आविष्कार केन्द्रलाई १ लाख आर्थिक सहयोग

पोखरा, २ पौष । गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । विद्यालयले हरेक २ वर्षमा प्रदान गर्ने पश्चिमाञ्चल गौरव पुरस्कार केन्द्रका अभियन्ता महावीर पुनलाई प्रदान गरेको छ । आविष्कार केन्द्र स्थापनामा थोरै भए पनि योगदान दिनका लागि सहयोग गरेको विद्यालयले जनाएको छ ।


विज्ञान र प्रविधिमा विशेष योगदान दिएको भन्दै आविष्कार केन्द्रका अभियन्ता पुनलाई १ लाख २५ (२५ हजार पुस्कार राशी र १ लाख सहयोग) हजार रुपैयाँको संयुक्त चेक हस्तान्तरण गरिएको हो । विद्यालयको २७ औं वार्षिकोत्सवको अवसरमा शनिबार आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी सांसद मित्रकुमारी सुवेदी पश्चिमाञ्चल फाउन्डेसन अध्यक्ष गेहेन्द्रेश्वर कोइराला, पुरस्कार छनोट समितिका संयोजक प्राडा विश्वकल्याण पराजुली, प्राचार्य ताराबहादुर घिमिरे लगायतले पुरस्कार र सहयोग प्रदान गरेका थिए ।


पुनले राष्ट्रिय आविष्कार केन्द्र स्थापना गर्नका लागि व्यक्तिगत रुपमा जग्गा दिएर आर्थिक सहयोग
जुटाउन थालेका थिए । सूचना प्रविधिका अभियन्ता पुन म्यासेसे पुरस्कार विजेता पनि हुन् । दुर्गम
गाउँमा सूचना प्रविधि विस्तारमा उनले विषेश योगदान दिएका थिए ।


पुरस्कार छनोट समिति संयोजक प्रा डा विश्वकल्याण पराजुलीले पुनले सूचना प्राविधिका लागि विश्वकै लागि योगदान दिएको बताए । त्यही योगदान स्वरुप ३० जना व्यक्तिमध्येबाट पुन छनोटमा परेको उनले बताए । विद्यालयले २ वर्ष अघि पहिलोपटक यो पुरस्कार  विज्ञान क्षेत्रमा अनुसन्धान गरेको `भन्दै डा. कपील अधिकारीलाई प्रदान गरेको थियो । विज्ञान र प्रविधिको क्षेत्रमा योगदान दिने व्यक्तिलाई २ वर्षको फरकमा विद्यालयले यो पुरस्कार प्रदान गर्दै आएको छ ।


विद्यालयका प्राचार्य ताराबहादुर घिमिरेले पुनको योगदानको सबैले सिको गर्नुपर्ने बताए । ‘दुर्गम गाउँले पुनबाट धेरै लाभ पाएका छन् । यो सिकाई अरुका लागि पनि हुनुपर्छ,’ घिमिरेले भने ।  प्रदेशसभा सदस्य सुवेदीले पुनबाट राष्ट्रले नै पुनबाट लाभ लिनुपर्ने बताइन् । राज्यले पुन जस्ता व्यक्तिबाट धेरै कुरा सिक्नुपर्ने उनले बताइन् ।


पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष कोइरालाले पुनको सिको अरुले पनि गर्न सके राष्ट्रका लागि महत्वपूर्ण योगदान हुने बताए । विद्यालयले वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न
कार्यक्रमका उत्कृष्ट विद्यार्थीलाई सोही अवसरमा पुरस्कृत पनि गरेको थियो । विद्यालयले
वार्षिकोत्सवको अवसरमा शुक्रबार गरेको रक्तदानमा ६० जनाले रक्तदान गरेका थिए ।



तपाइँले पनि आफ्नो लेख रचना अनि समाचार पठाउन सक्नुहुन्छ : त्यसको लागि [email protected] मा हामीलाई इमेल गर्नुहोस। धन्यबाद ।

scroll to top