बच्चाको लागि साथी बन्ने कि अभिभावक ?

साँझ बच्चा विद्यालयबाट र्फकन्छन् । र्फकनसाथ गह्रौं झोला फुत्त सोफामा फ्याकेर खेल्नेकुरा समाउन पुग्छ । बल खेल्न थाल्छ । भाँडाकुटी खेल्न थाल्छन् । पुतली खेल्न थाल्छन् । यस्तो अवस्थामा तपाईं के भन्नुहुन्छ ?

भन्नुहुन्छ, ‘ड्रेस खोल, अर्को लुगा लगाउनुपर्छ ।’

पढाई, होमवर्क, प्रश्नोत्तर आदिबाट एकक्षण विश्राम पाएर खेलिरहेका छोराछोरी अब लुगा बदल्न थाल्छ । लुगा बदल्नसाथ उनीहरु फेरी खेल्न दौडिन्छन् ।

तपाईं रोक्नुहुन्छ, ‘पहिले होमवर्क गर ।’

बालबालिका आफ्नो ब्यागबाट भएभरका पुस्तक, नोटबुक, कपी निकालेर होमवर्क गर्न थाल्छन् । शिक्षकले के पढाएका थिए, के-कस्ता असाइनमेन्ट दिएका थिए ? कुन च्याप्टरमा के पढिएको थियो ? यस्तै कुरामा उनीहरु घोत्लिन थाल्छन् । फटाफट होमवर्क गर्छन् ।

होमवर्क सकेपछि उनीहरु टेलिभिजनको रिमोर्ट खोज्न थाल्छन् । कार्टुन हेर्न खोज्छन् । कोही मोबाइलमा गेम खेल्न वा युट्युबमा भिडियो हेर्न खोज्छन् । तपाईं भन्नुहुन्छ, ‘पहिले हात-खुट्टा धोएर आऊ, खाजा खाइहाल ।’ बालबालिका अल्छी मान्दै हातखुट्टा पखाल्छन् । खाजा खान बस्छन् । खाजा खाइरहँदा साँझ छिप्पिसकेको हुन्छ । अब उनीहरु टिभी हेर्छन् । मोवाइल खेलाउँछन् ।

केही समयपछि खाना खाने बेला हुन्छ । सुत्ने बेला हुन्छ । बिहान आँखा नखुल्दै तपाईं कराउनुहुन्छ, ‘अब उठ, स्कुल जाने बेला भो ।’

न्यानो सिरकमा गुटमुटिएका बालबालिका तंगि्रन खोज्छन् । अल्छी लागेपनि उठ्नै पर्‍यो । उठ्छन् । हतार-हतार बाथरुम जान्छन् । मुख पखाल्छन् । तपाईंले तयार गरिदिएको पानी पिउँछन् । र, विद्यालयको युनिर्फम लगाउन थाल्छन् । पुस्तक र टिफिन मिलाउन थाल्छन् । खाना खान्छन् । विद्यालय जाने समय भइसक्छ । राम्ररी ‘बाईबाई’ भन्न नपाउँदै उनीहरु ढोका बाहिर पुगिसकेका हुन्छन् ।

यसरी घरबाट निस्किएका बालबालिका साँझ चार, पाँच, छ बजेपछि मात्र घर आइपुग्छन् । घर आइपुगेपछि फेरी उहि तालिका दोहोरिन्छ । होमवर्क, नास्ता, कार्टुन । अब आँखा चिम्लेर सोच्नुहोस् त, यहाँसम्म आइपुग्दा तपाईंको उपस्थिती उनीहरुको लागि कस्तो रह्यो होला ?

निश्चय पनि तपाईं एउटा अभिभावकको रुपमा देखिनुभयो । छोराछोरीको रेखदेख गर्नुभयो, निगरानी गर्नुभयो । ख्वाउने, सुताउने काम गर्नुभयो । यहाँसम्म तपाईंले कुनै कमी-कमजोरी गर्नुभएको छैन । ठिक समयमा उठाउने, ख्वाउने, होमवर्क गराउने सबै काम फत्ते गर्नुभयो ।

यी तमाम कुरा तपाईंका ‘काम’ भए । अझ ड्युटी । छोराछोरीका खातिर आमाबुवाले गर्नुपर्ने दायित्व भयो । तर, यत्तिमा मात्र तपाईंले आफ्नो भूमिकालाई खुम्चाउन मिल्छ ?

