एकिकृत घुम्ती शिविरबाट करिव ८ सयले सेवा लिए

समाचारपाटी, म्याग्दी, ८ पुस । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर १ कुहुँमा शनिबार एक दिने घुम्ती शिविर सम्पन्न भएको छ । मंगला गाउँपालिकाको समन्वय तथा जिल्ला प्रशासन कार्यालय म्याग्दीको आयोजनामा सम्पन शिविरबाट आठसय जना सर्वसाधारणले सेवा लिएका छन् ।

प्रभावकारी रुपमा संचालन भएको एकै दिन शिविरबाट दोहोरिएका समेत गरेर ७९८ जनाले गाउँमै नागरिकता, कृषि, पशु स्वास्थ्य, आयुर्वेद, स्वास्थ्य, जेष्ठ नागरिक, अपाङ्गता परिचयपत्र, घरेलु दर्ता, मतदाता परिचयपत्र दर्ता लगायतका सेवा उपलबध भएको गाउँपालिकाले जनाएको छ । जिल्ला प्रशासन कार्यालयको टोलीले ६० जनालाई नयाँ र चार जनालाई प्रतिलिपी नागरिकता प्रमाणपत्र वितरण गरेको छ । कृषि ज्ञान केन्द्रको टोलीले २१० जना कृषकहरुलाई तरकारीको विउ र परामर्श सेवा दिएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको टोलीले १६४ जनालाई स्वास्थ्य परिक्षण, परामर्श र निशुल्क औषधि वितरणको सेवा दिएको छ । जिल्ला अस्पताल म्याग्दीका चिकित्सक र गाउँपालिकाको स्वास्थ्य शाखाको टोलीले ७० जनालाई सेवा दिएका छन् । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले १ सय १० जनालाई जेष्ठ नागरिक परिचयपत्र वितरण गरेको छ । ११ जनालाई अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।

कार्यबिधि निर्माण गरी पहिलो पटक अपाङ्गता र परिचयपत्र वितरण गरिएको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले बताउनुभयो । भेटिरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मार्फत १३३ जना कृषकहरुको १३२८ पशुपंक्षीका लागि निशुल्क औषधि र परामर्श सेवा दिएको छ । जिल्ला निर्वाचन कार्यालयले २७ जनाको तस्विर सहितको मतदाता नामावली दर्ता गरेका छन । चार जनाको जनजाती सिफारिस गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समिति मार्फत पाँच वटा फर्म दर्ता भएको छ । पूर्णगाउँ, कुहुँ, भरजुला, तुसारेपानी, हिदी, सल्यान क्षेत्रका बासिन्दाले शिविरबाट सेवा लिएको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top