भेनेजुएलाबारे प्रचण्डको विज्ञप्तिः अमेरिकाले माग्यो सरकारको धारणा

गुप्तचर मुख्यालयलाई जोखिममा पार्दै सिंहदरबार गेटमा ११ तले होटल

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले अलग–अलग विषयहरुलाई आफ्नो प्राथमिकतामा राखेका छन् । खासगरी विभिन्न क्षेत्रमा देखिएका बेथिति आजका पत्रपत्रिकाहरुको पहिलो रोजाइमा परेको छ ।

अन्नपूर्णले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेक्कापट्टाबारे गरेको अनुसन्धान रिपोर्टमा टेकेर मुख्य समाचार लेखेको छ । रिपोर्टअनुसार पप्पु कन्स्ट्रक्सनजस्तै ठेक्का लिएर अलपत्र छाड्नेको संख्या अधिक छ । १ खर्ब १८ अर्ब रुपैयाँ बराबरका १ हजार ८ सय ४८ योजना लथालिंग बनेका छन् । १ हजार ३२ ठेक्काको त म्याद थपसम्म नगरी बीचमै छाडिएको छ । बाँकी ४४ प्रतिशतको पटकपटक म्याद थप्दै अलमल्याउँदै राखिएको समाचारमा उल्लेख छ ।

समाचार अनुसार, सबैभन्दा बढी सडक विभागमा ६८.७६ प्रतिशत ठेक्काको म्याद नथपिएको र पूरा पनि नभएको पाइएको छ । दोस्रो लठिभद्र निकायमा खानेपानी तथा ढल निकास विभाग छ, जसमा ५९ प्रतिशत ठेक्का अलपत्र छन् ।

ठेक्कामा देखिएको अनियमिततासँगै मल खरिदमा देखिएको बेथितिमाथि पनि अन्नपूर्णले चासो राखेको छ । समाचार अनुसार कृषि सामग्री कम्पनीले मोटो कमिसनका लागि प्रतिस्पर्धाबिनै सरकारद्वारा सरकारसँग (जीटूजी) सुविधामा मल खरिद गर्न लागेको छ । रसायनिक मलको चरम कृत्रिम अभाव सिर्जना गरी जीटूजीबाट ३० हजार मेट्रिक टन मल ल्याउन लागिएको हो ।

नयाँ पत्रिकाले लहडका भरमा भइरहेको खुला दिसामुक्त क्षेत्र घोषणाबारे चिरफार गरेको छ । सिरहामा छानो र बारबिनै बलेँसीमा प्यान गाडिएको भेटिएको छ भने खुला दिसामुक्त क्षेत्र तेह्रथुममा शौच गर्न शिक्षक नै जंगल जाने गरेको रिपोर्टमा उल्लेख छ । प्रभावहीन खुला दिसामुक्त क्षेत्र घोषणाका नाममा तामझाम भने चर्को हुने गरेको समाचारको सार छ । दार्चुलामा १२ करोड खर्च भएको छ । सिरहालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आयोजित सभामा मात्र ५० लाख खर्च भएको छ ।

सिंहदरबार गेटमै ११ तले होटल खुल्न लागेको र त्यसले गुप्तचर मुख्यालयलाई नै जोखिममा पारेको अर्को खबर पनि नयाँ पत्रिकामा छ ।

नयाँ पत्रिका लैख्छ– होटलबाट छेउमा रहेको राष्ट्रिय अनुसन्धान विभागको सम्पूर्ण कार्यालय निगरानी गर्न सकिन्छ भने सिंहदरबार नै सुरक्षा जोखिममा परेको छ ।

होटल निर्माण सुरु भएलगत्तै राष्ट्रिय अनुसन्धान विभागले तत्काल रोक्नुपर्ने भन्दै गृह मन्त्रालयमार्फत् सरकारलाई प्रस्ताव गरेको थियो । सिंहदरबारका अन्य निकायले पनि यसले असुरक्षा निम्त्याउने आवाज उठाएपछि केही समय निर्माण रोकियो । तर निर्माणकर्ता विशाल पण्डितले लबिङ गरेर निरन्तरता दिएका थिए । अहिले होटल सञ्चालनको तयारी भइरहेको छ ।

कान्तिपुरले ‘पहिल्यै क्षमताभन्दा बढी सम्बन्धन’ शीर्षक दिएर मेडिकल कलेजले थप सम्बन्धन धान्न नसक्ने लेखेको छ । भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिकाले सरकारको धारणा मागेको समाचार पनि कान्तिपुरले लेखेको छ । प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै केही दिनअघि विज्ञप्ति जारी गरेका थिए ।

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई नोटिसमा लिएको भन्दै अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्त पार्न आग्रह गरेको समाचारमा उल्लेख छ ।

राजधानीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार र विकास निर्माणसँग सम्बन्धित देशभरका १७ सयभन्दा बढी विकास आयोजनालाई सूक्ष्म निगरानीमा राखेकोलाई मुख्य समाचार बनाएको छ । आठ हजार चिकित्सक रिले अनसनमा बस्न लागेको, ७७ वटै जिल्लामा कांग्रेसले प्रदर्शन गर्ने भएको लगायत खबरलाई पनि राजधानीले प्राथमिकताका साथ छापेको छ ।

नागरिकको पहिलो पृष्ठमा सैनिक स्मारक भत्काएर व्यापारिक कम्प्लेक्स बनाउन लागिएकोदेखि पासपोर्टमा सरकारले अंकुश लगाउन लागेकोसम्मका खबर छन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top