश्वर मन्दीरमा ठाडो बत्ती बाल्न आइन् । बत्ती बालेको ५ महिनामा नै उनको छोरा भयो । यसवर्ष छोरा शिवसँगै उनी मन्दीर आएकी थिइन् । विगत लामो समयअघि देखि सन्तान प्राप्ती नभएको र सन्तानेश्वर महादेव मन्दिरमा आएर रातभर जाग्राम बसी ठाडो बत्ती बालेपछि सन्तान प्राप्ति भएको आचर्य बताउँछिन् । उनीहरु मात्र होईन, सन्तान जन्माउने आशा गर्दै थुप्रै भक्तजनहरु ईशानेश्वर महादेब मन्दिरमा ठाडा बत्ती बाल्न आएका थिए । सन्तान प्राप्तिको आशका साथै मनोकाङ्क्षा पुरा हुने भएकाले ठाडो बत्ती बाल्न चितवनकी सरिता थापा पनि लमजुङको करापुटार आएकी थिइन् ।


एक हजार ५ सयले ठाडो बत्ती बाल्ने
ईशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीका अनुसार यसवर्ष इशानेश्वर मन्दिरमा १ हजार ५ सय बढीले ठाडो बत्ती बालेका छन् । गएको वर्ष मन्दिरमा १ हजारले ठाडो बत्ती बालेका थिए । त्यस्तै यसवर्ष ७ हजार बढीले वसेर वत्ति बालेका छन् । करीब ६०० वर्ष अघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् । विसं १४१४ मा तत्कालीन लमजुङका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यसबेलादेखि आजसम्म श्रद्धालु भक्तजनद्वारा पूजाअर्चना हुँदै आएको समितिका अध्यक्ष शास्त्रीले बताए ।

प्राचीनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ । किंवदन्तीअनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रिका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए । मन्दिरमा झ्याल, ढोका र टूडालमा कुँदिएका मूर्ति, चित्र र जडान गरिएका इँटा र ढुङ्गाको अध्ययन एवं विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ । मन्दिरमा वैशाख, साउन र कात्तिक महीनामा टाढाटाढाबाट भक्तजन दर्शनका लागि आउने गरेका छन् । मन्दिरमा प्रत्येक हप्ताको सोमबार शिवजीको विशेष पूजाअर्चना हुने गरेको छ ।

शान्ता कमली

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित