आलेख :- दशावतार बालन जोगाउँदै रामपुरवासी - SamacharpatiSamacharpati        

आलेख :- दशावतार बालन जोगाउँदै रामपुरवासी

पाल्पा, ७ फागुन । दक्षिण एशियाभरमै एउटै मात्र रहेको ठानिएको दशावतार बालन लोक नाटकको अस्तित्व बचाई राख्न रामपुरवासी जुटेका छन् । लोक नाटक विधाअन्र्तगत पर्ने भगवान्का दशै अवतार समेटिएको बालनको संरक्षणमा रामपुरका स्थानीयवासीको सक्रियता देखिएको छ ।

पाल्पाको रामपुर नगरपालिकामा मात्र रहेको दशावतार बालनको मञ्चन पौराणिक कालदेखि नै भइआएको विश्वास गरिन्छ । पछिल्लो समय यसको अस्तित्व नै मेटिँदै जान थालेपछि रामपुरवासी जोगाउने प्रयासमा लागेका हुन् । बालनमा हिन्दू धर्मग्रन्थअनुसार दशवटा अवतारका भगवान्ले गर्ने विभिन्न लीलालाई देखाइने गरिन्छ । बालन खासगरी ब्राह्मण, क्षेत्री समुदायका व्यक्तिको सहभागितामा परापूर्वकालदेखि नै गाउँघरमा देखाउने गरेको इतिहास छ ।

भगवान्का दशावतारमा मत्स्य, कूर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध र कल्की अवतार रहेका छन् । यी १० अवतारमा फरक फरक पात्र गीत, अभिनय र नृत्यका माध्यमबाट नाटकमा प्रस्तुत हुने गर्दछन् । दशावतार बालनको समग्र कथावस्तु अनुसार नाटक प्रस्तुत गर्न तीन रातको समय लाग्छ । गाउँघरमा हुने रूद्री पूजा, सत्यनारायण पूजा, न्वारान, छैटीमा रातभर बालन देखाउने चलन छ । यस नाटकमा अभिनय गर्ने सबै पात्र पुरूष मात्र हुन्छन् । पुरूषले कथाले मागे अनुसारका दौरा सुरूवाल, महिलाको साडी, चोलो, पटुका लगायतका वेशभूषा लगाएर नाटकमा भगवान्का रुपमा प्रस्तुत हुने गर्दछन् ।

पृथ्वीलाई जोगाई राख्न भगवान्ले वेदको सिर्जना गरे । त्यो वेद सरल र सुबोध नभएकाले बोधगम्य बनाउन ब्रह्मा, विष्णु र शिवले सल्लाह गरेर बालन नामको लोक नाटक उत्पत्ति गरे । त्यस नाटकलाई नै दशावतार बालनका नामले नामाकरण गरिएको हो भन्ने जनविश्वास छ । खासगरी यस नाटकमा पृथ्वीको बचाऊ अभियान, सत्य कर्म वा असत्य कर्म गर्दा हुने फाइदा र बेफाइदा, त्रेता युगमा भगवान्ले गरेका विभिन्न लीलाहरूलाई प्रस्तुुत गर्ने गरेको पाइन्छ ।

यहाँ देखाइने दशावतार बालनमा ३५ जना कलाकारले आ–आफ्नो वेशभूषामा आएर गीत, नृत्य र अभिनय प्रस्तुत गर्दछन् । बालनमा वर्णित ३५ पात्रमध्ये एकजना व्यास अर्थात् निर्देशक रहन्छन् । व्यासले नाटक मञ्चनको शुरूआतदेखि अन्तसम्म निर्देशन गरेपछि मात्र अन्य पात्रले आफ्नो भूमिका क्रमैसँग प्रस्तुत गर्ने चलन छ ।

समाजमा शिक्षा प्रदान गर्न, धर्म बचाई राख्न, मनोरञ्जन प्रदान गर्न र परम्परालाई धान्न बालन लोक नाटकलाई संरक्षण गर्दै देखाउने गरिएको नाटकका व्यास अर्थात् धर्मोदय दशावतार बालन साँस्कृतिक समूहका अध्यक्ष लक्ष्मीचन्द्र पंगेनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “आफूले जानेबुझेदेखि नै बालनमा आबद्ध रहेर अभिनय गर्दैआएको छु । अहिले अभिनयका साथसाथै व्यासको काम पनि गरेको छु ।”

नेपालका तीन÷चार जिल्लामा छिटफुट रूपमा बालनका दश अवतारमध्ये दुई÷तीन अवतारको मात्र बालन मञ्चन भइआए पनि विधिपूर्वक दशावतार समेटिएको एक मात्र बालन रामपुरकै रहेको पंगेनीको दाबी छ ।

बालनमा रहेका पात्रले भगवान्का वेशभूषा लगाएर उनैले प्रयोग गर्ने सामग्रीसहित मञ्च स्थलभित्र प्रवेश गरेर अभिनय गर्ने गर्दछन् । नाटकमा देखाइने झाँकी, भगवान्का लीला, गीत, श्लोक, नृत्यले दर्शकलाई भरपूर मनोरञ्जन दिने गर्छ । बालन लोकनाटक पोखरा, दोलखाको चरिकोट, पाल्पाको तानसेन लगायतका गण्डकी वेंशीका विभिन्न स्थानमा देखाइँदै आइएको छ ।

