आगलागीबाट ध्वस्त भएको विद्यालय भवन पुनःनिर्माण - SamacharpatiSamacharpati        

आगलागीबाट ध्वस्त भएको विद्यालय भवन पुनःनिर्माण

म्याग्दी, २० फागुन । दुई वर्षअघि आगलागीबाट ध्वस्त भएको बेनी नगरपालिका–४ डाँडाखेतको बाल मन्दिर आधारभूत विद्यालयको भवन पुनःनिर्माण भएको छ । दक्षिण कोरियाको ग्लोबल एजुकेशन फर अल फाउण्डेशन, बेनी नगरपालिका र स्थानीयवासीको रु एक करोड दुई लाख ८४ हजारको लागतमा दश कोठे भवन पुनःनिर्माण भएको हो । भवन पुनःनिर्माण गरिएपछि टहरामा पठनपाठन सञ्चालन गर्नुपर्ने बाध्यताको अन्त्य भएको प्रधानाध्यापक रामप्रसाद शर्माले बताउनुभयो । 

२०७३ फागुन २५ गते विद्युत् सर्ट भएर आगलागी हुँदा आठ कोठे भवन जलेर ध्वस्त बनेपछि अस्थायी टहरा बनाएर पठनपाठन सञ्चालन गरिएको थियो । फाउण्डेशनको रु ४० लाख, समुदायको रु ३५ लाख ५५ हजार र बेनी नगरपालिकाको रु २८ लाख अनुदान सहयोगमा भवन निर्माण गरिएको प्रअ शर्माले बताउनुभयो । 

भवन निर्माणका लागि स्थानीयवासी र प्रवासीबाट चन्दा जुटाएर रु २१ लाखमा जग्गा खरीद गरिएको छ । कक्षा ८ सम्मको पठनपाठन सञ्चालन हुने विद्यालयमा १५४ विद्यार्थी छन् । हाल दक्षिण कोरियामा रहेकी पूर्वविद्यार्थी सङ्गीता कार्की कुँवर र विनोद कुँवरको पहलमा फाउण्डेशनले सहयोग गरेको थियो । 

भवनको आइतबार ग्लोबल फर अल फाउण्डेशनका अध्यक्ष जङ्ग टि योङ र बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले संयुक्तरुपमा उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रममा समन्वयकर्ता कुँवरको पहलमा दक्षिण कोरियामा सङ्कलन गरिएको रु सात लाख ६१ हजार विद्यालयलाई हस्तान्तरण गरिएको थियो । 

दुर्गम गाउँमा खानेपानी आयोजना निर्माण 

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने मालिका गाउँपालिका–४ ओखरबोटको महभिरमा जुगेपानी खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत रु ५६ लाख ३५ हजार १७ को लगानीमा निर्माण भएको आयोजनाबाट महभिर गाउँका ५८ घरधुरी लाभान्वित भएका छन् । 

मालिका गाउँपालिकाले रु पाँच लाख ६३ हजार ५०१, नेपाल सरकारको रु २२ लाख ३५ हजार ९७५ र फिनल्याड सरकारले रु १२ लाख ५७ हजार ७३६ अनुदान उपलब्ध गराएको आयोजना निर्माणका लागि ५८ घरधुरी उपभोक्ताले रु १५ लाख ७७ हजार ८०५ बराबरको श्रमदान गरेका उपभोक्ता समितिका सचिव लालमन शेरपुञ्जाले जानकारी दिनुभयो । 

उपभोक्ताले १६० दिनका दरले श्रम गरेका थिए । आयोजनाको दुई हजार ९७२ मिटर मुख्य र चार हजार १५५ मिटर शाखा पाइपलाइन रहेको छ । भौगोलिक विकटता, ढुवानी र यातायातको असुविधाको बाबजुत निर्धारित समयमै आयोजना निर्माण गरिएको सचिव शेरपुञ्जाले बताउनुभयो । 

यसअघि एक घण्टा लगाएर कुँवाबाट पानी ओसारेर उपभोग गर्दै आएका महभिरवासीको घरघरमा धारा बनेपछि सुविधा भएको स्थानीय चन्द्रमा घर्तीले बताउनुभयो । सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको छ ।

रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित