पढाउन छोडेर व्यावसायिक कृषि, एक करोड लगानी पुर्याउने लक्ष्य

करापुटार, २७ पुस । लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारका दिव्यचन्द्र सोतीको हातमा स्नातकोत्तर पासको प्रमाणपत्र छ । उनले अंग्रेजी विषयमा स्नातकोत्तरसम्मको पढाइ पूरा गरेका छन् । १० वर्ष शिक्षण पेसा गरेको अनुभव पनि छ । उनले स्थानीय पश्चिम भूमि आवासीय माविमा पाँच वर्ष प्रधानाध्यापकका रूपमा काम गरेका थिए भने जनमन्दिर माविमा पनि पाँच वर्ष पढाए ।

स्नातकोत्तर उत्तीर्ण र १० वर्ष अध्यापनपछि उनी अहिले भने गाईभैँसीको गोठ स्याहार्दै छन् । उनी व्यावसायिक रूपमै गाईभैँसीपालनमा होमिएका छन् । देशमै बसी आफ्नै केही उद्यम गर्नुपर्छ भन्ने सोचले व्यावसायिक कृषि कर्ममा लागेको उनी बताउँछन् । उनले ०७२ सालबाट गाईभैँसीपालन सुरु गरेका हुन् ।

दैनिक ६५ लिटर दूध उत्पादन
दिव्यचन्द्रको फार्ममा अहिले १२ वटा उन्नत जातका गाई छन् । फर्ममा होलेस्टेन र जर्सी जातका गाई छन् । त्यसमध्ये ८ वटा गाईले नियमित दूध दिन्छन् । फर्ममै स्थानीय जातका ४ वटा दुहुना भैँसी पनि छन् । फर्मबाट गाईभैँसीको गरी दैनिक ६५ लिटर दूध उत्पादन हुने दिव्यचन्द्रले बताए । उत्पादित दूध स्थानीय रामबजारमै खपत हुन्छ । उनले गाईको दूध प्रतिलिटर ८० रुपैयाँमा बिक्री गर्ने गरको े बताए । भैँसीको दूध प्रतिलिटर १ सय १० रुपैयाँमा बिक्री गर्छन्।

नयाँपत्रिकामा प्रकाशित समाचार

कुनै वेला दूध बिक्री नहुँदाको समयमा उनले दूध संकलन गरी ‘क्रिम’ बनाउँछन्। ‘क्रिम’ प्रतिलिटर ११ सय रुपैयाँमा बिक्री हुन्छ । ‘कुनै वेला दूध बिकेन भने ‘क्रिम’ बनाउँछौँ । एक लिटर ‘क्रिम’ बन्न झन्डै १५ लिटर दूध आवश्यक पर्छ,’ उनले भने । दूध र तरकारी बिक्रीबाट वार्षिक २ लाख बढी आम्दानी हुँदै आएको उनले बताए ।

तरकारी खेतीसँगै माछापालन
दिव्यचन्द्रले चारजना स्थानीयलाई पूर्ण रोजगारी पनि दिएका छन् । गाईभैँसीपालनमा मात्रै उनी सीमित छैनन् । उनले तरकारी खेती र माछापालनसमेत सुरु गरेका छन् । उनले नजिकै ७० रोपनी जग्गा भाडामा लिई सो जग्गामा गाईभैँसी, माछापालन र तरकारी खेती विस्तार गर्ने उनको योजना रहेको बताए । उनले १० लाखको लगानीमा यसै वर्षबाट माछापालन व्यावसायसमेत सुरु गरेका छन् ।

५ रोपनी जग्गामा ५ वटा माछा पोखरी बनाइएको छ । ४ वटा पोखरीमा माछाका भुरा हुर्कँदै छन्। उनको माछापोखरीमा बिग हेड, नैनी, रहु जातका माछा रहेका छन् । उनले उत्पादित माछा प्रतिकेजी ५ सय रुपैयाँमा बिक्री गर्दै आएका छन् ।

एक करोड लगानीको लक्ष्य
कृषि व्यवसायमा हालसम्म उनले ६० लाखभन्दा बढी लगानी गरिसकेको बताए । ‘आफ्नो योजनाअनुसार कृषि व्यवसाय विस्तार गर्दा करिब १ करोड ५ लाख खर्च हुने अनुमान छ,’ २८ वर्षे दिव्यचन्द्रले उज्यालो मुहार बनाउँदै भने, ‘वार्षिक १५ लाख आम्दानी हुने तवरले कृषिमा लगानी गरी व्यवसाय व्यवस्थित रूपमा विस्तार गर्ने लक्ष्य लिएको छु ।’ पढे–लेखेको भर्खरको ठिटो देशमै बसी कृषिमा रमेको देख्दा स्थानीयले दिव्यको उद्यमको खुलेर प्रशंसा गर्छन् ।

#नयाँपत्रिकाबाट साभार

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top