हेमजा संचार सहकारीमा तिमिल्सीना

हेमजा । पोखरा–२५, हेमजा स्थित हेमजा संचार सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न छैठौं साधरणसभा तथा तेस्रो चुनावी सभाले मीनराज तिमिल्सीनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा अर्जुन पौडेल, सचिवमा नारायणप्रसाद बास्तोला, सहसचिवमा वसन्त बास्तोला, कोषाध्यक्षमा विष्णु बास्तोला तथा सदस्यहरुमा कृष्णप्रसाद पौडेल, प्रकाशचन्द्र सापकोटा, श्रीभद्र पौडेल, सोमनाथ पौडेल र आरती अधिकारी रहेका छन ।सभाले भरतराज अधिकारीको संयोजकत्वमा लेखा समिति पनि गठन गरेको छ ।जसका सदस्यहरुमा बोधराज सापकोटा र नवराज त्रिपाठी छनोट भए ।

कार्यक्रमको उद्घाटन गर्दै वडाध्यक्ष शोभाकर तिम्सिनाले वर्तमान समय संचारको युग भएको बताउँदै समाज रुपान्तरणमा संचार माध्ययमको भुमिका अहम हुने औँल्याए ।वडाअध्यक्ष तिम्सिनाले रेडियो हेमजा हेमजाकै प्रतिष्ठाको विषय भएको जनाउँदै रेडियो संचालनमा गम्भिर बन्न सरोकारवालालाई आग्रह पनि गरे । अध्यक्ष तिम्सिनाले डेढ दुई वर्षको अन्तरालमा जग्गा व्यवस्थापन गरि रेडियोको स्तरउन्नती गर्न वडाले पहल गर्ने प्रतिबद्घता पनि जनाएका छन ।

रेडियोका सल्लाहकार कृष्णप्रसाद पौडेलले साविक क्षेत्र नं. ४ कास्कीको प्रतिष्ठासँग रेडियो हेमजाको इतिहास जोडिएको भन्दै आर्थिक रुपमा पनि रेडियोलाई सबल बनाउन सबै सरोकारवाला लाग्नुपर्ने बताए ।कार्यक्रममा बीच कार्यवहाक सचिव नारायण बास्तोलाद्वारा प्रस्तुत सचिवको प्रतिवेदन, कोषाध्यक्ष मीनराज तिमिल्सीनाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन तथा लेखा संयोजक भुवनेश्वर पौडेलद्वारा प्रस्तुत लेखा समितिको प्रतिवेदन केही छलफल गरी अनुमोदन भएको थियो ।

सो अवसरमा सहकारीका अध्यक्ष अरुणस्त्तोम त्रिपाठी, उपाध्यक्ष अर्जुन पौडेल,शेयर सदस्य रुद्रनाथ पौडेल लगायतले पनि भनाई राखेका थिए । कार्यक्रमका बीच सहकारीका शुभचिन्तक महाकाव्यकार जर्नादनशरण त्रिपाठीलाई सम्मान गरिएको थियो ।सहकारीका पुर्व सचिव केशवशरण पौडेल संयोजक तथा भुवनेश्वर शर्मा र ईश्वरी बास्तोला सदस्य रहेको निर्वाचन मण्डलले सर्वसम्मत रुपमा समिति चयन गरेको हो ।

सहकारीका अध्यक्ष त्रिपाठीको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा उपाध्यक्ष अर्जुन पौडेलले स्वागत, सदस्य श्रीभद्र पौडेलले सहकारीका सात सिद्घान्त वाचन तथा कार्यक्रमको संचालन कार्यवहाक सचिव बास्तोलाले गरेका थिए ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top