विगतका अवस्थामा भए यसको जवाफ अर्कै हुन्थ्यो । संयुक्त परिवार थियो । सबैजना एकै छानोमुनी हुन्थे । हजुरबादेखि नाती पुस्तासम्म घरभरी हुन्थे । एकअर्कासँग खेल्ने, रमाउने, गफ गर्ने सबै कुरा प्राकृतिक रुपमा नै हुन्थ्यो । दाजुभाई, दिदीबहिनीका छोराछोरी र आफ्ना छोराछोरी दौतरी हुन्थे । उनीहरु आपसमा मिलीजुली खेल्थे । रमाउथे ।

तर, अहिलेको अवस्था फरक छ । तपाईं कुनै शहर वा घरभन्दा बाहिर हुनुहुन्छ । घरमै भएपनि तपाईं संयुक्त परिवारमा हुनुहुन्न । संयुक्त परिवारमा भएपनि तपाईंको घरमा धेरै सदस्य छै्रनन् । त्यसमाथि तपाईंका बालबच्चा एक वा दुई जना मात्र छन् । धेरैजसोले त अहिले एक जना बच्चा हुर्काइरहेका छन् ।

यसरी एकल परिवारमा हुर्किरहेका बच्चाहरुलाई अहिले साथीको खाँचो छ । खेल्ने समयको खाँचो छ । त्यो अभाव टार्ने भनेको तपाईंले हो ।

त्यसैले बच्चाका लागि अभिभावक मात्र होइन, साथी पनि बन्नुहोस् । यदि तपाईं सधै अभिभावकको भूमिकामा रहनुभयो भने तपाईंका बच्चामा केही प्रवृत्तिगत एवं स्वभावजन्य समस्या देखापर्न थाल्छ । उनीहरु एक्लै बस्ने, एक्लै रमाउने, एक्लै खेल्ने कुरामा अभ्यस्त हुन बाध्य हुन्छन् । सानो उमेरमा त यो स्वभावप्रति तपाईंको कुनै ध्यान जादैन । तर, उनीहरु हुर्कदै जान्छन् र अनेक किसिमले समाजसँग जोडिदै जान्छन्, त्यसबेला तपाईंको बच्चा ‘कागको बथानमा बकुल्ला’ हुनपुग्छ ।

त्यसैले आज तपाईं बच्चाका लागि अभिभावक मात्र होइन, साथी बन्नुपर्छ । दौतरी बन्नुपर्छ । हितैषी बन्नुपर्छ । एकअर्कासँग खेल्दै, छिल्लिदै, प्रतिस्पर्धा गर्दै, नोकझोंक गर्दै बस्नुपर्छ ।

जब बच्चा विद्यालयबाट घर र्फकन्छन्, तपाईंले उसलाई कुनै कुरा आदेश दिने/अह्राउने होइन । बरु आफु पनि उसको काममा सहभागी हुनुपर्छ । खेल्छ भने तपाईं पनि खेल्नुपर्छ । बच्चाा मोवाइल वा घरभित्रको मात्र खेल खेल्छन् । तपाई पनि उनीसँग सहभागी भएर बाहिर खेल्न जानुपर्छ । टेलिभिजन हेर्दा तपाईं पनि साथमै हेर्नुपर्छ । टेलिभिजनमा बच्चालाई मनपर्ने कार्यक्रम मात्र होइन, तपाईलाई मनपर्ने कार्यक्रम पनि मिलिजुली हेर्नुपर्छ । खाजा खाएको बेला होस् वा होमवर्क गरेको बेला, तपाईंको उपस्थिती, सहयोग र हस्तक्षेप सबै कुरा आवश्यक हुन्छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top