म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव स्वीकृत - SamacharpatiSamacharpati        

म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव स्वीकृत

म्याग्दी १९ फागुन । म्याग्दीलाई हिमाली जिल्लाको मान्यता दिने प्रस्ताव समेटिएको ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५’ सङ्घीय संसद्को दुवै सदनबाट स्वीकृत भएको छ । जिल्ला समन्वय समिति, गण्डकी प्रदेश सरकार, प्रतिनिधिसभा हुँदै शनिबार राष्ट्रियसभाबाट प्रस्ताव स्वीकृत भएको हो । राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन कार्यान्वयन हुने प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाले जानकारी दिनुभयो । 

सांसद थापाले म्याग्दीको गुमेको भौगोलिक पहिचान स्थापित भएको बताउनुभयो । “राष्ट्रियसभाले प्रस्ताव स्वीकृत गरेकाले म्याग्दी अब हिमाली जिल्लामा सूचीकृत हुने निश्चित भएको छ”, सांसद थापाले भन्नुभयो, “म्याग्दीवासीका लागि गौरवको महत्वपूर्ण राजनीतिक र नीतिगत उपलब्धि हो ।” 

आधा दर्जन हिमाल अवस्थित र भौगोलिक विकटतालाई आधार मानेर म्याग्दीलाई हिमाली जिल्लाको पहिचान दिनुपर्ने आवाज उठ्दै आएको थियो । हिमाल नजिकका बस्ती पहाडी भेगमा सूचीकृत हुँदा राज्यले हिमाली भेगका अन्य जिल्लाका बासिन्दालाई दिने सेवासुविधाबाट म्याग्दीका दुर्गम बस्तीका बासिन्दा बञ्चित भएका छन् । 

हिमाली जिल्ला भएपछि स्थानीय तहलाई सङ्घीय र प्रदेश सरकारले दिने अनुदान र कर्मचारीको सेवासुविधा बढेर आकर्षित हुने वातावरण बन्ने जिसस प्रमुख देवेन्द्र केसीले बताउनुभयो । धवलागिरी गाउँपालिकाको मुदी, गुर्जा, मल्कवाङ, रघुगङ्गाको कुइनेमङ्गले, चिमखोला, अन्नपूर्णको नारच्याङ र शिखको भूभाग हिमालसँग जोडिएको छ । संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि प्रथमदेखि छैटौँसम्मका चुचुरासँगै मानापाथी, गुर्जा, चुरेन, पुथा, अन्नपूर्ण प्रथम, बराह शिखर, निलगिरि हिमालको दक्षिण र पूर्वी मोहडा म्याग्दीको भूगोलमा समेटिएको छ । हिमाल भएको म्याग्दी जिल्लाको पहिचान नै दबाइएका कारण पनि जिल्लामा पर्यटन रोयल्टीसमेत न्यून मात्रामा आउने गरेको छ । 

धर्मशाला निर्माण 

एक व्यवसायीको आर्थिक सहयोगमा बेनी नगरपालिका–९ गलेश्वरमा तीर्थयात्री निवास भवन (धर्मशाला) निर्माण भएको छ । काठमाडौँको होटल र्याडिसनका सञ्चालक स्व गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको सहयोगमा छकोठे भवन निर्माण भएको हो ।

रु ६५ लाख लगानीमा गत हप्ता निर्माण सम्पन्न भएको भवनलाई यसै यामदेखि सञ्चालनमा ल्याइने गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताउनुभयो । दुईतले भवनमा एक दिनमा १०० बास बस्न सक्ने क्षमता छ । हिन्दू तथा वौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारको रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गरिएको कोषका कार्यालय सचिव राम बानियाँले बताउनुभयो । 

नयाँ निर्माण भएको तीर्थयात्री निवास भवनमा फर्निचर र आवासीय पूर्वाधार व्यवस्थापन गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको कार्यालय सचिव बानियाँले बताउनुभयो । नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक ५०० तीर्थयात्री बास बस्न सक्ने भएका छन् । हाल ४०० बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । 

रासस

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित