ईशानेश्वर महादेव मन्दिरको पुनर्निर्माण पुस मसान्तसम्म सकिने

करापुटार, २ पुस । पश्चिम नेपालको पशुपतिनाथ को रुपमा परिचित सन्तानेश्वर महादेव अर्थात इशानेश्वर महादेव मन्दिर पुस मसान्तसम्म पुनर्निर्माण हुने भएको छ ।

मन्दिरको सबै काम सकिएको र तामाको छाना मात्र राख्न बाँकी रहेको ईशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरे शास्त्रीले बताउनु भयो । मन्दिर २०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेको थियो । भूकम्पले क्षति पुगेको मन्दिर पुरातत्व विभागको आर्थिक सहयोगमा पुर्ननिर्माण भइरहेको छ । पुरातत्व विभागको १ करोड २० लाख ६८ हजार लागतमा मन्दिर बनाइएको घिमिरेले बताउनु भयो ।

२०७३ माघ ३० गतेबाट सुरु भएको पुनर्निर्माण २०७५ वैशाख ४ गते सम्पन्न भइसक्नुपर्ने भए पनि विविध कारणले ढिलाइ भएको हो । उनले मन्दिरमा अब तामाको छाना राख्ने काममात्रै बाँकी रहेकाले पुस मसान्तसम्म सबै काम सकिने जानकारी दिए । प्यागोडा शैलीमा पुनर्निर्माण गरिएको मन्दिरमा भक्तपुरे ईट्टा प्रयोग गरिएको छ भने छानोमा तामा प्रयोग गरिनेछ ।

लमजुङको मध्यनेपाल नगरपालिका ७ करापुटारमा रहेको  ईशानेश्वर महादेव मन्दिरमा यस वर्ष धार्मिक महोत्सबको पनि आयोजना गरिएको छ । 

मन्दिरमा शिवरात्रीको दिन हजारौं संख्यामा भक्तजनको घुइँचो लाग्ने गरेको छ । मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित विभिन्न संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ । मन्दिरको नाममा मन्दिर आसपास १४ रोपनी जग्गा छ । सोही जग्गामा १ सय ८ धारा निर्माण गर्ने लक्ष्य समेत राखिएको छ ।

मन्दिरवरपर घर बनाउन रोक

मध्यनेपाल नगरपालिकाले मन्दिर वरपरको १ सय मिटरभित्र घर निर्माणमा रोक लगाएको छ । नगर प्रमुख रमेशकुमार पाण्डेले मन्दिर वरपरको जग्गा अधिग्रहण गर्ने विषयमा छलफल भइरहेको जानकारी दिए । मन्दिरलाई जग्गा अभाव भइरहेको छ, जग्गा अधिग्रहण गर्ने विषयमा स्थानीयवासीसँग छलफल भइरहेको छ,’ उनले भने । करिब ६ सय वर्षअघि मन्दिरको निर्माण भएको स्थानीय वासिन्दा बताउँछन् ।

१४१४ मा तत्कालीन लमजुबका राजा वीरनारायण शाहद्वारा मन्दिर निर्माण गरी त्यस बेलादेखि आजसम्म पूजा अर्चना हुँदै आएको समितिका अध्यक्ष घिमिरे बताउँछन् । प्राचीन कालमा हरिनारायण पोखरेलद्वारा वीउ राख्न गोरु जोत्दा शिवलिंग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिंग उत्पत्ति भएको किंवदन्ती छ । किंवदन्ती अनुसार गोरखाका राजा कृष्ण शाहका सन्तान नभएपछि महाशिवरात्रीका दिन मन्दिरमा आई रातभर ठाडो बत्ती बाली सन्तान प्राप्त गरेकाले छोराको नाम रुद्र शाह राखेका थिए ।

त्यस बेलादेखि नै ईशानेश्वर महादेव मन्दिरमा सन्तानको चाहना राख्नेले ठाडो बत्ती बाल्ने गर्दछन्,’ अध्यक्ष घिमिरेले भने, ठाडो बत्ती बाल्नेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।’ महाशिवरात्री पर्वको अवसरमा मन्दिरमा पशुपतिनाथपछि धेरै दर्शनाथी यस मन्दिरमा आउने गरेको घिमिरेले बताए । मन्दिरमा झ्याल, ढोका र टुंडालमा कुँदिएका मूर्ती, चित्र र जडान गरिएका ईट्टा र ढुंगाको अध्ययन र विश्लेषणले मन्दिरको प्राचीनतालाई झल्काएको छ ।

करिब ५० फिट अग्लो र २० फिट चौडा मन्दिरको मध्यभागमा ईशानेश्वरको प्राकृतिक शिवलिंग छ भने वरिपरि शिवपञ्चायनको मूर्तिहरु छन् । मन्दिरको पूर्व दिशामा १ सय भिटर पूर्व पार्वताको मन्दिर र ५ सय मिटरमा गोमतीको किनारमा गणेशको मन्दिर छ ।

तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top