पोखरामा भेटियो नक्कली नोट

पोखरा । पोखरामा नक्कली नोट भेटिएको छ । एउटै नम्बरका नोट दैनिक रुपमा देखिन थालेको बैंकहरुले बताएका छन् ।

लुम्बिनी विकास बैंकको पोखरा न्युरोड शाखामा एक हप्ताभित्रै पाँचवटा नक्कली नोट आएका छन् । ‘नक्कली नोटको कारोबार पछिल्लो समय अलि बढेको देखिन्छ,’ शाखाकी अप्रेसन इन्चार्ज सफिना जोशीले भनिन्, ‘अहिले आएर दैनिक आउन थालेको छ ।’

उनले पछिल्लो हप्तामा मात्रै २ वटा एक हजारको नोट एउटै नम्बरको आएको बताइन् ।

नक्कली नोट दैनिक जसो आउने भएपनि एकै पटक ठूलो मात्रामा भने नआएको जोशीको भनाइ छ । ‘एकैचोटी ठूलो मात्रामा नक्कली नोट भने हामी कहाँ आएका छैनन् । तर, दिनहुँ आइरहन्छन्,’ उनले भनिन् ।

सेवाग्राहीले ल्याएको नोट ‘फेक नोट डिटेक्टर’मा परीक्षण गर्दा नक्कली नोट भेटिएको उनले प्रष्टयाइन् । नक्कली नोटमा प्राय एउटै नम्बर हुने गरेको एनआरबी संकेत पनि नहुने उनले जानकारी दिइन् ।

पछिल्लो समय पोखरामा नक्कली नोट देखिन थालेकाले कार्यालयका सम्पूर्ण कर्मचारीलाई सजग रहन आग्रह गरिसकेको बैंकले जानकारी दिएको छ ।

पोखरामा पछिल्लो साउन यतामात्रै २ सय वटा नक्कली नोट भेटिएको नेपाल राष्ट्र बैंक पोखराले जनाएको छ । ‘एकैचोटी ठूलो गिरोह फेला परेको छैन तर फाटफुट फेला परिरहेका छन्,’ राष्ट्र बैंक पोखराका निर्देशक पोमनाथ गौतमले भने ।

उनले नक्कली नोटको गिरोह पत्ता लगाउन बैंकदेखि सहकारीसम्म सूचना जारी गरिसकेको जानकारी दिए । नक्कली नोटको कारोबारी पत्ता लगाउन प्रहरीसँग समन्वय गरेर कारबाही गरिने उनको भनाइ थियो ।

उनले नक्कली नोट रोक्न प्रहरीमा पनि उजुरी दिइसकेको जानकारी दिए । एउटा नोट मात्रै आउँदा उक्त व्यक्ति नै अपराधी प्रमाणित हुन नसकिने भएकाले जाली नोटको प्रेस समात्न नै गाह्रो रहेको बताए ।

नक्कली नोट सक्कली नोेटको तुलनामा हल्का हुने र कागजमा पानी राख्दा फुल्ने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top