बालन लोकनाटकका पुराना कलाकार एवं गुरू ८८ वर्षीय मित्रलाल भट्टराई समाजमा जाँड, रक्सी, चुरोट सेवन जस्ता अनैतिक क्रियाकलाप संलग्न रहँदा हुने दुष्परिणामलाई नाटकमा समेटिएको बताउनुहुन्छ । “पहिला–पहिला देखाइने नाटकमा भन्दा अहिले समयको परिवर्तनसँगै केही कुराहरू परिवर्तन गरिँदै अगाडि बढाइएको छ,” उहाँले भन्नुभयो ।

पुरानो पुस्ताले थाम्दै आएको नाटकमा केही समय नयाँ पुस्तालाई नसमेटिँदा लोप हुने अवस्था सिर्जना भइसकेको थियो । अहिले नाटकमा नयाँ पुस्तालाई पनि समावेश गराइएपछि यसले जीवन्तता पाएको छ । महिलालाई बालनमा पहिल्यैदेखि अभिनय गर्न बन्देज लगाइएको छ । पहिला–पहिला महिला घरबाट बाहिर निस्के, परपुरूषसँग बोले समाज र घरपरिवारमा नराम्रो सन्देश जाने गर्छ भन्ने सङ्कीर्ण मानसिकताका कारण आजसम्म पनि पुरूषको मात्र सहभागिता रहने गरेको बताइन्छ ।

विसं २०६६ सालदेखि यता गाउँघरमा हुने मेला, महोत्सव, धार्मिक कार्य, सङ्घसंस्थाको वार्षिकोत्सव जस्ता कार्यक्रमहरूमा दर्शकको मागअनुसार बालनको केही अंश दिउँसोको समयमा पनि देखाउन थालिएको छ । दशावतारमध्ये एउटा अवतारको पूरै भाग सम्पन्न गर्न कम्तीमा पनि एक घण्टादेखि तीन घण्टाको समय लाग्ने कलाकार देवराज अर्याल बताउनुहुन्छ । पहिलाको नाटकमा कथावस्तु, शिक्षा र चेतनाभन्दा पनि मनोरञ्जन मात्र प्रदान गर्नमा केन्द्रित रहने गथ्र्यो भने अहिलेको नाटकमा मनोरञ्जनसँगसँगै समसामयिक विषयवस्तुको जानकारीसँगै शिक्षाप्रद बनाउन खोजिएको देखिन्छ ।

पौराणिक ग्रन्थमा रहेका जीवनोपयोगी तर दुर्बोध्य विषयलाई बालन लोक नाटकले सरल र सहज तुल्याइदिएको लोक साहित्यका अध्येता एवं शहीद बहुमुखी क्याम्पस रामपुरका सहायक प्राध्यापक दयाराम भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “पृथ्वीको उत्पत्तिदेखि वर्तमानसम्म नै हुँदै आएका सत्÷असत् पक्ष बीचको द्वन्द्व, भौतिक रुपमा पृथ्वीमा उत्पन्न भएका आरोह÷ अवरोह, सद्गुण, सदाचार, नैतिकताजस्ता आदर्श पक्षहरू मात्र नभई दुर्गुण, दुराचार, अनुशासनहीनताले मानव सभ्यतालाई भताभुङ्ग पार्न खोजे पनि अन्ततः सत्यकै जीत भएको देखाई सत्यवादी र जीवनप्रति आशावादी बन्न बालनले प्रेरित गर्ने गरेको देखिन्छ ।”

संस्कृति बचाउन आर्थिक सहयोग जुटाएर रामपुर नगरपालिका–७ को साउनेधारामा तीन लाख ३५ हजार रुपैयाँको लागतमा एकतले भवन निर्माण गरिएको बालन समूहका सचिव दुर्गाप्रसाद भट्टराई बताउनुहुन्छ । उहाँ नाटकमा ऋषिमुनिको काम गर्ने जसे, रावणकी बहिनी सुपर्णा खाँ लगायत आवश्यक परेमा अन्य पात्रको समेत अभिनय गर्नुहुन्छ । नाटकमा अभिनय गर्ने पात्रहरूलाई भूमिका अनुसार वेशभूषा लगाइदिने र शृङ्गार गरिदिने उहाँ आफैं गर्नुहुन्छ ।

नाटकमा पार्वतीको भूमिकामा अभिनय गरेर नृत्य प्रस्तुत गर्दै आउनुभएका युवा पुस्ताका कलाकार शिव पाण्डेले बालन आफूलाई नशा जस्तै भएको बताउनुहुन्छ । यस बालनले समाजको विकासमा ठूलो भूमिका खेलेको उहाँ ठान्नुहुन्छ ।

स्थानीय बासिन्दा संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले विसं २०५२ सालमा एकताबद्ध भएर धर्मोदय दशावतार बालन साँस्कृतिक समूह गठन गरेर अगाडि बढेका हुन् । रामपुरमा रहेको बालन लोकनाटकबारे डा कुसुमाकर न्यौपानेले विसं २०६९ मा पुस्तक प्रकाशन गरेपछि यसले चर्चा पाएको छ । यो कृति अमेरिकामा पुरस्कृत पनि भयो ।

रामपुरमा दशावतार बालन केही वर्ष मञ्चन हुनै छोडेको थियो । यसको संरक्षणका लागि रामपुरवासीले ढिलै भए पनि तदारुकता देखाएका छन् । यो सत्प्रयासलाई निरन्तरता दिन जरुरी छ ।

सुशीला रेग्मी RSS

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।

प्रतिक्रिया लेख्नुहोस
सम्बन्धित