पोखरा, ४ माघ । पोखराको सभागृह अगाडीबाट हेर्दा लाग्छ, पाल्पाको पाल्पा दरबार जस्तै लाग्छ । पाल्पाली समाज पोखराले शनिबार आयोजना गर्न लागेको पाल्पाली सांगितिक साँझको लागि दरबारको झल्को दिने गरि गेट बनाईएको छ ।
पाल्पा समाज पोखरा स्थापनाको २५ वर्ष पुगेको अवसरमा समाजले आयोजना गरेको पाल्ला सांगितिक साँझ तथा सम्मान कार्यक्रमको तयारी पुरा भएको छ ।
कार्यक्रममा पाल्पाको ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकीयस्थलको श्रव्यदृश्य सामग्रीमार्फत झलक प्रदर्शन गरिनुका साथै पाल्पाको मौलिक संस्कृतिको रुपमा रहेका वालन, कौरा, सोरठी (मारुनी) नृत्य प्रदर्शन गरिने कार्यक्रम संयोजक अनन्त अधिकारीले जानकारी दिए । ‘पाल्पाली करुवा, ढाका तथा पाल्पाको पहिचान चुकाउनी, बटुक, हाँसको छोयला लगायत खानाका परिकारका स्टल समेत राखिनेछ,’ उनले भने ।
कार्यक्रममा पाल्पाली कला संस्कृतिको संरक्षण र प्रवद्र्धनमा योगदान पु¥याएकोमा नेपाल सरकार मन्त्रिपरिषद् पूर्व अध्यक्ष तथा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीलाई अभिनन्दन गरिनुका साथै पूर्व प्रहरी महानिरीक्षक कुवेरसिंह राना, महानायक राजेश हमाल, वरिष्ठ कलाकार नारायण रायमाझी, दुर्गा रायमाझी, बद्री पंगेनी, इन्द्र जिसीलाई सम्मान गरिने बताइएको छ । सम्मानित कलाकारहरुसहित पाल्पाली कलाकार नवीन पौडेल, जमुना राना, शान्ति डोटेल, दुर्गाराज पाण्डेको सांगीतिक प्रस्तुति रहनेछ ।
सांगीतिक साँझको अलावा सोही दिन साँझ पाल्पाको पर्यटन प्रर्वद्धनको लागि पाल्पाका २ नगरपालिका र ८ गाउँपालिकाका प्रमुख लगायतका जनप्रतिनिधिसँंग बृहत् छलफल कार्यक्रमसमेत छ ।
पोखरा सभागृह हलमा माघ ५ गते शनिबार बिहान ११ बजेबाट कार्यक्रम सुरु हुनेछ ।
फोटो : पत्रकार बिजय नेपालको फेसबुकबाट