राष्ट्रिय कृषक महासंघ गण्डकीको अध्यक्षमा गिरी प्रसाद पौडेल चयन

समाचारपाटी, पोखरा, १३ फागुन । राष्ट्रिय कृषक महासंघ नेपाल गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका गिरी प्रसाद पौडेल निर्वाचित हुनुभएको छ । पोखरामा सोमबार आयोजित प्रथम अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

समितिको उपाध्यक्षमा बाग्लुङका गंगा थापा मगर, सचिवमा स्याङ्जाका सिताराम पौडेल, सहसचिवमा तनहुँका रोम बहादुर बिक, कोषाध्यक्षमा गोरखाका लुना थापा मगर चयन हुनुभएको हो । समितिको सदयस्यमा स्याङ्जाका सिता पुरी, नवलपुर तिलक प्रसाद कँडेल, नवलपुरकै देवी घिमिरे, तनहुँका सुर्य कुमारी कोईराला, कास्कीका भगवती चापागाई, बाग्लुङका नविन केसी, गोरखाका झकल बहादुर थापा र गोरखाबाटै मिना वाग्ले चयन हुनुभएको छ ।

त्यस्तै अधिवेशनले ३ सदस्यीय लेखा समिति पनि चयन गरेको छ । जसमा नवलपुरका बसन्त पौडेल संयोजक रहनुभएको छ भने, गोरखाका भरत ढकाल र बाग्लुङका सोविता कार्की सदस्यमा रहनुभएको राष्ट्रिय समितिका महासचिव नवराज बस्नेतले जानकारी दिनुभयो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका भुमिव्यवस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले देशको समृद्धि कृषि र कृषकको विकास भएमात्र सम्भव रहेको बताउनुभएको छ । प्रदेशमा कृषि क्षेत्रको विकासका लागि मन्त्तालयले योजनावद्ध रुपमा उत्पादन बढाउन काम गरिरहेको थापाको भनाई रहेको छ ।

मन्त्री थापाले कृषिको विकासको लागि कृषक समुहको महत्वपुर्ण भुमिका रहने उल्लेख गर्नुभएको हो ।

“हामीसंग उत्पादनयोग्य जमिन हुदा हुँदै पनि आयात बढीरहेको छ, यसलाई न्युनिकरण गर्न हामीले कृषक र संघसंस्थासंग सहकार्य गरी उत्पादन बढाउने तर्फ लागिरहेका छौँ,” मन्त्री थापाले भन्नुभयो – “प्रविधिको उच्चतम प्रयोग गरेर कृषि उत्पादन बढाउने तर्फ मन्त्रालयको योजना र कृषकको सचेतना बढाउनु आवश्यक छ ।” मन्त्रालयले अहिले कृषकहरुको सुविधाको लागि प्रत्येक जिल्लामा पशु अस्पताल स्थापना गर्ने तयारी भईरहेको बताउनुभयो । उहाँले कृषक समुहले गाउँगाउँमा संगठित भएर कृषिमा परिवर्तन गर्न सक्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले कृषिमा बजेट बढीरहेको र उत्पादन तुलनात्मक रुपमा नबढेकोले चुनौती थपिएको बताउनुभयो । उहाँले उत्पादन बढाउनको लागि बाँजो जग्गा कृषि उत्पादनको लागि उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा कास्की कृषि सहकारी संस्थाका अध्यक्ष शिवजी कोईराला, पत्रकार डा. रामचन्द्र बराल, कृषि विज्ञ युधीष्ठिर शर्मा लगायतले कृषि, कृषक र कृषि विकास ऐनबारे आफ्नो धारणा व्यक्रि गरेका थिए । कार्यक्रममा कृषि विकास ऐनमा भएका व्यवस्थाको बारेमा कोषाध्यक्ष रिता बस्ताकोटीले जानकारी गराउनुभएको थियो । महासंघका राष्ट्रिय उपाध्यक्ष भक्त बहादुर बस्नेतले महासंघको स्थापना, गरिरहेका काम र कार्यक्रमको औचित्यमाथि प्रकास पार्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका ६ जिल्लाका ७२ कृषकहरुको सहभागिता रहेको थियो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top