प्रिन्स दोहोरो सफलताका साथ अन्तिम चारमा

२६ पौष । दुवई अन्तराष्ट्रिय जुनियर ब्याडमिन्टन च्याम्पियनका विजेता प्रिन्स दाहाल राष्ट्रपति कप जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा दोहोरो जित निकाल्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन् । दाहालले म्यानमारका थु रिनलाई यु–१९ विधामा २१ / ११, २१ / १५ को सहज जित निकाल्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यस्तै यु –१५ का नेपाल नम्बर एक र्याङ्किङ्गका खेलाडी उनले नेपालकै रोहित बराललाई २१ / ६, २१ / ११ ले पाखा लगाउंदै सेमिमा स्थान पक्का गरेका हुन् ।

मोरङ्ग जिल्ला ब्याडमिन्टन संघको आयोजनामा सहिद रङ्गशालास्थित कभर्डहलमा भएको प्रतियोगिताको यु –१९ तर्फ नेपाल नम्बर एक खेलाडी प्रफुल महर्जनले आफ्नै देशका सत्यम सुब्बालाई २१ / ४, २१ / १० ले हराउंदै नेपालकै पविन लिन्थेप संग सेमिमा प्रतिस्पर्धा गर्ने भएका छन् । पविनले प्रनिश सिंह ठकुरीलाई निर्णायक खेलमा २१ / १२, १६ / २१, २१ / १६ ले पाखा लगाउंदै सेमिमा प्रवेश गरेका हुन् । यस्तै रुकेश महर्जनले सहरोज अन्सारीलाई २१ / १४, १५ / २१, २१ / १७ ले पराजित गरे । महर्जनले अव सेमिफाईनलमा प्रिन्स संग प्रतिस्पर्धा गर्ने भएका छन् ।

यु –१५ ब्वाईज तर्फ प्रिन्सका साथै हिमाल चन्द, रोशन साउद र म्यानमारका ज लिन थु पनि अन्तिम चारमा पुगे । हिमालले बिवेक चौधरीलाई २१ / १६, २१ / १९, रोशन साउदले उज्जल श्रेष्ठलाई १३ / २१, २१ / १२ र २१ / १३ ले तथा ज लिनले नेपालका अनिष खतिवडालाई २१ / १६, २१ / ११ ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाएका हुन् ।

गल्र्स यु –१९ तर्फको खेलमा जेशिका गुरुङ्ग, सिमा राजबंशी, रञ्जना भट्ट, र रशिला महर्जनले अन्तिम चारको यात्रा तय गरे । जेशिकाले निता लम्साललाई २१ / १०, २१ / ६, सिमाले बिश्ना बिष्टको रिटायर्ड हर्टका आधारमा, रञ्जनाले रोज पाण्डेलाई २१ / १२, २१ / १२ ले तथा रशिलाले अञ्जना राईलाई २१ / २, २१ / ६ ले पराजित गर्दै सेमिमा स्थान बनाएका हुन् । बिश्ना खेलका दौरान घुंडामा चोट आएका कारण खेलबाट बाहिरिएकी थिईन् ।

ब्वाईज यु–१९ युगल तर्फको खेलमा प्रफुल महर्जन र रुकेश महर्जनको जोडीले सफल थापा र सरोज गुप्ताको जोडीलाई २१ / १०, २१ / १० को समान अन्तरले पराजित गरे । अव महर्जन जोडीले पेम्बा शेर्पा र प्रियान्सु क्षेत्रीको जोडी संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छन् । शेर्पाको जोडीले देवराज राना र रोशन साउदको जोडीलाई २१ / ११, २१ / १२ ले पाखा लगाए । यस्तै अर्को सेमिफाईनलमा पविन लिनथेप र दिवश बिश्वकर्माको जोडीले म्यानमारका ज लिन थु र थु रिनको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । लिनथेपको जोडीले शिब थापा र सहरोज अन्सारीको जोडीलाई २१ / १२, २१ / १७ तथा थुको जोडीले रोहित बराल र उज्जल श्रेष्ठको जोडीलाई २१ / ५, २१ / १५ ले पाखा लगाएका हुन् ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top