महोत्सबको प्रचार प्रसारका लागि करापुटारको टिम चितवनमा

प्रल्हाद चन्द्र घिमिरे, करापुटार, ६ फागुन । मध्यनेपाल नगरपालिका वडा नं. ७ मा रहेको इशानेश्वर महादेव मन्दिर परिसरमा आगामी फागुन १६ गते बाट २२ गतेसम्म आयोजना हुने मध्यनेपाल इशानेश्वर धार्मिक तथा सांस्कृतिक महोत्सबको प्रचारप्रसारका लागि आयोजक इशानेश्वर महादव मन्दिर धार्मिक क्षेत्र विकास समितिको एक टोली प्रदेश नं. ३ को चितवनको नारायणगढमा पुगेको छ ।

टोलीमा चितवनमा लमजुङबाट स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने व्यक्ति र सामाजीक संघसंस्थालाई प्रचारप्रसारमा सहयोग गर्न अनुरोध सहित निमन्त्रणा गरेको महोत्सब प्रचार प्रसार उपसमितिका संयोजक रामचन्द्र सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार अघिल्ला वर्षहरुमा चितवन आसपासबाट करापुटारमा धेरै दर्शनार्थी आउने गरेको भन्दै अहिले महोत्सबमा पनि सो स्थानमा महोत्सबका कार्यक्रमबारे जानकारी गराइएको बताउनुभयो ।

टोलीले चितवनका विभिन्न ठाउँमा पर्चा र ब्यानर टाँस्नुका साथै समाजिक संघसंस्थाका पदाधिकारीलाई सुपारी, रुद्राक्ष र निमन्त्रणापत्र दिएर आफुहरुले निमन्त्रणा गरेको बताउनुभयो ।
प्रचारप्रसारको सो टोली दवघाट, नवलपरासीका विभिन्न ठाउँमा पुग्ने छ ।

महोत्सबको धार्मिक कार्यक्रम अन्तरगत आयोजना हुने श्रीमदभागवत महापुराणमा विश्व विख्यात कथावाचक इश्वर कृष्ण महाराजजी मुख्य बाचकको रुपमा रहनुहुने घिमिरेले जानकारी दिनुभयो । महोत्सब अबधिभर गणेशमन्दीर दर्शन, पार्वता मन्दिर दर्शन, जलेश्वर बराह मन्दिर दर्शन, गौरीशंकर मन्दिर तथा १०८ शिवलिङ्ग दर्शन, जटेश्वर महादेव मन्दिर दर्शनको व्यवस्था गरिएको प्रचार प्रसार समितिका संयोजक रामचन्द्र सोतीले जानकारी दिनुभयो ।

त्यस्तै महोत्सबको खेलकुद कार्यक्रम तर्फ दशौँ करापुटार खुल्ला रनिङशिल्ड राष्ट्रिय भलिवल प्रतियोगिता २०७५ आयोजना हुने भएको छ । यस प्रतियोगिताको सहआयोजक करापुटार क्लब रहेको स।योजक जाकिर हुसेन मियाले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ७० हजार र शिल्ड रहेको छ । त्यस्तै द्धितिय पुरस्कार नगद रु ४० हजार रहेको मियाले बताउनुभयो । प्रतियोगिताको सेमिफाईनलमा पराजित प्रत्येक टिमलाई नगद रु १० हजार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ठ खेलाडिलाई नगद रु ५ हजार, उत्कृष्ठ स्पाइकरलाई नगद रु २ हजार र उत्कृष्ठ लिफ्टर लाई नगद रु २ हजार प्रदान गरिने जनाइएको छ । भलिवल प्रतियोगिताका लागि टिम दर्ता शुल्क २ हजार ५ सय लाग्ने आयोजकले जनाएको छ ।

परम्परादेखि करापुटारमा शिवरात्रीको अवसरमा आयोजना हुने छेलो प्रतियोगिताले यस वर्ष पनि महोत्सबमा निरन्तरता पाउने भएको छ । छेलो प्रतियोगितामा प्रथम हुनेले नगद रु १० हजार र द्धितिय हुनेले नगद रु ५ हजार प्राप्त गर्ने छन् । छेलो प्रतियोगिताको लागि टिम दर्ता निशुल्क गर्न सकिने अयाोजकले जनाएको छ ।

महोत्सबमा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकको भनाई रहेको छ । त्यस्तै गण्डकी प्रदेशकै उत्कृष्ठ संस्कृति मध्येको ऐतिहासीक बालुन नृत्य, झाँकी प्रदर्शन र ठाडोभाका को रमाइलो पनि महोत्सबमा देख्न सकिने ठाडोभाका संरक्षणका अभियान्ता युवराज घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै सोहि अवसरमा राष्ट्रिय लोक भजन संरक्षण प्रतिष्ठानको सहआयोजनामा गण्डकी प्रदेश स्तरीय भजन चुड्का प्रतियोगिता आयोजना गरिएको भजन चुड्का उपसमितिका संयोजक हरीकृष्ण घिमिरेले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम पुरस्कार नगद रु ४० हजार, द्धितिय पुरस्कार नगद रु ३० हजार, तृतिय पुरस्कार स् नगद रु २० हजार र सान्त्वना पुरस्कार नगद ५ हजारको व्यवस्था गरिएको घिमिरेले बताउनुभयो ।

शिवरात्रीको अवसरमा आयोजित सो महोत्सबमा कृषकहरुलाई प्रोत्साहन गर्न कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ । यस कार्यक्रमको सहआयोजकमा देउराली बहुउद्देश्यीय सहकारी संस्था रहेको जनाइएको छ ।

महोत्सब अन्तरगत महाशिवरात्रीको दिनमा विशेष कार्यक्रम हुने प्रचार प्रसार उपसमिकिा संयोजक रामचन्द्र सोतीले बताउनुभयो । शिवरात्रीको दिनमा ईशानेश्वर महादेवको दर्शन, पुजा आरधना, गाईको दुध र बेलपत्र अर्पण, सामुहिक ब्रतबन्ध, साँझमा लक्ष्यवत्ती प्रज्वलन, ठाडा बत्ती तथा पुरुष बत्ती बाल्ने र राती शिव धुनी बालेर भजनकृतमा रमाउने कार्यक्रम रहेको सोतीको भनाई छ ।

यस्तै अहिलेसम्म इशानेश्वर महादेव मन्दिरमा गई ठाडाबत्ती बाली सन्तान प्राप्त गर्ने भक्तजनहरुलाई महोत्सबको अवसरमा विश्व विख्यात कथा बाचक इश्वर कृष्ण महाराजजी बाट अभिषेश सेचन तथा आर्शिवाद प्रदान गर्ने कार्यक्रम रहेको मुल आयोजक समितिका संयोजक रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिनुभयो ।

महोत्सबको मुख्य प्रवद्र्धकमा मध्यनेपाल नगरपालिका रहेको छ भने अफिसियल मिडियामा फेवा टेलिभिजन रहेको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top