मध्येनेपाल इशानेश्वर धार्मिक एवं सांस्कृतिक महोत्सब सफल पार्न ३९ उपसमिति गठन

करापुटार, २७ पुस । लमजुङको मध्येनेपाल नगरपालिका स्थित करापुटारमा रहेको ईशानेश्व महादेव मन्दिर परिसरमा आयोजना हुने धार्मिक एवं सांस्कृतिक महोत्सब सफल पार्न मुल आयोजक समिति र विभिन्न उपसमिति गठन गरिएको छ ।

ईशानेश्वर महादेव क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेको संयोजकत्वमा ३ सय ५५ सदस्यीय मुल आयोजक समिति र विभिन्न ३९ उपसमितिहरु गठन गरिएको प्रचारप्रसार समितिका संयोजक रामचन्द्र सोतीले जानकारी दिनुभयो ।

आगामी फागुन १६ गते देखि २२ गते सम्म हुने महोत्सबमा आयोजना हुने महायज्ञमा ईश्वर कृष्ण महाराज प्रमुख बाचकको रुपमा रहनुहुने भएको छ । उहाँलाई एक कार्यक्रमका बिच करापुटारमा स्वागत सहित प्रमुख बाचकको रुपमा निमन्त्रणा पनि गरिएको संयोजक रामचन्द्र घिमिरे शास्त्रीले जानकारी दिनुभयो । कार्यक्रममा हिन्दु र बौद्ध धर्मका गुरुहरुद्धारा धार्मिक प्रवचन हुने जनाईएको छ ।

मध्येनेपाललाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सबको आयोजना गरेको मध्येनेपाल नगरपालिकाका प्रवक्ता गगन घिमिरेले जानकारी दिनुभयो । सन्तानेश्वर महादेवको रुपमा परिचित ईशानेश्वर महादेवलाई पश्चिम नेपालको पाशुपत क्षेत्रको रुपमा लिइने गरिन्छ ।

महाशिवरात्रीमा परम्परा देखि हुदै आएको मेलालाई व्यवस्थित र राष्ट्रिय एवं अन्तराष्ट्रिय रुपमा प्रचारप्रसार गर्न महोत्सबको आयोजना गरिएको मध्येनेपाल नगरपालिका ७ का अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।

महोत्सबमा राष्ट्रिय कलाकारको प्रस्तुती, परम्परागत बालुन नृत्य, ठाडोभाका प्रस्तुती लगायतका सांस्कृतिक कार्यक्रम हुनेछन् भने भलिवल प्रतियोगिता र छेलो हान्ने प्रतियोगिता हुने छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top