” फर्केर घर जाँदा ” (कविता )

स्याङ्गजा, १३ पौष

टेकेँ पाइला जब हवाई अड्डा ,स्वर्गको टुक्रा सरी ।
आयो याद रमाइलो प्रकृतिको ,यो मेरो मुटु भरी ।
यात्रा बढ्यो नौबिसे धार्के मलेखु ,मुग्लिङ तिर हुदै,
सोध्यो सुसाउदै त्रिशूली थिइस् तँ,कहाँ भनेर रुदै,

दु:खी रहेछन् । ती पाखा र पखेरा,बाबा र आमा सरी,
दिएँ उत्तर नरोउन प्रकृति ,भन्दै आसु यी झारी,
हो हाम्रो बाध्यता होइन रहर,भनी बुझेर पनि,
फेरि सोध्यो मर्स्याङ्दिले अब घर,बस्ने कति हो भनी ,

यात्रा बढ्यो डुम्रे दमौली खैरेनी,सडक सर्प सरी
रोक्यो फेरि त्यो बिजयपुर खोलाले,मलिन मुख गरि
तिम्रो खाँचो हुदा पनि यो देशमा,तर्केर तिमी गयौ ।
बाटो तिम्रो हेरी बसेँ हर दिन,किन निष्ठुरी भयौ ।

फिस्स हाँस्दै सोध्यो त्यो माछापुच्छ्रेले,कहाँ हो तिम्रो घर,
थियौ साउदी कि दुबई कतार ,यो भूमि भन्दा पर,
चिनिन भन्यो नि सराङकोटले,फेवामा ऐना हेरी,
विश्व शान्ति स्तुपले सोध्यो खबर,के भन्ने होला फेरि,

बढ्दै गएँ म निरन्तर पोखरा ,बाट अगाडि भई,
भन्यो मलाई त्यो फुस्रेखोलाले,सन्चै आयौ त भाइ,
झरेँ जब त्यो फेदिखोलामा पुगी,झ्याम्मै अँगालो हाली ।
सोध्यो बल्ल फर्क्यौ त निष्ठुरी तिमी ,बिदेशी मोह फाली ।

दु:खी यति रहेछन् प्रकृति पनि,बिदेशमा म गई,
थिए परिवार त कसरी भनौ,म बिना खुशी भई,
भन्छ मन स्वदेशमा जे मिल्छ त्यही ,सत्कर्म मैले खोजौ ।
दु:खी बनाई सबलाई कसरी ,बिदेश मैले रोजौ ।

फेदिखोला २ नाइटे स्याङ्जा
हाल सात समुन्द्र पारि बाट

२०७५/९/१३

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top